शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सङ्खुवासभाको मकालुमा पहिराले दुई सय भेडा पुरिए

शनिबार, ०९ जेठ २०८३, १९ : ५२
शनिबार, ०९ जेठ २०८३

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् ।

आज बिहान आएको पहिराले मकालु–५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । 

वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो आएको हो । पहिराले स्थानीय दलबहादुरका २५० भेडामध्ये २१८ भेडा पहिरोमा पुरिएर बेपत्ता भएका हुन् ।

पहिरोमा पुरिएका ३२ भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन् । बाढीमा परेर भेडा गोठालाको काम गर्दै आएका स्थानीय २० वर्षीय झलक गुरुङ घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल छन् ।

घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । घटनास्थल नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा र करिब १० घण्टा पैदल दुरीमा पर्दछ । घटनापछि नुम प्रहरी चौकीबाट प्रहरी टोली, स्थानीयवासी उघार तथा खोजी कार्यका लागि घटनास्थलतर्फ गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप