शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अलैँची, अदुवा र बेसारको निर्यात बढाउन सहकार्य हुने

शुक्रबार, ०८ जेठ २०८३, २१ : १८
शुक्रबार, ०८ जेठ २०८३

विराटनगर । कोशी प्रदेशमा उत्पादन हुने उच्च मूल्यका कृषि वस्तुहरू अलैँची, अदुवा र बेसारको मूल्य शृङ्खला विकास तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा सरोकारवालाहरूबिच अन्तरक्रिया भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश र विश्व बैंक ग्रुपअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी) को संयुक्त आयोजनामा शुक्रबार कार्यक्रम भएको हो ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले उच्च मूल्यका कृषि उपजको उत्पादन वृद्धि र निर्यातमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले यसका लागि ठोस योजना र खाकासहित अघि बढ्न नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशलाई आग्रह गर्दै, महासङ्घ र आईएफसी अघि बढेमा प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने बताए ।

कार्यक्रममा आईएफसीका साउथ एसिया रिजनका सिनियर अपरेसन अफिसर विजयशेकरले नेपालमा उत्पादित अलैँची, बेसार र अदुवा हाल भारततर्फ मात्र बढी निर्यात भइरहेको बताउँदै अब तेस्रो मुलुकतर्फको निर्यातमा जोड दिनुपर्ने बताए।

तेस्रो मुलुक निर्यात गर्दा आउने समस्या र गुणस्तर सुधारमा फोकस गरेर महासङ्घसँग मिलेर काम गर्ने योजना रहेको उनले जानकारी दिए ।

महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष राजन श्रेष्ठले हाल कोशीबाट चिया, अलैँची, अदुवा, अम्रिसो, छुर्पी, चिज, जडीबुटी लगायतका वस्तुहरू निर्यात भइरहेको उल्लेख गर्दै आगामी दिनमा आईएफसीएसँग सहकार्य गरेर अदुवा, अलैँची र बेसारको निर्यात प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै सरकारी अधिकारी तथा व्यवसायीहरूले कोशी प्रदेशमा कृषि वस्तुको गुणस्तर मापन गर्ने प्रयोगशाला नहुँदा समस्या भइरहेको औँल्याएका थिए। उद्योग, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख पशुपति पोखरेल, राष्ट्रिय कृषि आधुनिकीकरणका प्रमुख मनोज यादव र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पुष्पलाल राईले सुपर जोन तोकिएका वस्तुको समेत बजार अभाव रहेको भन्दै बजारको खोजीमा निजी क्षेत्रले पनि पहल गर्नुपर्ने बताए।

त्यसैगरी, व्यवसायीहरू निर्मल भट्टराई, राजन आचार्य र केशव घिमिरेले प्रदेशमा आधुनिक प्रयोगशालाको स्थापना, ड्रायरको व्यवस्था र बजारीकरणको समस्या समाधान गर्न माग गरे। उनीहरूले तेस्रो मुलुकमा निर्यात बढाउन सङ्घीय र प्रदेश सरकारले अनुकूल नीति नियम बनाउनुपर्नेमा जोड दिए ।

युवा उद्यमीहरू प्रितक राउत, युनेश श्रेष्ठ र अविनायक मल्लले महासङ्घको नेटवर्क प्रयोग गरी कृषक तथा व्यवसायीलाई तालिम दिएर वस्तुको गुणस्तर सुधार गर्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा आईएफसीका कन्सल्टेन्ट राजन शर्माले कोशी प्रदेशमा उत्पादन हुने अलैँची, अदुवा र बेसारको तथ्याङ्क प्रस्तुत गर्दै निर्यात बढाउन अपनाउनुपर्ने नीतिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा महासङ्घका पदाधिकारी, प्रदेश सरकारका विभिन्न महाशाखाका प्रमुख, तथा अलैँची, अदुवा, बेसार र कफी व्यवसायी एवं कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप