आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

विश्वकप २०२६ का लागि स्पेनका जर्सी नम्बरहरू सार्वजनिक, यमलले १० नम्बर नलगाउने

मङ्गलबार, १९ जेठ २०८३, १४ : ३१
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • स्पेनिस टोलीको २६ सदस्यीय अन्तिम टोली घोषणा भएसँगै विश्वकप २०२६ का लागि खेलाडीहरूको जर्सी नम्बर सार्वजनिक भएको छ ।
  • क्लब फुटबलमा बार्सिलोनाका लागि १० नम्बर लगाउने लामिने यमालले स्पेनबाट १९ नम्बरको जर्सी लगाउने भएका छन् ।
  • स्पेनको प्रतिष्ठित १० नम्बरको जर्सी मिडफिल्डर ड्यानी ओल्मोले लगाउनेछन् भने ९ नम्बरको जर्सी गाभीले लगाउने भएका छन् ।

मड्रिड । मेक्सिको र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेलसँगै सन् २०२६ को विश्वकप सुरु हुन १० दिन बाँकी छ । यस्तोमा स्पेनिस टोलीको जर्सी नम्बरलाई लिएर रहेको कौतुहल समाप्त भएको छ ।

मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले स्पेनको २६ सदस्यीय अन्तिम टोली घोषणा गरेसँगै समर्थकहरूमाझ कुन खेलाडीले कुन नम्बरको जर्सी लगाउनेछन् भन्ने चासो रहेको थियो । 

विशेष गरी खेलप्रेमी र जर्सी संकलकहरूका लागि यो प्रतीक्षित क्षण थियो । स्पेनका हालैका खेलहरूले केही खेलाडीको जर्सी नम्बरबारे संकेत गरे पनि आधिकारिक रूपमा केही कुरा स्पष्ट भइसकेको थिएन । १० नम्बर र ९ नम्बरको जर्सी कसले पाउनेछ भन्ने विषय सबैभन्दा ठुलो चर्चा थियो । 

क्लब फुटबलमा बार्सिलोनाका लागि प्रतिष्ठित १० नम्बरको जर्सी लगाउने लामिने यमालले स्पेन राष्ट्रिय टोलीमा भने आफ्नो परिचित १९ नम्बरकै जर्सीलाई निरन्तरता दिने भएका छन् । दुई वर्षअघि स्पेनलाई युरोपियन च्याम्पियनसिप (युरो कप) जिताउँदा १७ वर्षीय यमालले सोही नम्बरको जर्सी लगाएका थिए । उत्तर अमेरिकामा हुने विश्वकपमा स्पेनका लागि प्रतिष्ठित १० नम्बरको जर्सी भने मिडफिल्डर ड्यानी ओल्मोले लगाउने भएका छन् । 

प्रशिक्षक फुएन्तेले टोली घोषणा गरेलगत्तै ओल्मोले सामाजिक सञ्जालमा जर्सी नम्बर परिवर्तनको संकेत दिइसकेकाले यो निर्णयलाई धेरैले स्वाभाविक रूपमा लिएका छन् । 

अर्कोतर्फ, लामो समयको चोटपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका मिडफिल्डर गाभीले आफ्नो पुरानै ९ नम्बरको जर्सी फिर्ता पाएका छन् । करिब एक वर्ष राष्ट्रिय टोलीबाट बाहिर रहेका गाभीले आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनको सुरुवाती समयदेखि नै यो नम्बर प्रयोग गर्दै आएका थिए । 

यससँगै भिक्टर मुनोज, मार्क पुबिल र बोर्जा इग्लेसियासजस्ता खेलाडीहरूले पाउने जर्सी नम्बरबारे रहेका अन्योल पनि अब हटेका छन् । 

कसलाई कति नम्बर जर्सी ? 

गोलरक्षक

डाभिड राय्या – १
जोआन गार्सिया – १३
उनाइ सिमोन – २३

डिफेन्डरहरू

मार्क पुबिल – २
आलेहान्द्रो ग्रिमाल्दो – ३
एरिक गार्सिया – ४
मार्कोस योरेन्ते – ५
पेद्रो पोरो – १२
आयमेरिक लापोर्ते – १४
पाउ कुबार्सी – २२
मार्क कुकुरेया – २४

मध्यपङ्क्तिका खेलाडीहरू

मिकेल मेरिनो – ६
फाबियान रुइज – ८
गाभी – ९
दानी ओल्मो – १०
आलेक्स बाएना – १५
रोड्री हेर्नान्देज – १६
मार्टिन जुबिमेन्दी – १८
लामिन यामाल – १९
पेद्री गोन्जालेस – २०

अग्रपङ्क्तिका खेलाडीहरू

येरेमी पिनो – ११
निको विलियम्स – १७
मिकेल ओयार्साबाल – २१
फेरान टोरेस – ७
भिक्टर मुन्योस – २५
बोर्जा इग्लेसियास – २६

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप