बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश

सुदूरपश्चिमका पहाडी विमानस्थलः करोडौँका संरचना तर हवाई सेवा छैन

बिहीबार, ३१ वैशाख २०८३, १५ : ००
बिहीबार, ३१ वैशाख २०८३

धनगढी । बैतडीको पाटन विमानस्थलमा विमान नदेखिएको धेरै समय भयो । ११ करोडको लागतमा कालोपत्रे गरिएको पाटन विमानस्थलको धावनमार्ग अचेल प्रयोगविहीन छ ।

विमान उडान र अवतरण गर्ने धावनमार्गमा अहिले स्थानीयका निजी गाडी गुड्छन् । कोही त्यहाँ ड्राइभिङ सिक्दै गरेका भेटिन्छन् । कोही फुटबल खेलिरहेका हुन्छन् भने कोही मोबाइल तेर्स्याएर टिकटक बनाउन व्यस्त देखिन्छन् ।

सुदूरपश्चिमका सात पहाडी जिल्लाका विमानस्थलको अवस्था अहिले यस्तै छ । सरकारले करोडौँ खर्चेर भव्य संरचना त ठड्यायो, तर विमान सेवा सञ्चालन नहुँदा बेकामे भएका छन् ।

२०३२ सालबाट निर्माण सुरु भएर २०३५ सालमा पहिलो पटक जहाज अवतरण गरेको बैतडीको पाटन विमानस्थलमा २०५२ सालसम्म कच्ची धावनमार्ग थियो, तर सेवा नियमित थियो ।

‘त्यतिबेला हप्ताको दुई पटक नियमित उडान हुन्थ्यो । धावनमार्ग कच्ची भए पनि जहाज आउँथे, मान्छेलाई सुविधा थियो,’ स्थानीय वियन विष्टले भने ।

२०५२ सालपछि यो विमानस्थलको ओरालो यात्रा सुरु भयो । सशस्त्र द्वन्द्वको क्रममा २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावर र कार्यालय भवन ध्वस्त बनाइदियो । त्यसपछि लामो समय यो विमानस्थल गौचरनमा परिणत भयो ।

जनप्रतिनिधि आएपछि स्थानीयको दबाब र केन्द्रको पहलमा २०७३ सालमा पाटन विमानस्थलको पुननिर्माण सुरु भयो । ११ करोड रुपैयाँ खर्चेर धावनमार्ग कालोपत्रे गरियो, टावर र कार्यालय बनाइयो । २०७७ असोजमा ठुलो तामझामका साथ निजी क्षेत्रको समिट एयरले उडान सुरु पनि गर्‍यो । करिब डेढ वर्षसम्म साताको एक पटक उडान भयो, तर २०७८ चैतदेखि फेरि यात्रु अभावको बहाना देखाउँदै उडान बन्द गरियो, जुन आजसम्म खुल्न सकेको छैन ।

अहिले ४ करोड ९७ लाखको लागतमा भव्य टर्मिनल भवन पनि तयार भएको छ, तर विमानस्थलमा कर्मचारी छैनन् । संरचना रहे पनि यो विमानस्थलले सेवा प्रवाह गर्न सकेको छैन ।

पाटन नगरपालिकाका मेयर गौरीसिंह रावल विमानस्थलको यो अवस्था देखेर चिन्तित छन् । ‘हामी निर्वाचित हुनुअघि नै विमानस्थल बन्द भइसकेको थियो । हामीले पटक–पटक पर्यटन मन्त्रालय र उड्डयन प्राधिकरणमा धाएका छौँ, तर जबाफ एउटै आउँछ– जहाज छैनन् ।’

1000104791

मेयर रावलका अनुसार निजी एयरलाइन्सहरू नाफामात्र हेर्छन् । ‘निजी कम्पनीले महँगो भाडा लिन्छन्, अनि यात्रु पुगेन भन्छन् । सरकारसँग आफ्नो जहाज छैन,’ उनले भने, ‘नगरपालिकाले मात्र चाहेर जहाज ल्याउन सक्ने अवस्था छैन । करोडौँको लगानी गरेर बनाएका संरचना अहिले टिकटक बनाउने र गाडी सिक्ने थलो भएका छन् । यो राज्यको सम्पत्तिको बर्बादी हो ।’

अछामको साँफेबगर र कमलबजार, डोटीको दिपायल, बाजुराको कोल्टी, बझाङको देवल र दार्चुलाको गोकुलेश्वर विमानस्थलको हालत पनि उस्तै छ । धनगढी विमानस्थलका सूचना अधिकारी धर्मसिंह रानाका अनुसार पहाडी जिल्लाहरूमा उडान नहुनुका पछाडि जहाजको अभाव र निजी कम्पनीहरूको व्यापारिक स्वार्थ प्रमुख कारण हुन् ।

‘धनगढीबाट पहाडी जिल्लामा उडान गर्ने हो भने सुदूरपश्चिमको यातायातमा ठुलो क्रान्ति आउँथ्यो, तर अहिले सबै उडान काठमाडौँ केन्द्रित छन् । निजी कम्पनीहरू दुर्गममा जहाज पठाउन रुचाउँदैनन्,’ उनले भने ।

पहाडका विमानस्थलमा राज्यले अर्बौँ रुपैयाँ खर्च गरिसकेको छ । विमानस्थलसम्म पुग्ने सडक, कालोपत्रे धावनमार्ग, भव्य भवन र टावर ठडिएका छन्, तर ती संरचनाको उपयोगिता शून्य छ ।

पहाडी जिल्लामा जहाज चल्दा सबैभन्दा ठुलो राहत बिरामी र सुत्केरी महिलालाई हुन्थ्यो । सडक मार्गबाट धनगढी वा नेपालगन्ज पुग्न १०–१२ घण्टा लाग्छ। जहाज नचल्दा धेरैले अकालमा ज्यान गुमाउनुपरेको बैतडीकी स्थानीय मधुली चन्दले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप