आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो

आइतबार, २४ जेठ २०८३, १७ : ५०
आइतबार, २४ जेठ २०८३

सारांश

  • बुटवलको चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक निर्माणको म्याद दोस्रो पटक असार १० गतेसम्म थप गरिएको छ।
  • नदीजन्य निर्माण सामग्रीको अभावले काम प्रभावित भएको र ठेकेदारलाई अन्तिम अवसरका रूपमा म्याद थप गरिएको छ।
  • यो सडकलाई ६ लेनको आधुनिक सडकका रूपमा विस्तार गर्ने लक्ष्य छ।

बुटवल । बुटवलको चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक निर्माणको म्याद दोस्रो पटक थप गरिएको छ।

सडक डिभिजन कार्यालय बुटवलका अनुसार निर्माण कम्पनी ‘बावुल दर्शन मालिका जेभी’लाई असार १० गतेसम्मका लागि म्याद थप गरिएको हो। उक्त कम्पनीसँग भ्याटसहित करिब ३३ करोड रुपैयाँमा २०८१ असोज १८ गते ठेक्का सम्झौता भएको थियो।

कार्यालयकी सूचना अधिकारी शुभेच्छा सारुका अनुसार हालसम्म सडकको करिब ६० प्रतिशत भौतिक प्रगति भएको छ। सम्झौताअनुसार काम २०८२ असोजभित्र सम्पन्न हुनुपर्ने भए पनि समयमै निर्माण कार्य नसकिएपछि पहिलो पटक चैत १२ गतेसम्म म्याद थप गरिएको थियो। त्यसपछि हालै क्षेत्रीय कार्यालय पोखराबाट पुनः म्याद थपको अनुमति दिइएको हो।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख नवराज बास्तोलाले म्याद थप भएसँगै निर्माण कार्य पुनः सुरु भएको बताए। उनले नदीजन्य निर्माण सामग्रीको अभावका कारण काम प्रभावित भएको उल्लेख गर्दै असार २० गतेभित्र जसरी पनि काम सम्पन्न गर्नुपर्ने, अन्यथा ठेक्का रद्द गर्न सकिने चेतावनी दिए।

बास्तोलाका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पनि सडक निर्माण छिटो सम्पन्न गर्न विशेष चासो दिएका छन्। ठेकेदारलाई अन्तिम अवसरका रूपमा म्याद थप गरिएको उनले रातोपाटीलाई बताए।

यो सडकलाई ६ लेनको आधुनिक सडकका रूपमा विस्तार गर्ने लक्ष्यसहित २०७३ चैत १७ गते ‘कञ्चनजङ्घा–बिरुवा जेभी’सँग ठेक्का सम्झौता गरिएको थियो। तर उक्त कम्पनीले आठ पटकसम्म म्याद थप गर्दा पनि काम सम्पन्न नगरेपछि २०८१ वैशाखमा ठेक्का रद्द गरी नयाँ ठेक्का ‘बावुल दर्शन मालिका जेभी’लाई दिइएको थियो। तर नयाँ ठेकेदारसँग पनि पटक–पटक म्याद थप गर्नुपर्ने अवस्था आएको छ।

सडक आयोजनाअन्तर्गत साढे १० मिटर चौडाइको मुख्य लेन, ७ मिटर चौडाइको सर्भिस लेन, ३ मिटर चौडाइको फुटपाथ तथा साढे २ मिटर चौडाइको हरित क्षेत्र (ग्रीन बेल्ट) सहितको आधुनिक सडक संरचना निर्माण गर्ने योजना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप