सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सिंगापुरको विकास मोडलबारे छलफल भएको छ।
- कार्यक्रममा सिंगापुरका आर्थिक तथा सार्वजनिक नीति विश्लेषक लियोंग सी हियानले सिंगापुरको आर्थिक रूपान्तरण, सुशासन र नवप्रवर्तनबारे प्रस्तुति दिए।
- कांग्रेस सभापति गगनकुमार थापाले सुशासन नै समुन्नतिको प्रमुख आधार भएको र सिंगापुरको अनुभवबाट नेपालले सिक्न सक्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास मोडलबारे गम्भीर छलफल तथा विचार–विमर्श गरिएको छ।
कांग्रेसको नियमित नीतिगत तथा वैचारिक छलफल कार्यक्रम ‘ग्रीन टेबल’ अन्तर्गत आयोजित कार्यक्रममा सिंगापुरका आर्थिक तथा सार्वजनिक नीति विश्लेषक लियोंग सी हियान प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए। कार्यक्रममा कांग्रेसका नेता, सांसद, युवा तथा अध्ययनशील व्यक्तिहरूको उपस्थिति थियो।
हियानले सिंगापुरले आर्थिक रूपान्तरण, सुशासन, नवप्रवर्तन, सार्वजनिक सेवा प्रवाह तथा जनकल्याणका क्षेत्रमा हासिल गरेका सफल अभ्यासबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले आर्थिक समृद्धि, प्रभावकारी शासन प्रणाली, संस्थागत विकास तथा नागरिक केन्द्रित नीति निर्माणका लागि सिंगापुरबाट नेपालले सिक्न सक्ने महत्त्वपूर्ण पाठहरूबारे धारणा राखे।
सिंगापुर आर्थिक रूपमा समृद्ध भए पनि केही सामाजिक सूचकमा अझै चुनौती रहेको उल्लेख गर्दै हियानले विकासको अन्तिम उद्देश्य नागरिकलाई खुसी बनाउनु हुनुपर्ने बताए। भ्रष्टाचारविरुद्धका कानुनको कडाइका साथ कार्यान्वयन, मेरिट प्रणालीको अवलम्बन, नवप्रवर्तनलाई प्रोत्साहन तथा दीर्घकालीन नीतिगत स्थिरताका कारण सिंगापुरले छोटो अवधिमै उल्लेखनीय आर्थिक प्रगति हासिल गर्न सफल भएको उनको भनाइ थियो।
नेपालको सन्दर्भमा उनले सुशासनका लागि कठोर र प्रतिबद्ध हुनुपर्ने तथा कृत्रिम बुद्धिमत्ता ९एआई०, सूचना प्रविधि र नवप्रवर्तनमा केन्द्रित नीति अवलम्बन गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा सहभागीहरूले नेपालको वर्तमान अवस्था र विकासका चुनौतीसँग सम्बन्धित विभिन्न प्रश्न उठाएका थिए। हियानले ती प्रश्नको उत्तर नेपालकै सन्दर्भमा केन्द्रित भएर दिएका थिए।
कार्यक्रममा कांग्रेसका सभापति गगनकुमार थापाले हियानलाई नेपाली ढाका टोपी, खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरे।
हियानको प्रस्तुति र अन्तरक्रियापछि थापाले सुशासन नै समुन्नतिको प्रमुख आधार भएको उल्लेख गर्दै सिंगापुरको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए। सिंगापुरबारे लामो समयदेखि सुन्दै आएको भए पनि त्यहाँका विज्ञसँग प्रत्यक्ष संवादबाट थप उपयोगी जानकारी प्राप्त भएको उनको भनाइ थियो।
नेपालको नीति निर्माण, सुशासन र समृद्धिका लागि यस्ता छलफल मार्गदर्शक बन्न सक्ने विश्वास व्यक्त गर्दै थापाले वर्तमान सरकारको प्रमुख प्राथमिकता पनि सुशासन रहेको बताइँदै आएको स्मरण गराए। उनले सुशासनको अभियानमा कांग्रेस सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै त्यसका लागि सरकारमा रहेका व्यक्तिहरूको व्यवहार र प्रतिबद्धता पनि देखिनुपर्ने बताए।
सरकारले गठन गरेको छानबिन समितिलाई कांग्रेसले सहयोग गर्ने उल्लेख गर्दै उनले समितिको काम निष्पक्ष र विश्वसनीय हुनुपर्ने धारणा राखे।
सिंगापुरमा शीर्ष नेतृत्व र राजनीतिक दलहरूले नै सुशासनको मानक स्थापित गरेकाले त्यहाँ सुशासनको वातावरण निर्माण भएको उदाहरण प्रस्तुत गर्दै थापाले नेपालमा पनि राज्य सञ्चालन गर्ने नेता र राजनीतिक दलहरू नै सुशासनप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
“मूल नै फोहोर भए जरा सफा हुँदैन। त्यसैले सुशासनका लागि राज्यको मूल मानिने शीर्ष नेता र राजनीतिक दलहरू नै सफा हुनुपर्छ,” थापाले भने।
यसैबिच, कांग्रेसको ग्रीन टेबल छलफल शृङ्खला शुक्रबार पनि जारी रहने भएको छ। शुक्रबार दिउँसो ४ बजेपछि हुने कार्यक्रममा मानवअधिकार आयोगको प्रतिवेदनबारे विज्ञ तथा सरोकारवालासँग छलफल गरिने ग्रीन टेबलका संयोजक कञ्चन झाले जानकारी दिए।
पार्टी कार्यालयमा नियमित रूपमा सञ्चालन भइरहेका यस्ता नीतिगत तथा वैचारिक कार्यक्रमहरूले नेता तथा कार्यकर्ताको बुझाइलाई थप फराकिलो र गहकिलो बनाएको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण