बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट (पूर्णपाठ)

चालु आवको तुलनामा ३२ करोडले वृद्धि, उपमहानगर बनाउने प्रमुख लक्ष्य
बुधबार, १० असार २०८३, १५ : ५०
बुधबार, १० असार २०८३

सारांश

  • वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ७१ करोड २ लाख ७२ हजारको बजेट प्रस्तुत गरेको छ ।
  • यस बजेटमध्ये ६४ प्रतिशत अर्थात् ३ अर्ब २ करोड ७० लाख विकासतर्फ र १ अर्ब ६८ करोड ३१ लाख चालुतर्फ विनियोजन गरिएको छ ।
  • नगरप्रमुख मोहनमाया ढकालले पेस गरेको नीति कार्यक्रमको प्रमुख लक्ष्य वीरेन्द्रनगरलाई उपमहानगर बनाउनु रहेको छ ।

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब बढीको बजेट ल्याएको छ ।

बुधबार १९ औँ नगर सभामा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि ४ अर्ब ७१ करोड २ लाख ७२ हजारको बजेट अनुमान प्रस्तुत गरे ।

जुन बजेट चालु आर्थिक वर्षको तुलनामा ३२ करोड ७५ लाखले बढी हो । चालु आर्थिक वर्षका लागि ४ अर्ब ३८ करोडको बजेट ल्याइएको थियो ।

आगामी वर्षका लागि खनालले प्रस्तुत गरेको कुल बजेटमध्ये ६४ प्रतिशत हिस्सा अर्थात् ३ अर्ब २ करोड ७० लाख रुपैयाँ विकासतर्फ (पुँजीगत) विनियोजन गरिएको छ भने चालुतर्फ १ अर्ब ६८ करोड ३१ लाख विनियोजन गरिएको छ । 

खर्च बेहोर्ने स्रोतमा सङ्घीय वित्तीय समानीकरण अनुदानबाट २४ करोड ६० लाख, सङ्घीय सशर्त अनुदानबाट २ अर्ब ६७ करोड ९६ लाख, सङ्घीय राजस्व बाँडफाँट २१ करोड ३६ लाख ४७ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ३ करोड ५३ लाख ३५ हजार, प्रदेश सशर्त अनुदानबाट  ५० करोड ३५ लाख ७२ हजार र प्रदेश राजस्व बाँडफाँट ४४ लाख ११ हजार राखिएको छ ।

यस्तै, सङ्घीय तथा प्रदेशको समपूरक विशेष अनुदान ४ करोड ५९ लाख, स्थानीय राजस्व बाँडफाँट १८ करोड तथा नगरपालिकाको आन्तरिक आयबाट ३३ करोड ६ लाख ६५ हजार रुपैयाँ खर्च बेहोर्ने स्रोतमा राखिएको छ ।

यस्तै, चालु आर्थिक वर्षको बचत रकमबाट ३ करोड ९३ लाख ५७ हजार र सामाजिक सुरक्षा अनुदानबाट ३४ करोड खर्च बेहोरिने उपप्रमुख खनालले बताए ।

आगामी बजेट शीर्षकगत कार्यक्रम अन्तर्गत तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि ३४ करोड, खानेपानी सुशासन तथा पूर्वाधार प्रवर्द्धन कार्यक्रम म्याचिङ फण्ड भेरी पम्पिङ आयोजना सञ्चालन व्यवस्थापन एवं सहकार्यका लागि १८ करोड, वडा स्तरीय योजना तथा कार्यक्रमका लागि १६ करोड ६७ लाख र विभिन्न शाखा नगर स्तरीय आयोजना कार्यक्रम सञ्चालनका लागि १४ करोड ५० लाख विनियोजन गरिएको खनालले बताए ।

‘सामाजिक सुरक्षा कार्यक्रमका लागि ३४ करोड, नगरका प्रमुख मोहनमाया ढकालले पेस गरेको नीति कार्यक्रमका लागि सङ्घीय तथा प्रदेश र सशर्त सहित नगर स्तर क्षेत्रका कार्यक्रमहरू सञ्चालन गर्न ३ अर्ब ४४ करोड ८५ लाख ७२ हजार विनियोजन गरेको छु,’ खनालले भने।

सभामा नगरप्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रममा प्रमुख लक्ष्य वीरेन्द्रनगरलाई उपमहानगर बनाउने राखिएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप