आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?

आइतबार, २४ जेठ २०८३, १८ : ०६
आइतबार, २४ जेठ २०८३

सारांश

  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री पदबाट आफ्नो बहिर्गमनको विषयमा पार्टीबाट त्यस्तो केही निर्देशन नआएको बताएकी छन् ।
  • पत्रकारहरूले मन्त्री पदबाट बिदा हुने विषयमा प्रश्न गर्दा मेहताले मिडियामा आएको कुरा बढी थाहा होला, आफूलाई आधिकारिक निर्देशन थाहा नभएको बताइन् ।
  • मन्त्री मेहताले ७२ दिनपछि पहिलो पटक पत्रकार सम्मेलन गरेकी थिइन् र एक सय बुँदा पूरा गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताइन् ।

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री पदबाट आफ्नो बहिर्गमनको विषयमा पार्टीबाट त्यस्तो केही निर्देशन नआएको बताएकी छन् । 

आइतबार मन्त्रालयमा पत्रकारहरूसँगको छलफलका क्रममा मन्त्री मेहताबाट मन्त्रालयबाट बिदा हुने विषयमा त्यस्तो आधिकारिक निर्देशन प्राप्त नभएको बताएकी हुन् । 

‘मन्त्रीबाट बिदा हुन लाग्नुभएको हो ?’ भन्ने पत्रकारहरूको प्रश्नमा स्वास्थ्य मन्त्री मेहताले भनिन्, ‘अब मिडियामा आएको कुरा हजुरहरूलाई बढी थाह होला । आधिकारिक त्यस्तो केही निर्देशन थाहा छैन ।’ मेहतासहित केही मन्त्री फेरिन लागेको चर्चा चलिरहेका बेला पत्रकारले उनलाई यसबारे प्रश्न गरेका थिए । 

मेहताले मन्त्री भएको ७२ दिनपछि पहिलो पटक  आइतबार पत्रकार सम्मेलन गरेकी थिइन् । पत्रकार सम्मेलनमा पत्रकारहरूले स्वास्थ्यका विषयमा प्रश्नहरू गरे । तर, ३ मिनेट ४३ सेकेन्ड सम्बोधन गरेकी मन्त्री मेहताले सबै प्रश्नको जबाफ दिइनन् । भनिन्, ‘तपाईंहरुबाट आज सुझाव लिएँ । हाम्रो मेन टार्गेट भनेकै एक सय बुँदालाई पूरा गर्ने हो । सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा एक सय बुँदा पूरा गर्न केन्द्रित भइरहेका छौँ ।’

समय समयमा बैठक राख्नुपर्नेमा आफूहरूको ध्यान नभएको बताइन् । पत्रकारहरूमाझ मन्त्री मेहताले भनिन्, ‘यो हाम्रो अन्तिम होइन । अब निरन्तर रूपमा छलफल गर्नेनै छौं । अब १५ दिनमा अथवा एक महिनामा यसरी हामीले भेट्ने नै छौँ । विशेष आज मैले भन्न केही नै चाहेन । यो सुझावका लागि थियो ।’ मन्त्रालयले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताइन् । शासकीय सुधारको एक सय बुँदा मध्ये स्वास्थ्य क्षेत्रमा भइरहेको प्रगतिबारे छिट्टै नै जानकारी दिने धारणा राखिन् ।

मन्त्री मेहताले मन्त्रालयमा प्राप्त भएका गुनासोलाई सम्बोधन गर्दै जाने पनि बताइन् । पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रवक्ता यशोदा अर्याल सहितका अधिकारीको उपस्थित रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप