स्थानीय जनप्रतिनिधि भेलामा अग्नि सापकोटाले पेस गरेको १० बुँदे प्रस्तावमा के छ ? (दस्ताबेजसहित)
सारांश
- अग्निप्रसाद सापकोटाले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई पार्टीका लागि अग्निपरीक्षा बताएका छन् ।
- उनले स्थानीय तहलाई उत्पादन र रोजगारीको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
- सापकोटाले पार्टीले नेतृत्व गरेका पालिकाहरूमा भएका असल अभ्यासहरूलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले आगामी २०८४ सालमा हुने स्थानीय तह निर्वाचन पार्टीका लागि अग्निपरीक्षा भएको बताएका छन् । बुधवार प्रज्ञा भवन कमलादीमा पार्टीद्वारा आयोजित स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय प्रशिक्षण भेलामा ‘संक्षिप्त प्रस्ताव’ प्रस्तुत गर्दै सापकोटाले आगामी निर्वाचन वैचारिक–राजनीतिक लडाइँको अग्निपरीक्षा भएको बताएका हुन् ।
पूर्वसभामुख रहेका सापकोटाले पार्टीको मुख्य अडान र क्रान्तिकारी दबाबकै कारण सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको दाबी गरे । करिब अबको एकवर्ष जनताको मनमा सकारात्मक छाप छोड्ने गरी काम गर्न उनले निर्देशन दिए ।
‘देशभरका ७५३ स्थानीय तहमध्ये हाम्रो पार्टीले नेतृत्व गरेका १४४ तहहरूले कतिपय उदाहरणीय काम गरेका छन् । अबको एक वर्ष जनताको मनमा सकारात्मक छाप छोड्ने र अधुरा योजना पूरा गर्ने सङ्कल्पको वर्ष हुनुपर्छ’, उनले भने ।
कार्यक्रममा सापकोटाले स्वीजरल्याण्डको सङ्घीयता र चीनको विकास मोडेललाई सन्दर्भका रूपमा प्रस्तुत गरेका थिए । उनले स्थानीय तहलाई उत्पादन र रोजगारीको केन्द्र बनाउनुपर्नेमा जोड दिए । यसैगरी स्वीजरल्याण्डको वित्तीय स्वायत्तता र चीनको गरिबी निवारणको सफल प्रयोगबाट सिकेर नेपालमा समाजवादको बीजारोपण गर्न सकिने उनको तर्क थियो ।
यस्तै, अन्य राजनीतिक दल र आफ्नो पार्टीबिचको आधारभूत भिन्नता स्पष्ट पार्दै सापकोटाले भने– ‘हाम्रा जनप्रतिनिधिहरू शासक होइनन्, जनताका सेवक र रूपान्तरणका संवाहक हुन् । स्थानीय तह हाम्रो लागि दलाल पुँजीवादी संस्कृतिविरुद्ध लड्ने वैचारिक मोर्चा हो ।’
पछिल्लो समय नेपाली राजनीतिमा देखिएको ‘प्रियतावाद’ र युवाहरूको असन्तोषप्रति सङ्केत गर्दै सापकोटाले त्यसलाई गम्भीर चुनौतीको रूपमा चित्रण गरे । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनप्रति लक्षित गर्दै उनले भने– ‘युवाहरूले उठाएका जायज प्रश्नहरूको उत्तर हामीले व्यवहारबाटै दिनुपर्छ । नयाँ पुस्ताको सूचना प्रविधि र नवीन सोचलाई स्थानीय तहको योजना निर्माणमा जोड्नुपर्छ ।’
पार्टीले नेतृत्व गरेका पालिकाहरूमा सरकारी विद्यालयको सुधार, निःशुल्क स्वास्थ्य बीमा र न्यायिक समितिमार्फत घरदैलोमै न्याय दिने कार्य भइरहेको भन्दै उनले ती असल अभ्यासहरूलाई दस्ताबेजीकरण गरी देशव्यापी बनाउनुपर्नेमा जोड दिए ।
आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्न जनताका कुरा सुन्न, स्थानीय स्रोतको अनुसन्धान गर्न र स्पष्ट दृष्टिकोणका साथ टोल–बस्तीमा पुग्न जनप्रतिनिधिहरूलाई आह्वान गरे । भोलिसम्म सञ्चालन हुने भेलामा देशभरका पार्टीबाट निर्वाचित प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
यस्तो छ भेलामा सापकोटाले पेस गरेको दस्ताबेज :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण