शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसको कार्यशाला : २८ बुँदे ‘कोशी संकल्प’ जारी

शनिबार, ०९ जेठ २०८३, १६ : ३९
शनिबार, ०९ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको दुई दिने प्रदेश तथा स्थानीय तह केन्द्रित परामर्श कार्यशाला २८ बुँदे कोशी संकल्प जारी गर्दै सम्पन्न भएको छ ।
  • कार्यशालामा कोशी प्रदेशका जनप्रतिनिधि, पार्टीका विभिन्न तहका पदाधिकारी र विज्ञहरूको सहभागिता थियो ।
  • २८ बुँदे संकल्पमा स्थानीय सरकारलाई उत्तरदायी बनाउने, घरदैलोमै सेवा प्रवाह गर्ने, वित्तीय अनुशासन कायम गर्ने, कोशी राजमार्ग स्तरोन्नति गर्ने, आध्यात्मिक पर्यटन पथ निर्माण गर्ने र एकीकृत सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने जस्ता विषय समेटिएका छन् ।

विराटनगर । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुनसरीको लौकहीमा सञ्चालित दुई दिने प्रदेश तथा स्थानीय तह केन्द्रित परामर्श कार्यशाला २८ बुँदे कोशी संकल्प जारी गर्दै सकिएको छ ।

‘ऊर्जा र विश्वासको नवीन अभियान’ भन्ने मूल नाराका साथ जेष्ठ ८ र ९ गते आयोजित कार्यशालामा नेपाली कांग्रेसका शीर्ष नेतृत्व, कोशी प्रदेशका जनप्रतिनिधि र पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता थियो।

कार्यक्रमलाई कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे, सह–महामन्त्री डा. डिला संग्रौला र प्रदेश सभापति उद्धव थापा लगायतले पार्टीको संगठन सुदृढीकरण एवं जनमुखी सरकार सञ्चालनका लागि निर्देशन दिएका थिए ।

कार्यशालामा कोशी प्रदेशको स्थानीय मौलिक पहिचान र विशिष्टताका आधारमा सहभागीहरूलाई छ वटा विषयगत समूहमा विभाजन गरी नीतिगत र व्यावहारिक विषयहरूमा गहन छलफल गरिएको थियो। ती समूहहरूले प्रदेश सरकारको आन्तरिक व्यवस्थापन, सुशासन, बजेट, आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार निर्माण र पार्टी एवं स्थानीय सरकारबीचको समन्वयका विषयमा केन्द्रित रहेर बहस गरेका थिए।

कार्यशालामा कोशी प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय प्रमुख तथा उपप्रमुखहरू, नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरूको उपस्थिति रहेको थियो। साथै, प्रदेशका सम्पूर्ण केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू र स्थानीय तहका सभापतिहरूले समेत कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यशालालाई प्रतिष्ठानका उपप्रमुख मधु आचार्य, नगरपालिका संघका राष्ट्रिय अध्यक्ष भीम ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे, मानवअधिकारवादी नेता मोहना अन्सारी लगायतका विज्ञहरूले विषयगत सहजीकरण गरेका थिए ।

२८ बुँदे संकल्पमा के छ ?

२८ बुँदे ‘कोशी संकल्प’ मा विशेष गरी स्थानीय सरकारलाई उत्तरदायी बनाउने र पार्टी तथा जनप्रतिनिधिबीचको सम्बन्धलाई प्रभावकारी बनाउने विषयलाई उच्च प्राथमिकता दिइएको छ । कांग्रेसले लाइन होइन अनलाइन र घर–आँगनमा सेवाको अवधारणामा आधारित रहेर जनतालाई सेवा प्रवाह गर्ने घोषणा गरेको छ ।

यसअन्तर्गत जन्मदर्ता, स्वास्थ्य बीमा र ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच नागरिकको घरदैलोमै पु¥याउने प्रतिबद्धता जनाइएको छ । यस्तै, वित्तीय अनुशासन कायम गर्न शून्य बेरुजु स्थानीय तह निर्माण गर्ने र असार १० भित्र अनिवार्य बजेट ल्याउने कुरालाई कडाइका साथ पालना गर्ने संकल्प गरिएको छ ।

विकासका रणनीतिक योजनाहरूमा कोशी राजमार्ग (जोगबनी–किमाथाङ्का) लाई चाँडो सम्पन्न गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने र विराटनगर–इटहरी कोरिडोरलाई विशेष आर्थिक क्षेत्रका रूपमा सञ्चालन गर्ने विषय समेटिएका छन् । पर्यटनतर्फ वराहक्षेत्र, पाथीभरा र हलेसीलाई जोडेर ‘आध्यात्मिक पर्यटन पथ’ निर्माण गर्ने लक्ष्य राखिएको छ ।

सामाजिक सुरक्षाका क्षेत्रमा कांग्रेसले ‘कोखदेखि शोकसम्म’ को एकीकृत सामाजिक सुरक्षा कार्यक्रम र महिलाको सीपलाई उद्यममा बदल्न उद्यमी आमा कार्यक्रम अघि सारेको छ । यस्तै, प्रदेशको नामाकरणपछि उत्पन्न भएका असन्तुष्टि र भावनाहरूलाई सर्वपक्षीय खुला संवादमार्फत सम्बोधन गर्ने प्रतिबद्धता समेत कांग्रेसले जनाएको छ ।

पार्टी संगठन सुदृढीकरणका लागि ‘जरा अभियान’ लाई तीव्रता दिने र जनप्रतिनिधि तथा पार्टीबीच हरेक महिना नियमित संवाद गर्ने संयन्त्र बनाउने संकल्प गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप