नेपालमा ह्वाट्सएप बिजनेस एपीआईबारे विशेष कार्यक्रम
सारांश
- टेलि डिजिटल सर्भिसेस प्रा.लि. ले काठमाडौँमा ह्वाट्सएप बिजनेस एपीआईसम्बन्धी विशेष कार्यक्रम 'द कनभरफरेन्स' आयोजना गर्यो।
- कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक अल्बर्ट थ्योङले नेपालको डिजिटल क्षेत्रमा व्यावसायिक म्यासेजिङको उत्साहजनक स्थितिको बारेमा बोले।
- यस कार्यक्रमले नेपाली व्यवसायहरूलाई ग्राहक सेवा, बिक्री र ग्राहक टिकाइराख्ने रणनीतिहरूमा ह्वाट्सएप बिजनेस एपीआईको प्रयोगबारे छलफल गर्यो।
काठमाडौँ । मेटा र गुगलको आधिकारिक साझेदार टेलि डिजिटल सर्भिसेस प्रा.लि. ले काठमाडौँमा ह्वाट्सएप बिजनेस एपीआईसम्बन्धी विशेष कार्यक्रम ‘द कनभरफरेन्स’ आयोजना गरेको छ ।
रमेश कर्प अन्तर्गतको कम्पनीले जेठ ७ गते आयोजना गरेको यस कार्यक्रममा नेपाली व्यवसायहरूका लागि संवादात्मक व्यापारको सम्भावना उजागर गर्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो ।
नेपालको डिजिटल क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको यस कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक अल्बर्ट थ्योङले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । उनले विश्वव्यापी व्यावसायिक म्यासेजिङ प्रवृत्तिबारे जानकारी दिँदै भने, ‘व्यवसायिक म्यासेजिङका लागि नेपाल अहिले उत्साहजनक मोडमा पुगेको छ, बजारहरूमा तीव्र गति देखिरहेका छौँ । ह्वाट्सएप बिजनेस प्लेटफर्म ठमेलको सानो पारिवारिक पसलदेखि राष्ट्रिय बैंकसम्म सबै प्रकारका व्यवसायका लागि तयार गरिएको हो । ग्राहकसँगको संवाद पहिले नै ह्वाट्सएपमा भइरहेको छ, अब प्रश्न केवल तपाईंको ब्रान्ड त्यसको हिस्सा हो कि होइन भन्ने मात्र हो ।’
कार्यक्रममा रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले नेपाली व्यवसायहरूले स्थानीय सहयोग र स्थानीय भुक्तानी सुविधासहित विश्वका शक्तिशाली डिजिटल प्लेटफर्महरूमा प्रत्यक्ष पहुँच पाउन सकून् भन्ने उद्देश्य रहेको बताए । त्यस्तै, टेलि डिजिटलका सीईओ नवांकुर सुदले मानिसहरू संवादमार्फत खरिद गर्न चाहने उल्लेख गर्दै ह्वाट्सएप बिजनेस एपीआईले नेपाली व्यवसायलाई ग्राहकहरू जहाँ छन्, त्यहीँ पुगेर व्यक्तिगत संवाद गर्न सक्षम बनाउने स्पष्ट पारे । विभिन्न कर्पोरेट क्षेत्रका नेतृत्वकर्ताहरू सहभागी कार्यक्रममा ह्वाट्सएप बिजनेस एपीआईमार्फत ग्राहक सेवा, बिक्री रूपान्तरण र ग्राहक टिकाइराख्ने रणनीतिबारे छलफल भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण