आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

महाकाली राजमार्ग स्तरोन्नतिको ठेक्का रद्द, १५ दिनभित्र सम्पर्क गर्न व्यवसायीलाई निर्देशन

बुधबार, २० जेठ २०८३, १३ : ०४
बुधबार, २० जेठ २०८३

सारांश

  • सडक डिभिजन महेन्द्रनगरले महाकाली राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती गर्ने नागार्जुन कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।
  • तोकिएको समयमा काम सम्पन्न नगरेको र स्पष्टीकरणको जवाफ नआएपछि सार्वजनिक खरिद ऐन अनुसार ठेक्का सम्झौता अन्त्य गरिएको हो ।
  • ठेक्का रद्द भएसँगै क्षतिपूर्ति वा बाँकी रकम असुल गरिने र व्यवसायीलाई १५ दिनभित्र वित्तीय फरफारका लागि सम्पर्क गर्न निर्देशन दिइएको छ ।

काठमाडौँ । सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय,सडक डिभिजन महेन्द्रनगर,कञ्चनपुरले महाकाली राजमार्गको स्तरोन्नति कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै काठमाडौँको बालाजुस्थित नागार्जुन कन्स्ट्रक्सन प्रालि सँगको ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी दिएको छ ।

सडक डिभिजन महेन्द्रनगर र नागार्जुन कन्स्ट्रक्सनबिच महाकाली राजमार्ग (कैलाली खण्डको चेनेज १६ं००० देखि ५८ं००० सम्म) मा पुनर्स्थापना, भिरालो सडक स्थिरीकरण तथा कालोपत्रे निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

सडक डिभिजन कार्यालयका अनुसार तोकिएको कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई पटक–पटक लिखित तथा मौखिक रूपमा अनुरोध गरिएको थियो । ताकेता गर्दा पनि काम अघि नबढेपछि कार्यालयले गत २०८२ चैत २३ गते गोरखापत्र दैनिकमा स्पष्टीकरण सम्बन्धी सूचना प्रकाशित गरेको थियो । सो स्पष्टीकरणको समेत कुनै जवाफ पेस नगरेका कारण कार्यालयले ठेक्का रद्द गर्ने निर्णय गरेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (२) र (७) तथा ठेक्का सम्झौताको ’जीसीसी क्लज’ ७२ र ७२.३ (वी) को व्यवस्था अनुसार गत २०८३ जेठ १८ गतेको निर्णयबाट उक्त ठेक्का सम्झौता अन्त्य गरिएको सूचनामा उल्लेख छ ।

सम्झौता रद्द भएसँगै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (३) र (८) तथा सम्झौताको प्रावधान अनुसार कार्यको मूल्याङ्कन गरिने कार्यालयले जनाएको छ । यस प्रक्रियाबाट स्थापित हुने क्षतिपूर्ति वा बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गरिने कानुनी व्यवस्था रहेको छ ।

सडक डिभिजन कार्यालयले सूचना प्रकाशित भएको १५ दिनभित्र वित्तीय फर फारकका लागि कार्यालयमा सम्पर्क राख्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । 

ठेक्का अन्त्य गरिएको सम्बन्धि सूचना I (गोरखापत्र दैनिक-२०८३-०२-२०)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप