शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्री आचार्य र स्विस सहयोग प्रमुख मायरबीच भेटवार्ता

संघीयता सुदृढीकरण र प्राविधिक शिक्षामा जोड
बिहीबार, ३१ वैशाख २०८३, २१ : ४५
बिहीबार, ३१ वैशाख २०८३

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र स्विजरल्यान्ड सरकारका सहयोग प्रमुख माथियस मायरबीच शिष्टाचार भेटवार्ता भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेशलाई समृद्ध बनाउन प्राविधिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । उनले दक्ष जनशक्ति उत्पादन, नवप्रवर्तन तथा सीपमूलक शिक्षामार्फत प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई तीव्रता दिन सकिने उल्लेख गरे । 

मुख्यमन्त्री आचार्यले संघीयता सुदृढीकरणका लागि प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै प्रदेशहरूको भूमिका अझ बलियो बनाउने गरी अधिकार र समन्वय विस्तार गर्न आवश्यक रहेको धारणा राखे । उनले अन्तरप्रदेश समन्वय बढाउन लुम्बिनी प्रदेशले पहल गरिरहेको जानकारी दिँदै सातै प्रदेशका मुख्यमन्त्रीबीच गोलमेच सम्मेलन आयोजना गर्ने वातावरण निर्माण भइरहेको समेत बताए । 

स्विजरल्यान्ड सरकारका सहयोग प्रमुख मायरले नेपाल र स्विजरल्यान्डबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै संघीयता सुदृढीकरण, नवप्रवर्तन तथा प्राविधिक शिक्षाका क्षेत्रमा सहकार्य निरन्तर जारी रहेको बताए । 

भेटवार्तामा धनेन्द्र कार्की, प्रमुख सचिव कृष्णप्रसाद काप्री तथा प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्याल लगायतको सहभागिता रहेको थियो । 

भेटका क्रममा नेपाल र स्विजरल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्ध, नवप्रवर्तन, प्राविधिक शिक्षा तथा दक्ष जनशक्ति उत्पादनका विषयमा छलफल भएको समेत जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप