बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
मकवानपुरका स्थानीय तहको बजेट

मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि

बुधबार, १० असार २०८३, २० : १९
बुधबार, १० असार २०८३

हेटौँडा । मकवानपुरका ९ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि बजेट प्रस्तुत गरेका छन् । मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले आगामी वर्षको लागि बजेट सार्वजनिक गरेका हुन् ।

मकवानपुरका सबै स्थानीय तहले संघीय र प्रदेश सरकारको अनुदानलाई मुख्य आम्दानीको स्रोत मान्दै स्थानीय आवश्यकता अनुसारका योजनाहरू समेटेर बजेट सार्वजनिक गरेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहले बजेट सार्वजनिक गरेका हुन् । राक्सिराङले आगामी वर्षको बजेट तयारी नपुगेको भन्दै असार २२ मा बजेट ल्याउने भएको छ ।

बागमती गाउँपालिकाले गत असार ७ मा बजेट ल्याएको हो भने थाहा नगरपालिकाले ८ गते र हेटौंडा उपमहानगपालिका, इन्द्रसरोवर तथा भीमफेदी गाउँपालिकाले ९ गते बजेट ल्याएका हुन् । आज असार १० मा भने मनहरी, कैलाश, मकवानपुरगढी, बकैया गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।

bakaiya budget

प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडाले सहत सबै नगरपालिका र गाउँपालिकाहरूले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेका हुन् । हेटौंडाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो । हेटौंडाले बजेट चालु आर्थिक वर्षको तुलनामा ५ करोड रुपैयाँले कम हो ।

उपमेयर राजेश बानियाँले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासका लागि ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ भने ‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’ र ‘उज्यालो सहर’ जस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको छ । हेटौंडाले आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।

मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा १० करोड ८५ लाख रुपैयाँले बजेट वृद्धि गरेका छन् । मनहरीले आगामी वर्षका लागि ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ । उपाध्यक्ष सीता पुलामी मगरले प्रस्तुत गरेको बजेटको सबैभन्दा ठूलो हिस्सा पूर्वाधार विकासमा ३४ करोड ९१ लाख रुपैयाँ छुट्याइएको छ । मनहरीले आम्दानीको मुख्य स्रोत नदीजन्य पदार्थ (दहत्तर–बहत्तर) को बिक्रीलाई मानेर २६ करोड ७४ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।

यसैगरी, थाहा नगरपालिकाले आगामी वर्षका लागि ९० करोड ९७ लाख ४४ हजार रुपैयाँको बजेट नगरसभाबाट सर्वसम्मत पारित गरेको छ । नगर उपप्रमुख भरत गोपालीले पेश गरेको बजेटमा कृषि उत्पादन वृद्धि, स्थानीय सडक पूर्वाधार, र पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिइएको छ ।

बकैया गाउँपालिकाले ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष भक्त बहादुर खत्रीले प्रस्तुत गरेको बजेटमा करार कर्मचारीको पारिश्रमिकमा १० प्रतिशत वृद्धि गर्ने र उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने घोषणा गरिएको छ । बकैयाले शिक्षा र स्वास्थ्यमा पनि उल्लेख्य बजेट छुट्याएको छ ।

भीमफेदी गाउँपालिकाले ८३ करोड १ लाख ६२ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । भीमफेदीले कोदो खेती प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी बनाउन ३३ लाखभन्दा बढी रकम खर्चिएको समीक्षा गर्दै आगामी वर्ष पनि यसलाई निरन्तरता दिने भएको छ ।

बागमती गाउँपालिकाले ७३ करोड २० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ, जसमा खेलकुद र कृषि क्षेत्रलाई महत्त्वका साथ अघि बढाएको छ । बागमतीले फुटबल एकेडेमी र गोल्डकपका लागि ९० लाख तथा दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदानका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मकवानपुरगढी गाउँपालिकाले ७२ करोड ७५ लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष मानकुमारी पाख्रिनले प्रस्तुत गरेको बजेटमा ‘स्मार्ट कृषि’, रैथाने बाली संरक्षण र गढी दरबार क्षेत्रको पर्यटन विकासलाई मुख्य आधार बनाइएको छ । मकवानपुरगढीले सामाजिक विकासतर्फ सबैभन्दा बढी ३२ करोड १ लाख रुपैयाँ विनियोजन गरेको छ ।

मकवानपुरको विकट कैलाश गाउँपालिकाले ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको छ । उपाध्यक्ष बालकुमार मल्लले प्रस्तुत गरेको बजेटले ‘जिरो होम डेलिभरी’ नीति र वीपी स्मृति कैलाश आधारभूत अस्पतालमा चिकित्सक तथा जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिएको छ । 

kailash gau budget

जिल्लाकै सबैभन्दा कम आकारको बजेट इन्द्रसरोवर गाउँपालिकाले सार्वजनिक गरेको छ । इन्द्रसरोवरले ४२ करोड २ लाख ३० हजार रुपैयाँको बजेट ल्याउँदै कुलेखानी जलाशयलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन गर्ने नीति लिएको छ । उपाध्यक्ष उमा लामाले प्रस्तुत गरेको बजेटमा होमस्टे प्रवद्र्धन, मत्स्यपालन र बेमौसमी तरकारी खेतीलाई समृद्धिको आधार बनाइएको छ । इन्द्रसरोवरले काठमाडौं जोड्ने छोटो दूरीका सडकहरूको स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखेको छ ।

hetauda budget (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप