रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कार घोषणा
सारांश
- रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले वि.सं. २०८२ (सन् २०२५) का लागि 'श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार' र 'रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार' घोषणा गरेको छ ।
- शिक्षाविद् प्राध्यापक डा.सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा 'श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार' प्रदान गरिनेछ ।
- एग्रो मनाङ प्रा.लि. र वरिष्ठ बागवानी विज्ञ चुटराज गुरुङलाई 'रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार' प्रदान गरिने निर्णय भएको छ ।
काठमाडौँ । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर–७ झापाले वि.सं. २०८२ (सन् २०२५) का लागि प्रदान गरिने प्रतिष्ठित राष्ट्रिय पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ र ‘रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ प्राप्त गर्ने व्यक्तित्व तथा संस्थाहरूको नाम सार्वजनिक गरेको हो ।
प्रतिष्ठानका अनुसार आगामी २०८३ जेठ ३० गते काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने विशेष समारोहमा वितरण हुने पुरस्कारमा ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ (राशि रु.५,००,०००) शिक्षाविद् प्राध्यापक डा.सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कार प्राप्त गर्न लागेका प्रा.डा. शर्माले नेपालको उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासमा पाँच दशकभन्दा बढी समय योगदान दिएका छन् । उनी काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् ।
त्यसैगरी प्रविधि, अनुसन्धान र नवप्रवर्तनको माध्यमबाट देशको आर्थिक विकास र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलेबापत डा.महावीर पुनको नेतृत्वमा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा सोही पुरस्कारबाट सम्मानित गर्न लागिएको हो ।
यस्तै, रु.१,०१,१११ (एक लाख, एक हजार, एक सय,एघार रुपैयाँ) राशिको ‘रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ एग्रो मनाङ प्रा.लि. र वरिष्ठ बागवानी विज्ञ चुटराज गुरुङलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ । मनाङको दुर्गम क्षेत्रमा पहिलो पटक ठुलो क्षेत्रफलमा आधुनिक प्रविधिमार्फत उच्च घनत्वको स्याउ खेती सुरु गरी उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा योगदान पुर्याएबापत एग्रो मनाङलाई सम्मानित गर्न लागिएको हो ।
त्यस्तै, नेपाल सरकारको सेवामा रहँदा र सेवा निवृत्त भएपछि पनि बागवानी क्षेत्रको अनुसन्धान, हिमाली क्षेत्रमा स्याउ खेती विस्तार र २ हजारभन्दा बढी कृषक तथा प्राविधिकहरूलाई व्यावहारिक तालिम प्रदान गरी मुलुकको कृषि क्षेत्रमा पुर्याएको योगदानका लागि कृषि विज्ञ चुटराज गुरुङलाई यो पुरस्कार प्रदान गर्न लागिएको हो ।
स्व. श्रीप्रसाद ओलीले वि.स. २०६७ सालमा स्थापना गरेको एक करोड रुपैयाँको अक्षयकोषबाट सञ्चालित यस प्रतिष्ठानले स्थापना कालदेखि नै सामाजिक, शैक्षिक र सेवामूलक कार्यहरू गर्दै आएको छ ।
प्रतिष्ठानले विभिन्न विधामा उल्लेख्य योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रोत्साहित गर्न हरेक वर्ष विभिन्न विधागत पुरस्कारहरू प्रदान गर्दै आएको छ । हालसम्म प्रतिष्ठानबाट विभिन्न विधाका पुरस्कारहरूबाट ४४ जना व्यक्ति तथा संस्थाहरू सम्मानित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण