सुदूरपश्चिम एमाले संसदीय दलका नेता रावल पद जोगाउन सफल
धनगढी । सुदूरपश्चिम नेकपा एमाले संसदीय दलको नेता परिवर्तन गर्ने कसरत भए पनि अन्ततः राजेन्द्र सिंह रावल नै आफ्नो पद जोगाउन सफल भएका छन् ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक कलह तत्कालका रोकिएको छ ।
दलका नेता राजेन्द्र सिंह रावलको कार्यशैलीप्रति असन्तुष्ट सांसदहरू र पार्टी नेतृत्वबिच भएको छलफलपछि उक्त मनमुटाव टरेको बताइन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा भक्तपुरको गुण्डुस्थित निवासमा भएको छलफलपछि नेता रावल आफ्नो पद जोगाउन सफल भएका हुन् । छलफलमा रावलले विगतका कमजोरी स्वीकार गर्दै आत्माआलोचना गरेपछि उनलाई हटाउनुपर्ने मागबाट सांसदहरू पछि हटेका छन् ।
संसदीय दलका नेता रावलले बजेट विनियोजन, राजनीतिक नियुक्ति र सरकार सञ्चालनमा एकलौटी गरेको भन्दै उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल र सांसद दमन भण्डारी लगायतले नेतृत्व परिवर्तनको माग राख्दै आएका थिए । विवाद समाधानका लागि अध्यक्ष ओलीले २३ वैशाखमा सुदूरपश्चिमका सबै प्रदेशसभा सदस्य र प्रदेशका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै संवाद गरेका थिए ।
छलफलका क्रममा रावलले आफ्नो बोली र व्यवहारले कसैलाई चोट पुगेको भए क्षमा माग्दै आगामी दिनमा सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैसीका अनुसार, अध्यक्ष ओलीले कार्यशैली सुधार गर्न निर्देशन दिएपछि अहिले रावल नै दलको नेताका रूपमा कायम रहने निश्चित भएको हो ।
‘केन्द्रको निर्देशन र अध्यक्षको सम्झौतापछि अहिले विवाद साम्य भएको छ, सायद दलका नेताले अब आफ्नो शैलीमा सुधार गर्नेछन्,’ उनले भने ।
सुरुमा नेतृत्व परिवर्तनको एजेन्डा लिएर केन्द्र पुगेका असन्तुष्ट सांसदहरूले गुण्डुको बैठकमा भने आफ्नो प्राथमिकता बदलेका थिए । उनीहरूले आगामी बजेटअघि नै मन्त्रिपरिषद् पुनर्गठन गरेर आफूहरूलाई सरकारमा सहभागी गराउनुपर्ने माग अध्यक्ष ओलीसामु राखेका छन् ।
दलभित्र विवाद समाधानसँगै सुदूरपश्चिममा नयाँ राजनीतिक समीकरणको चर्चा समेत सुरु भएको छ । नेपाली कांग्रेसभित्रको फेरिएको समीकरण र विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि केन्द्रमा एमाले–कांग्रेस सहकार्य थप कसिलो बन्ने देखिएको छ ।
यसै सन्दर्भमा कांग्रेस र एमालेबिच प्रदेशहरूको नेतृत्व बाँडफाँटमा लेनदेन हुन सक्ने स्रोतको दाबी छ । कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिम एमालेलाई छाडेर कोशी प्रदेशको नेतृत्व लिन सक्ने सम्भावनाबारे शीर्ष तहमा छलफल भइरहेको बताइन्छ । यदि यो समीकरण तय भएमा प्रदेश सभाको पहिलो मुख्यमन्त्री बनेर विश्वासको मत नपाउँदा पदमुक्त भएका राजेन्द्र रावल पुनः मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।
प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले भने मुख्यमन्त्रीको चर्चाबारे आफूलाई आधिकारिक जानकारी नभएको र केन्द्रको निर्णय पर्खिरहेको बताए । ‘केन्द्रमा के कस्तो सहमति हुन्छ, त्यसैका आधारमा प्रदेशको भविष्य तय हुनेछ,’ उनले भने ।
मुख्यमन्त्ती परिवर्तनका विषय कांग्रेसले अहिले बजेट ल्याउने काममा रहेको सरकार सरकार परिवर्तन नहुने दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण