बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

शहिद लखन गाउँपालिकाले ल्यायो साढे ६३ करोडको बजेट

बुधबार, १० असार २०८३, १७ : ५९
बुधबार, १० असार २०८३

पोखरा । गोरखाको शहिद लखन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६३ करोड ४७ लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

उपाध्यक्ष इन्दिरा तिवारीले बुधबार चालूतर्फ ४९ करोड ५९ लाख र पुँजीगतमा १३ करोड ६६ लाखको बजेट गाउँ सभामा प्रस्तुत गरेकी हुन् ।

शहिद लखनको प्रमुख आयस्रोत सङ्घ सरकारको अनुदानमा निर्भर छ । सङ्घबाट ४३ करोड ३८ लाख र प्रदेशबाट २ करोड ९० लाख प्राप्त हुने अनुमान पालिकाको छ । 

दुवै सरकारबाट राजस्व बाँडफाँट शीर्षकमा १० करोड ९० लाख प्राप्त हुने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए । उनका अनुसार, आन्तरिक स्रोत र चालू वर्षको बैंक मौज्दात ६ करोड २८ लाख अनुमान गरिएको छ ।

सबैभन्दा ठुलो रकम पूर्वाधार विकास क्षेत्रमा छुट्याइएको छ । यसमा १० करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको हो ।

गाउँपालिकाको दिगो विकास र सहज आवगमनका लागि सडक तथा यातायातको स्तरोन्नति, भवन तथा सार्वजनिक संरचना निर्माण, सूचना प्रविधिको विस्तार एवं सम्पदा संरक्षणका लागि जोड दिएको अध्यक्ष रमेश थापाले जानकारी दिए ।

सामाजिक विकास क्षेत्रमा ६ करोड ५६ लाख, आर्थिक विकासमा १ करोड ३९ लाख र सुशासन तथा विपद् व्यवस्थापनमा १ करोड ६९ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ । पालिकाले शैक्षिक गुणस्तर सुधार तथा विद्यालय पूर्वाधारका लागि २ करोड ४० लाख ४० हजार रुपैयाँ, स्वास्थ्य सेवा सुदृढीकरणका लागि २ करोड ४९ लाख रुपैयाँ, युवा तथा खेलकुदका लागि २४ लाख रुपैयाँ र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ १ करोड ७ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष थापाले सुनाए ।

गाउँपालिकालाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि ७३ लाख रुपैयाँ, पशुपालक विकासका लागि ४१ लाख रुपैयाँ र पर्यटन प्रवर्द्धनका लागि २५ लाख रुपैयाँ व्यवस्था गरिएको छ । विपद् व्यवस्थापन कोषका लागि ४५ लाख रुपैयाँ, श्रम तथा रोजगारी प्रवर्द्धनका लागि ३० लाख रुपैयाँ र कानुनी साक्षरताका लागि ११ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

पालिकाले दैनिक प्रशासनिक कार्य, सार्वजनिक सेवा प्रवाह र संस्थागत व्यवस्थापनका लागि १२ करोड ८८ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप