उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य
सारांश
- बाँकेका सामुदायिक विद्यालयमा टिनको छानामुनि बालबालिका पढ्न बाध्य छन्।
- उच्च तापक्रम र विद्युत अवरोधले पढाइ प्रभावित छ।
- गर्मी घटाउने प्रयास प्रभावकारी नभएको शिक्षकहरू बताउँछन्।
बाँके । पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा अत्यधिक गर्मी बढेको छ । यहाँका अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाले बनेका कक्षाकोठा रहेका छन् ।
नेपालगन्जको चर्को गर्मी (४१–४२ डिग्री उच्च तापक्रम) मा विद्यालयका बालबालिका टिनको छानामुनि उकुसमुकुस भई तरतरी पसिना चुहाउँदै पढ्न बाध्य छन् । छिनछिनमा बिजुली जाने समस्या, पङ्खाको अभावमा साना बालबालिकाको स्वास्थ्य र पढाइ दुवै प्रभावित भएको विद्यालयका शिक्षकहरू बताउँछन् । अत्यधिक गर्मीको मौसममा पटकपटक विद्युत् अवरुद्ध हुने समस्याले टिनको छानामुनिको पढाइ सकसपूर्ण बनेको छ । अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छानामुनि राखेर पढाउने गरेका छन् ।
गर्मीका कारण विद्यार्थी पटकपटक पानी खान जाने, टाउको दुख्ने, थकान हुनेजस्ता समस्या देखिने गरेको नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित आदर्श माविका शिक्षिका हीरा गौतमले बताइन् । डुडुवा गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय शाहपुर्वाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगन्ज–१० स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालको अनुभव पनि उस्तै छ ।
विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उनीहरूको भनाइ छ । टिनका छानामा एउटा कक्षाकोठाको आवाज अर्को कोठासम्म सुनिन्छ । वर्षायाममा पानी पर्दा टिनका पाताले ठूलो आवाज निकाल्ने भएकाले पढाइमा थप अवरोध हुने शिक्षकहरूको भनाइ छ ।
तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन राखेको छ । तर नेपालगन्जको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महशाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सन राखेर तापक्रम घटाउने प्रयास गरिएको र नयाँ भवनहरू टिनका नबनेको बताए । उनले भने, “यसलाई दीर्घकालीन बनाउन नीति बनाउने काम अझै हुन सकेको छैन ।”
जनप्रतिनिधिहरू सुविधा सम्पन्न भवन र बाताअनुकूलित वातावरणमा बसिरहेका बेला निम्न आय भएका परिवारका बालबालिका भने अझै टिनको छानामुनि गर्मीसँग सङ्घर्ष गर्दै पढ्न बाध्य भएको अभिभावकहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण