आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
गण्डकी प्रदेश

पोखरा बसपार्कमा कहिले चल्छ डोजर ?

के होला २४० विद्यार्थीको भविष्य ?
आइतबार, २४ जेठ २०८३, १३ : ३६
आइतबार, २४ जेठ २०८३

सारांश

  • पोखरा बसपार्कको संरचना खाली गर्न महानगरपालिकाले दिएको अल्टिमेटम सकिएको छ र सुकुमबासी समस्या समाधानका लागि विभिन्न समितिले काम गरिरहेका छन् ।
  • सुकुमबासी स्थानान्तरणका लागि विभिन्न ६ ठाउँमा जग्गा सिफारिस गरिएको छ, तर वास्तविक सुकुमबासी पहिचान गर्ने काम चलिरहेको छ ।
  • उच्च अदालतले तत्काल घरटहरा नभत्काउन अल्पकालीन आदेश दिएपछि पोखरा बसपार्क क्षेत्रमा डोजर चलाउने तयारी रोकिएको छ ।

पोखरा । पोखरा बसपार्कको संरचना खाली गर्न पोखरा महानगरपालिकाले दिएको अल्टिमेटम सकिएको छ । यही समयमा महानगरले सुकुमबासी समस्या समाधानका लागि गठन गरेका विभिन्न समितिले तदारुकताका साथ काम गरिरहेका छन् ।

एउटा समितिले प्रतिवेदन बुझाइसकेको छ भने अरू समितिले पनि आफ्नो जिम्मेवारीको काम अन्तिम चरणमा पुर्‍याइसकेका छन् । सुकुमबासी स्थानान्तरण गर्न जग्गा सिफारिस गर्न गठित समितिले २२ गते नै महानगरपालिकाका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको हो । समितिले पोखराका विभिन्न ६ ठाउँमा जग्गा सिफारिस गरेको छ ।

समितिकी संयोजक राधिका शाही योगीले प्राथमिकताका आधारमा उपयुक्त जग्गाहरूको खोजी गरेर सिफारिस गरिएको बताइन् । ‘सबै ठाउँमा स्थलगत अध्ययन गरिएको छ । प्राविधिक पक्ष पनि हेरेर उपयुक्त जग्गाहरू सिफारिस भएको छ,’ उनले भनिन्, ‘सुकुमबासी बस्ती शतप्रतिशत एकै ठाउँमा सार्न परे पनि पुग्ने जग्गा छ । छुट्टाछुट्टै राख्ने हो भने पनि त्यस्ता जग्गासमेत छन् ।’

पोखरा ९, १४, १५, १७, २५, २१ लगायत वडाहरूको जग्गा सिफारिस गरिएको हो । तर, वास्तविक सुकुमबासी पहिचान गर्न गठित समिति र न्यायिक निरूपण गर्न गठित समितिले काम सकेको छैन । सुकुमबासी पहिचान गर्ने काम चलिरहेको पोखरा महानगरकै प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारीले बताए । ‘हाम्रो समिति गठन भएपछि निवेदन माग गर्‍यौँ । ५७२ जनाले निवेदन दिनुभएको छ,’ उनले भने, ‘अहिले यसलाई केलाउने काम गरिरहेका छौँ । अझै केही समय लाग्ने देखिएको छ ।’

न्यायिक निरूपणका लागि गठित समितिको समयावधि भने अझै बाँकी छ । महानगरले जग्गा खोजी गर्ने र सुकुमबासी पहिचान गर्ने समितिलाई १० दिनको समय दिएको थियो भने न्यायिक निरूपणका लागि गठित समितिलाई १५ दिनको समय दिएको थियो ।

मेयर आचार्यले बिचमा परेका सार्वजनिक बिदाहरूका कारण समितिको समयसीमा २८ गतेसम्म कायम रहेको बताए । महानगरले आज (आइतबार) बसपार्क क्षेत्रमा डोजर चलाउने तयारी गरेको थियो, तर उच्च अदालतले तत्काल घरटहरा नभत्काउन अल्पकालीन आदेश दिएपछि काम रोकिएको हो ।

मेयर आचार्यले अदालतको सहारा लिएर गलत काम धेरै समय नटिक्ने चेतावनी दिएका छन् ।

‘समितिहरूले गहन अध्ययन र विश्लेषणका साथ जिम्मेवारीपूर्वक काम गरिरहनुभएको छ । तोकिएको समयसीमा २८ गतेभित्रै सबै समितिबाट प्रतिवेदन प्राप्त हुनेमा हामी विश्वस्त छौँ,’ उनले भने, ‘समितिहरूबाट प्राप्त हुने निष्कर्ष, सुझाव र सिफारिसका आधारमा बसपार्क निर्माणको प्रक्रियालाई अगाडि बढाइने छ ।’

पोखरा बसपार्क निर्माणका लागि २०३२ सालमा अधिग्रहण गरिएको २ सय ५ रोपनी जग्गामध्ये अधिकांश जग्गा अतिक्रमण र विक्री वितरण भइसकेका छन् । केही जग्गा नदीको मापदण्ड र कटानको मारमा परेको छ । अहिले ५० रोपनी हाराहारीमात्रै जग्गा खाली रहेको अध्ययन प्रतिवेदनहरूले देखाएका छन् । तर, पूरा क्षेत्रफलमै बसपार्क बनाउन महानगरपालिकाले तयारी गरेको हो । त्यसकै लागि विक्री भएका जग्गा पनि फिर्ता ल्याउने र सुकुमबासीलाई अन्यत्रै व्यवस्थापन गर्ने योजना अघि सारिएको छ ।

  • के होला २४० विद्यार्थीको भविष्य ?

बसपार्क क्षेत्रमा सुकुमबासीको बसोबासमात्रै छैन । उनीहरूका बालबच्चा पढ्ने एउटा विद्यालय पनि छ- सहारा आधारभूत विद्यालय ।

सुकुमबासी र भाडामा बसोबास गरिरहेकाहरूले अहिले धमाधम घर खाली गर्ने क्रम सुरु भएको छ । तर, स्कुल नियमित चलिरहेको छ । धेरैको चासो उक्त विद्यालयको स्थानान्तरणमा छ ।

३० वर्षअघि पोखरा बसपार्क क्षेत्रभित्रै स्थापना भएको सहारा आधारभूत विद्यालय ८ कक्षासम्म चल्छ । उक्त विद्यालयमा अहिले करिब २४० जना विद्यार्थी पढ्छन् । त्यहाँ ८ जना प्रावि दरबन्दीका शिक्षक छन् ।

‘सहारा पोखरा नगर क्षेत्रभित्र धेरै विद्यार्थी हुने आधारभूत स्कुल हो,’ महानगरका शिक्षा महाशाखा प्रमुख हेमराज आचार्यले भने, ‘त्यहाँ पढ्ने बालबालिकाहरू बसपार्क क्षेत्रका मात्र चाहिँ छैनन् ।’

बसपार्क क्षेत्र खाली गराउँदा विद्यालय सरे पनि विद्यार्थीको व्यवस्थापनको तयारी महानगरले गरिसकेको उनले सुनाए । ‘विद्यार्थीको मनोवैज्ञानिक त्रास र असुविधा नहोस् भन्ने कुरामा हामी गम्भीर छौँ,’ उनले भने ।

सहारा स्कुल त्यहाँका सुकुमबासीहरुलाई व्यवस्थापन गर्ने ठाउँ वा बसपार्क नजिककै जग्गामा सार्ने तयारी गरिएको बताइएको छ । सोही विद्यालयमा निर्वाचन आयोगले मतदान स्थल बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप