कोशीकी सांसद निर्मला लिम्बूलाई हटाएर कसलाई सांसद बनाउँदैछ जसपा ?
सारांश
- जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बूलाई दल विभाजनमा संलग्न भएको आरोपमा पदमुक्त गर्ने तयारी गरेको छ ।
- सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिकता दिएपछि अशोक राई समूहमा लागेकी लिम्बूलाई हटाउन लागिएको हो ।
- निर्मला लिम्बूलाई हटाएपछि समानुपातिक बन्द सूचीको दोस्रो नम्बरमा रहेकी विराटनगरकी कुन्ता राई सांसद बन्ने योजनामा जसपा छ ।
विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बूलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले पदमुक्त गर्ने तयारी गरेको छ । लिम्बूलाई दल विभाजनमा संलग्न भएको र पार्टीको निर्देशनविपरीत कार्य गरेको आरोप लागेको जसपा कोशीका अध्यक्ष दिपक याख्खाले बताए ।
लिम्बू जसपा विभाजन हुँदा अशोक राईको पार्टीमा लागेकी थिइन् । उनले राई नेतृत्वको समूहले पार्टी फुटाएर नयाँ दल गठन गर्दा सनाखतसमेत गरेकी थिइन् । सर्वोच्च अदालतले पार्टी विभाजनको विवादमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको पक्षमा फैसला सुनाएपछि लिम्बूलाई हटाउन लागिएको हो । गत बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको पूर्ण इजलासले यादव नेतृत्वको जसपा नेपाललाई नै आधिकारिकता दिने गरी रिट जारी गर्ने निर्णय सुनाएको थियो ।
निर्वाचन आयोगले राईको समूहलाई नयाँ दलको रूपमा मान्यता दिएको निर्णयलाई चुनौती दिँदै यादवले सर्वोच्चमा रिट दायर गरेका थिए । अदालतको यो फैसलासँगै अब यादव नेतृत्वको पार्टीले आफ्ना पुराना संरचना र निर्णयहरूलाई पुनः सक्रिय बनाउनुका साथै अर्को पक्षमा लागेका जनप्रतिनिधिहरूमाथि कानुनी डण्डा चलाउने बाटो खुलेको छ । लिम्बू कोशी प्रदेशसभामा जसपा नेपालको तर्फबाट निर्वाचित एकमात्र सांसद हुन् ।
राई नेतृत्वको समूहले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ ।
प्रदेशका अध्यक्ष याख्खाले सांसद लिम्बूलाई अनुशासनको कारबाही गरी हटाउने निश्चित रहेको बताए । ‘हामी अहिले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ कुरेर बसिरहेका छौँ,’ याख्खाले भने, ‘फैसलाको पूर्ण पाठ आउनेबित्तिकै हामी निर्वाचन आयोगमा पत्र पठाउँछौँ । उहाँलाई हटाएपछि आयोगमा बुझाइएको समानुपातिक बन्द सूचीको दोस्रो नम्बरमा रहेका उम्मेदवारलाई सांसदका लागि सिफारिस गर्ने हाम्रो योजना छ ।’
विराटनगरकी कुन्ता राई सांसद बन्ने
प्रदेश अध्यक्ष याख्खाले भनेअनुसार अब विराटनगर–१२ की कुन्ता राई सांसद बन्ने पक्का भएको छ । राई जसपा नेपालकी केन्द्रीय सदस्य हुन् । तत्कालीन एमालेका उपाध्यक्षसमेत रहेका राईले नेकपा एमाले विभाजन गर्दै २०६९ मा संघीय समाजवादी पार्टी गठन गरेपछि कुन्ता पनि सोही पार्टीमा आबद्ध भएकी थिइन् ।
त्यसपछि राई र यादवबिच पार्टी एकता गर्दा उनी पनि एकतापछि बनेको जनता समाजवादी पार्टीमा आबद्ध भइन् । सो पार्टीको विराटनगर समिति सदस्य, जिल्ला समिति सदस्य हुँदै उनी केन्द्रीय सदस्य बनेकी हुन् ।
आफू राजनीतिकसँगसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशील रहेको बताउँदै उनले आफू सांसद बन्ने विषयमा ढुक्क रहेको बताइन् । ‘बन्द सूचीमा १ नम्बरमा उहाँ (निर्मला लिम्बू) हुनुहुन्थ्यो । दोस्रो नम्बरमा मेरै नाम छ । पार्टीले उहाँलाई कारबाही गरेर मलाइ नै पठाउँछ भन्नेमा म विश्वस्त छु,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा पहिरोले गाडी पुरिँदा चालकको मृत्यु
-
मतदानको प्रतीक्षामा रास्वपा प्रतिनिधि (तस्बिरहरू)
-
पूर्वाधार, शिक्षा र कृषिलाई प्राथमिकता दिँदै रुपन्देहीका पालिका
-
धौलागिरिमा ४८ करोड ५२ लाखको बजेट पारित
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण