शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फुटबल

विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?

शनिबार, २३ जेठ २०८३, १९ : ४५
शनिबार, २३ जेठ २०८३

सारांश

  • फिफा विश्वकपको ट्रफी उचाल्नु नै फुटबलको अन्तिम लक्ष्य भए पनि, प्रतियोगिताको उद्घाटन खेल नजिकिँदै गर्दा 'सबैभन्दा राम्रो जर्सी' कसको भन्ने प्रतिस्पर्धा पनि चलिरहेको छ।
  • यस पटक अबे किटहरू विशेष रूपमा चर्चामा छन्, किनभने डिजाइनरहरूले परम्परागत घरेलु रङ र ढाँचाको सीमाभन्दा बाहिर गएर स्वतन्त्र रूपमा सृजनशीलता देखाएका छन्।
  • फुटबल पत्रकार क्रिस राइटले इएसपिएनका लागि लेखेको आफ्नो लेखमा उरुग्वेको अबे किटलाई उत्कृष्ट २० मा शीर्ष स्थान दिएका छन्।

काठमाडौँ । फिफा विश्वकपको ट्रफी उचाल्नु नै फुटबलको अन्तिम लक्ष्य हो भन्ने कुरा त स्पष्ट छ । तर जुन ११ मा हुने प्रतियोगिताको उद्घाटन खेलतर्फ अघि बढ्दै गर्दा अर्को एउटा प्रतिस्पर्धा पनि समान रूपमा चलिरहेको छ । र, त्यो हो कस्तो देखिने भन्ने शैली अर्थात् ‘स्टाइल’ को लडाइँ ।

यो गर्मीयाममा क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा हुने विश्वकपमा सहभागी राष्ट्रहरूबिच मैदानमा खेल सुरु हुनुअघि नै ‘सबैभन्दा राम्रो जर्सी’ कसको भन्ने प्रतिस्पर्धा सुरु भइसकेको छ । ४८ टोलीका सबै घरेलु, अबे र तेस्रो जर्सी सार्वजनिक भइसकेपछि, फुटबलको सबैभन्दा ठुलो मञ्चमा उनीहरूले लगाउने पोसाकको चर्चा र मूल्याङ्कन हुनु सामान्य नै हो ।

यस पटक अबे किटहरू विशेष रूपमा चर्चामा छन्, किनभने डिजाइनरहरूले परम्परागत घरेलु रङ र ढाँचाको सीमाभन्दा बाहिर गएर स्वतन्त्र रूपमा यसमा सृजनशीलता देखाएका छन् । यी जर्सीहरू लोककला, प्रसिद्ध भवन, स्थानीय संस्कृति, राष्ट्रिय झन्डा, जनावर र यहाँसम्म कि अतियथार्थवादी कलाकारहरूबाट प्रेरित छन् ।

नाइक, एडिडास तथा पुमा जस्ता ठुला ब्रान्डहरूले धेरै किट बनाएका छन्, तर केही साना खेल सामग्री ब्रान्डहरूले पनि आफ्नो सिर्जनालाई विश्वव्यापी दर्शकको कडा मूल्याङ्कनमा राख्न पाएका छन् ।

मेक्सिको सिटीमा हुने उद्घाटन खेल नजिकिँदै गर्दा, ४८ देशका १०० भन्दा बढी जर्सी सार्वजनिक भइसकेका छन् । फुटबल पत्रकार क्रिस राइटले इएसपिएनका लागि लेखेको आफ्नो लेखमा निम्न जर्सीलाई उत्कृष्ट २०मा राखेका छन्ः

२०. नेदरल्यान्ड्स अबे किट (नाइक)

i

नेदरल्याण्डको यो जर्सी मूलतः घरेलु जर्सीको सीधा रङ परिवर्तन गरिएको संस्करण हो, जसको बीच भागमा सुन्तला रङको पट्टी थपिएको छ । त्यही पट्टीमा आधुनिक शैलीमा बनाइएको होलोग्राफिक ‘केएनभिबि’ लोगो राखिएको छ । घरेलु जर्सीभन्दा अझ बढी यो किट प्रारम्भिक २००० को दशकबाट सिधै ल्याइएको जस्तो देखिन्छ । त्यसैले यसको मूल्याङ्कन धेरै हदसम्म त्यस युगको जर्सी डिजाइनप्रतिको धारणामा निर्भर हुनेछ । 

१९. दक्षिण अफ्रिका अबे किट (एडिडास)

i (1)

दक्षिण अफ्रिकाको राष्ट्रिय फुटबल टिमले सुनौलो र गाढा हरियो संयोजन भएको उत्कृष्ट अबे किट प्रस्तुत गरेको छ । सुन्दर ठाडा धर्काहरू हातले कोरिएका त्रिकोणीय टायल ढाँचाबाट बनेका छन् । ‘ट्रेफोइल’ लोगोका साथै राष्ट्रिय संघका विभिन्न प्रतीकहरू, विशेष गरी प्रोटिया फूलको चिन्हले आधुनिक दक्षिण अफ्रिकाको राष्ट्रिय पहिचानलाई झल्काउँछ ।

१८. जर्मनी घरेलु किट (एडिडास)

i (2)

जर्मनीको राष्ट्रिय फुटबल टिमले ले पुनः सन् १९८० को उत्तरार्ध र १९९० को प्रारम्भतिर प्रयोग गरिएको पहेंलो, कालो र रातो बुण्डेसफ्लागलाई क्युब शैलीमा पुनर्जीवित गरेको छ । यो एडिडासले जर्मनीका लागि डिजाइन गरेको अन्तिम घरेलु किट हो, किनभने अर्को वर्षबाट नाइकले जिम्मेवारी लिँदैछ । यसले पुरानो सम्झना त दिलाउँछ, तर समर्थकले एडिडासको विदाइस्वरूप अझ साहसी र भव्य डिजाइनको अपेक्षा गरेका हुन सक्छन् ।

१७. नर्वे अबे किट (नाइक)

i (3)

नर्वेले विश्वकपका लागि पूर्ण कालो (ब्ल्याकआउट) किट सार्वजनिक गरेको छ, जुन फिफाका प्रसारण तथा डिजाइनसम्बन्धी नियमसँग बाझिन सक्छ । तर जे भए पनि यो निकै आकर्षक देखिन्छ । घरेलु जर्सीमा रहेको भाइकिङको विषयवस्तुले यसमा पनि निरन्तरता पाएको छ, जहाँ बाहुला र मोजामा प्रयोग गरिएका ढाँचाहरू गज्जब छन् ।

१६. मेक्सिको अबे किट (एडिडास)

i

घरेलु किटको एज्टेक सभ्यता प्रेरित डिजाइनजस्तो प्रभावशाली नभए पनि मेक्सिकोको अबे किट समर्थकमाझ उत्तिकै लोकप्रिय हुने सम्भावना छ ।

सेतो जर्सी सफा र आकर्षक देखिन्छ । यसमा राष्ट्रिय झण्डाबाट प्रेरित सजावट थोरै मात्रामा प्रयोग गरिएको छ भने परम्परागत मेक्सिकन भवनहरूमा पाइने बाहिरी भर्याङ (सिडी) प्रेरित जिगज्याग ढाँचा समावेश गरिएको छ ।

१५. अल्जेरिया अबे किट (एडिडास)

i (1)

यो किट सिधै १९८० को दशकको सुरुआतबाट ल्याइएको जस्तो देखिन्छ, जुन संयोगवश अल्जेरिया पहिलो पटक विश्वकपमा छनोट भएको समय पनि हो । दुई रङका हरिया धर्काहरूले यसलाई सन्तुलित र पुरानो शैलीको आकर्षक रूप दिएका छन् । यसमा कुनै अनावश्यक चमकधमक छैन ।

१४. घाना अबे किट (पुमा)

i (2)

घरेलु जर्सीको तुलनामा निकै शान्त देखिने यो सुनौलो–पहेँलो जर्सीमा परम्परागत रूपमा राजपरिवारले प्रयोग गर्ने केन्टे कपडामा पाइने ज्यामितीय ढाँचाहरू राखिएका छन् । रातो र हरियो सजावटले घानाका राष्ट्रिय रङहरूलाई अझ राम्रोसँग प्रस्तुत गर्छ ।

१३. मेक्सिको तेस्रो किट (एडिडास)

i (4)

मेक्सिकोको २०२६ विश्वकप संग्रहमा अर्को उत्कृष्ट थप कुराको रुपमा यो जर्सीलाई लिइएको छ । कालो आधार भएको यो जर्सीमा ‘यमएक्स’ लाई ज्यामितीय शैलीमा समावेश गरिएको छ । हरियो, सेतो र रातो विवरणले राष्ट्रिय गौरवलाई पूर्ण रूपमा प्रदर्शन गर्छ ।

१२. फ्रान्स घरेलु किट (नाइक)

i (5)

फ्रेन्च फुटबल टोलीले राष्ट्रिय टोलीका किट डिजाइनमा विरलै गल्ती गर्छ । २०२६ को घरेलु जर्सी पनि अघिल्ला विश्वकप किटहरूसँग सहजै तुलना गर्न सकिने स्तरको छ । गाढा नीलो आधार विभिन्न रङहरूको संयोजनबाट बनेको छ । सेतो फोल्ड–ओभर कलर र काँस्य रंगका लोगोहरूले अतिरिक्त आकर्षण थपेका छन् ।

११. मोरक्को घरेलु किट (पुमा)

i (6)

पहिलो नजरमा साधारण देखिए पनि यो जर्सी जति धेरै हेर्दै गयो त्यति आकर्षक लाग्छ । कपडामा सूक्ष्म बनावट छ र बीचमा राखिएको राष्ट्रिय प्रतीक अत्यन्त सुन्दर देखिन्छ । तर यसको सबैभन्दा ठुलो विशेषता भनेको फेज शैलीको गाडा सजावट हो, जुन बाहुला र बटन भएको कलरमा प्रयोग गरिएको छ ।

१०. स्पेन अबे किट (एडिडास)

i (7)

स्पेनको राष्ट्रिय फुटबल टोलीको अबे किटमा विलासिताको अनुभूति स्पष्ट देखिन्छ । यसमा मरुन र सुनौलो सजावट राखिएको छ । पुराना स्पेनी साहित्यिक हस्तलिपिहरूमा प्रयोग हुने सुनौलो पातको सजावटबाट प्रेरित लहरादार बेलबुट्टाको ढाँचा कपडाभित्र बुनेर राखिएको छ । छोटकरीमा भन्नुपर्दा, यसमा मन नपर्ने कुनै पक्ष छैन ।

९. बेल्जियम अबे किट (एडिडास)

i (8)

बेल्जियमको राष्ट्रिय फुटबल टोलीको अबे जर्सी राष्ट्रिय संघको लोगो र बेल्जियन अतियथार्थवादी कलाकार रेने म्याग्रिटबाट प्रेरित छ । गुलाबी र नीलो अमूर्त ढाँचामा लोगोको ‘बि’ र म्याग्रिटको १९२८ को कलाकृति ‘ला भोइक्स डेस एयर्स’ का चाँदीका गोलाकार आकृतिहरू समावेश गरिएका छन् । जर्सीको डिजाइन साँच्चै उत्कृष्ट छ ।

८. ब्राजिल घरेलु किट (नाइक)

i (9)

ब्रजिलको राष्ट्रिय फुटबल टोलीको नयाँ घरेलु जर्सी १९७० को विश्वकप विजेता टोलीबाट प्रेरित छ, जसमा पेले, जेरिन्हो र रिभेलिनो जस्ता महान खेलाडी थिए ।

क्यानरी पहेँलो जर्सीमा कलर र बाहुलामा गाढा हरियो सजावट राखिएको छ । कपडाभित्रको हीराकार ढाँचा राष्ट्रिय झण्डाबाट प्रेरित छ । परम्परागत नीलो सट्र्स र सेता मोजासँग यो झन् राम्रो देखिन्छ ।

७. अर्जेन्टिना अबे किट (एडिडास)

i (10)

अर्जेटिनी राष्ट्रिय फुटबल टोलीको अबे किटले समर्थकहरूबीच मत विभाजन गरेको छ, तर यसको मौलिकता सुन्दर छ । कालो जर्सीमा हल्का नीलो रङका पात र वनस्पतिका आकृतिहरू छन्, जुन ब्युनस आयर्सका सडकमा देखिने ‘फिलेटानो पोर्तेनो’ लोककलाबाट प्रेरित छन् ।

६. मेक्सिको घरेलु किट (एडिडास)

i (11)

सन् १९९८ को विश्वकपमा प्रयोग गरिएको प्रसिद्ध एज्टेक डिजाइनलाई सम्मान गर्दै मेक्सिकोले आफ्नो २०२६ घरेलु किट तयार गरेको छ । यसमा ‘पियड्रा डेल सोल’ अर्थात् एज्टेक सभ्यताको प्रसिद्ध मूर्तिको छाप राखिएको छ । यसमा डिजाइनजत्तिको भव्यता त छैन, तर त्यसको प्रभाव अझै बलियो रूपमा लिन सकिन्छ ।

५. संयुक्त राज्य अमेरिका घरेलु किट (नाइक)

i (12)

अमेरिकाले १९९४ को विश्वकपको सम्झना दिलाउने डिजाइन ल्याएको छ । रातो र सेता धर्काहरू यस पटक तेर्सो रूपमा राखिएका छन् । पुरानो संस्करणजस्तै, अमेरिकी झन्डा हावामा फर्फराउँदा देखिने लहरको प्रभाव सिर्जना गर्न धर्काहरूलाई विशेष तरिकाले डिजाइन गरिएको छ ।

४. कुरासाओ अबे किट (एडिडास)

i (13)

किट सङ्कलकहरूका लागि यो अर्को उत्कृष्ट नमुना बन्ने निश्चित छ । कागती–पहेँलो जर्सीमा घामको झल्को भरिएको छ । विलिम्सटाडका रङ्गीन भवनहरूबाट प्रेरित गुलाबी र सुन्तला रङका सजावटहरूले स्वप्निल अनुभूति दिन्छन् ।

३. फ्रान्स अबे किट (नाइक)

i (14)

फ्रान्सलाई विश्वकपका लागि कसरी पहिरिने भन्ने राम्ररी थाहा छ । यो जर्सी स्वतन्त्रताको प्रतिमाको तामाको बाहिरी आवरणबाट प्रेरित रङमा तयार गरिएको छ । उक्त प्रतिमा फ्रान्सले अमेरिकालाई उपहारस्वरूप दिएको थियो र सन् १८८६ मा उद्घाटन गरिएको थियो । धातुजन्य तामाका लोगो र बाहुलामा रहेको त्रिरङ्गी सजावटले यसलाई पूर्णता दिएका छन् ।

२. जापान अबे किट (एडिडास)

i (15)

जापानको राष्ट्रिय फुटबल टोलीले  पुराना बेसबल जर्सीबाट प्रेरणा लिँदै उत्कृष्ट अबे किट तयार गरेको छ । फिक्का सेतो जर्सीमा १२ वटा इन्द्रेणी रङका पातला धर्काहरू छन् । ११ वटा मैदानका खेलाडीका लागि हुन् भने बीचको रातो धर्काले सम्पूर्ण जापानी फुटबल परिवारलाई प्रतिनिधित्व गर्छ । बजारमा सार्वजनिक हुनासाथ यो किट तुरुन्तै बिकी सकेको थियो, र त्यसको कारण सजिलै बुझिन्छ ।

१. उरुग्वे अबे किट (नाइक)

i (16)

सूचीको शीर्ष स्थानमा रहेका किटहरूबीच धेरै अन्तर छैन, तर उरुग्वेको अबे किटले भने थोरै अग्रता लिएको छ । यो जर्सी सन् १९३० को विश्वकप विजेता टोलीलाई समर्पित छ, जसले पहिलो विश्वकप जित्दै फुटबल इतिहासको पहिलो विश्व च्याम्पियन बनेको थियो ।

गाढा नीलो जर्सीको घाँटी वरिपरि नीलो र चम्किलो सुन्तला रङको विशेष सजावट छ, जसले प्राचीन आदिवासी कवचको झल्को दिन्छ । यो २०२६ को टोलीले आफ्ना पुर्खाहरूको सिंहासन जोगाउने चाहनाको प्रतीकात्मक प्रस्तुति हो । यो जर्सी अत्यन्त कल्पनाशील, आकर्षक र साँच्चै उत्कृष्ट छ ।

क्रिस राइटले कुल जम्मा १०५ वटा जर्सीलाई सूचिवद्ध गरेका छन् जसमा २१ देखि ३० सम्म दक्षिण कोरिया अबे, इंग्ल्यान्ड अबे, ब्राजिल अबे, अर्जेन्टिना होम, नेदरल्यान्ड्स होम, आइभरी कोस्ट अबे जर्सी रहेका छन् । उक्त सूचीको अन्त्यमा भने एक सय एक देखि एक सय पाँच सम्म क्रमसः जोर्डन होम, क्यानडा अबे, उज्बेकिस्तान होम, स्विट्जरल्यान्ड अबे र कतार अबे रहेका छन् ।

 त्यसैगरि, पोर्चुगल अबे (३९) तथा पोर्चुगल होम (५७) मा छन् । क्रोएसियाको प्रसिद्ध रातो–सेतो चेकबोर्ड डिजाइन ३७ नम्बरमा छ भने इंग्ल्यान्ड होम ३२ नम्बरमा छ । अबे जर्सी एक नम्बर ठहरिएको उरुग्वेको होम जर्सी भने ३१ नम्बरमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप