निष्ठा र नियतिका घाउ !
सारांश
- एक जना शिक्षकको राजनीतिक निष्ठा र उपेक्षाको भोगाईले लेखकलाई राजनीतिप्रति प्रश्न गर्न बाध्य तुल्याएको छ ।
- लेखकले बाल्यकाल बिताएको दाह्रेगौँडो र त्यहाँका सम्झनाहरूलाई सम्झँदै जीवनको अर्थ खोजेका छन् ।
- नियतिको सिकार बनेकी एक दिदीसँगको भेटले लेखकलाई समाज र राजनीतिप्रति थप चिन्तित बनाएको छ ।
‘जेन जी’ आन्दोलनपछि देशमा निर्वाचनको घोषणा भइसकेको थियो । चुनाव आउन केही दिनमात्र बाँकी थियो । म काभ्रे जिल्लाको मेरो घरमा थिएँ । अपराह्नतिर मलाई भेट्न मैले पढेको तत्कालीन प्राथमिक विद्यालयका एक जना आदरणीय शिक्षक लौरो टेक्दै मेरो घरमै आइपुग्नुभयो ।
पहिला सरको व्यक्तित्व सिनेमाको नायकजस्तै थियो, साथै निडर, बौद्धिक र प्रतिभावान पनि मानिनुहुन्थ्यो । अनुशासनको मामिलामा भने निकै कडा हुनुहुन्थ्यो, त्यसैले पढाइमा मन नलगाउने विद्यार्थीहरूले उहाँलाई मन पराउँदैनथे ।
म सामान्य विद्यार्थी थिएँ । यदाकदा बाल-बिजाइँ पनि गर्थें । मलाई पनि सरले मन पराउनुहुन्न जस्तो लाग्थ्यो; उहाँको अगाडि पर्नै डर लाग्थ्यो । सकेसम्म भेट्नै नपरे हुन्थ्यो जस्तो लाग्थ्यो, तर हाम्रो गाउँ एउटै थियो । मेरो प्राथमिक शिक्षा पूरा भएपछि पनि सरसँग भेटघाट त भइरहन्थ्यो, तर ज्यादै संक्षिप्त र औपचारिक मात्र हुने गर्थ्यो ।
म अध्ययनको क्रममा गाउँबाट अन्यत्र गएँ । त्यसपछि भने त्यति भेटघाट हुन छोड्यो । समय बिस्तारै हिँड्दै गयो । जसै म परिपक्व हुँदै गएँ, सरप्रतिको मेरो दृष्टिकोण पनि बदलिँदै गयो । तत्कालीन समयमा राज्य पक्षले दिने गरेका हैरानीका बाबजुद स्कूलको शैक्षिक उन्नयनमा सरले पुर्याउनुभएको योगदानको बारेमा बुझ्दै गएपछि उहाँप्रतिको सम्मान चुलिँदै गयो । हुन त सीमारहित मानिस त कोही पनि हुँदैन, सरका पनि सीमाहरू त होलान्, तथापि म सरलाई असीम श्रद्धा गर्छु ।
सर शिक्षण कर्ममा मात्र सीमित हुनुहुन्नथ्यो । २०४६ सालअघिको भूमिगत कालदेखि नै उहाँ राजनीतिमा पनि होमिनुभएको थियो । समयक्रममा देशमा ठुला-ठुला राजनीतिक परिवर्तन भए, पटक-पटक उहाँको पार्टीले सरकार बनायो । सरसँगै पार्टी सदस्यता लिएका र उहाँले नै राजनीतिक प्रशिक्षण दिएका धेरै अनुज मन्त्री, सांसद र महत्त्वपूर्ण पदहरूमा पुगे, तर सरले केही पनि पाउनुभएन, तथापि पार्टीबाटै विभेद, अपमान र उपेक्षाले निरन्तर अभिशप्त भइरहँदा पनि उहाँको राजनीतिक निष्ठा कहिले पनि डगमगाएन । सदा सर्वथा उहाँ पार्टी र विचारप्रति प्रतिबद्ध रहिरहनुभयो ।
***
मैले सरलाई अभिवादन गरेँ, स्वागत गरेँ । कुर्सीमा आसीन गराएँ । सरको श्वास बढेको थियो, केहीबेर उहाँ बोल्न सक्नुभएन । अलि सहज भएपछि मलाई सोध्नुभयो, 'तपाईं कहिले आउनुभएको हो ?'
सरले प्रयोग गर्नुभएको त्यो आदरार्थी शब्द मैले ग्रहण गर्न सकिनँ । विनम्रतापूर्वक असहमति जाहेर गर्दै उहाँलाई नै प्रतिप्रश्न गरेँ, 'तपाईंकै आँखा अगाडि हुर्केको बच्चा त हो नि म ! किन तपाईं भन्नुभएको मलाई सर ?'
उहाँले कुनै प्रतिक्रिया जनाउनुभएन । दुवै हातले आफ्नो अनुहार पुछ्नुभयो । त्यसक्रममा मैले सरका आँखा टिलपिलाएको देखेँ, तर ती रसिला आँखा मेरो प्रश्नको भावनात्मक उभारले भरिएका थिए वा कुनै शारीरिक असङ्गतिले, त्यसको मैले परख गरिनँ; प्रसङ्ग अरू औपचारिक कुराहरूतिर मोडेँ ।
त्यस दिन हामीले सँगै बसेर दही खायौँ । घरायसी कुरा पनि गर्यौँ । सरले राजनीतिका कुरा निकाल्नुभयो र अप्रत्यक्ष रूपमा मसँग भोट पनि माग्नुभयो । हुन त त्यो अस्वाभाविक पनि थिएन, तर जीवनको चरम उत्तरार्द्धमा पनि सरको त्यो हदसम्मको पार्टी प्रेम देखेर भने मलाई आश्चर्य ला ग्यो। उहाँले भोटको कुरा गर्दैगर्दा मेरो मनमा आएको थियो- 'राजनीतिले नागरिकलाई समुन्नत जीवनस्तर दिने, देशमा सुशासन, विकास, समृद्धि ल्याउनु पर्ने होइन ? यतिका वर्षसम्मको उपलब्धि खोइ त ? अब पनि केवल दर्शन र सिद्धान्तका अमूर्त कुराहरू मात्रै गरेर जनता भुलाउन सकिन्छ र ?'
तर मैले केही पनि भनिनँ; मेरो सरप्रतिको अगाध श्रद्धाले त्यो टर्रो प्रश्न गर्ने अनुमति दिएन । कुराकानी चल्दै गयो । सरले आफ्नो जीवनका राजनैतिक आरोह-अवरोहका बारेमा पनि बताउनु भयो, मैले चाख मानेर चुपचाप सुनिरहेँ । छुट्ने बेलामा उहाँले भावुक भएर भन्नुभयो, ‘अब एक पटक मलाई हाम्रो पार्टीको सरकार बनेको हेरेर मर्न मन छ…’
म निःशब्द भएँ । भावुक भएँ । हामी बिदाबारी भयौँ । सर खुट्टा खोच्याउँदै जानु भयो । मैले ओझेल नपरुन्जेलसम्म उहाँलाई हेरिरहेँ र मनमनै भने- ‘कस्तो विडम्बना सर ! तपाईंले जीवनभरि निष्ठा बोकेर हिँड्नुभयो, तर हाम्रो राजनीतिले कहिल्यै तपाईंहरूको निष्ठा बोकेन । पद, प्रतिष्ठा र पैसाबाहेक हाम्रो राजनीतिले केही पनि देखेन ! तपाईंका ती आदर्श सपनाहरू कहिले पूरा होलान् ? तपाईंकै जीवनकालमा कि फेरि कुनै अर्को युगमा ?’
मेरो त्यो मौन प्रश्न मैले सरलाई नै गरेको थिएँ, तर त्यसले कुनै न कुनै रूपले मसँग पनि सरोकार राख्थ्यो, जसको मसँग कुनै उत्तर थिएन । तीव्र असन्तुष्टि र जिज्ञासामात्रै थियो । जे होस्, त्यसदिन मैले जिल्लामा आफ्नो पार्टीलाई स्थापित गर्न उहाँले गर्नुभएको सङ्घर्ष, त्याग र योगदानको बारेमा धेरै कुराहरू थाहा पाएँ । त्यसपछि उहाँप्रति झन् नतमस्तक भएँ; अन्तर्मनदेखि सलाम गरेँ ।
अन्ततः हाम्रो त्यस दिनको भेट राजनैतिक मात्र भएन, भावनात्मक पनि हुन पुग्यो । त्यसले मेरा बाल्यकालका थुप्रै स्मरणलाई पनि छताछुल्ल पारिदियो । सर हिँडेपछि मेरो अवचेतन मन तिनै स्मृतितर्फ गहिरिँदै गयो । मैले गाडी निकालेँ र केही बेरमै दारेगौँडो पुगेँ- जहाँ हाँस्दै खेल्दै मेरो अबोध बालापन फुलेको थियो ।
***
हो, म त्यतिबेला काठमाडौँ विश्वविद्यालय नजिकको दाह्रेगौँडोमा पुगेको थिएँ । मेरो पूर्वपट्टि सल्लाघारी सुसाइरहेको थियो । दक्षिणपट्टिको जङ्गलमा पनि रूखका पालुवाहरू बयली खेलिरहेका थिए । म टहलिँदै गएँ । अलि पर पुगेर भुइँमा बसेँ । वरिपरि हेरेँ; हरियो गलैँचाजस्तै डाँडोलाई जङ्गली घाँसले ढपक्क ढाकेको थियो । वातावरण मनोरम थियो, उत्साहपूर्ण थियो । तर, किन हो, त्यो दाह्रेगौँडो भने मैजस्तै शान्त, व्याकुल र मौन थियो ।
बिस्तारै म मेरो सुदूर अतीततर्फ खिचिँदै गएँ । उहिले यहाँ दाप्चा, सिन्धुली, रामेछापतिरबाट आउने भरियाहरू भारी बिसाएर सुस्ताउँथे, ढुङ्गाको चुलो लगाएर ढिँडो पकाएर खान्थे र सुसेली हाल्दै थकाइ मेटाएर बाटो लाग्थे । मेरा ती धमिला सम्झना निक्खर हुँदै गए, भावनाको अर्कै संसारमा पुर्याए । म उड्दै गएँ, अकासिँदै गएँ र बालापनको क्षितिजभरि निर्बन्ध फिजारिएँ ।
धैरबेरपछि नजर घुमाएर हेरेँ- एकतिर डाँडोमा केही युवा-युवती फोटो खिच्न व्यस्त थिए, अर्कोतिर सिनेमाको छायाङ्कन भइरहेको जस्तो देखिन्थ्यो । त्यो देखेर अचम्म लाग्यो र मनमनै आफैँलाई भनेँ- ‘ओहो ! अर्कै पो भइसकेको छ अहिले यो दाह्रेगौँडो पनि !’
समय आफ्नै रफ्तारमा थियो । म पुनः मेरै अतीततिर फर्किएँ, सम्झिँदै गएँ- केटाकेटी हुँदा हामी यहाँ गाईबाख्रा चराउन आउँथ्यौँ । ऐँसेलु, चुत्रो, काफल टिपेर खान्थ्यौँ । डन्डीबियो खेल्थ्यौँ । सल्लीपिरमा चिप्लेटी खेल्थ्यौँ । तित्रा, कालिजहरू लखेट्थ्यौँ । ढुकुर, जुरेलीका बच्चा समाएर घर ल्याउँथ्यौँ । कहिलेकाहीँ जङ्गली सुगा पनि फेला पार्थ्यौँ । तिनै मुलायम यादहरूलाई स्पर्श गर्दागर्दै मलाई समयले निकै पछाडि छोडिसकेको अनुभूति भयो र मनमनै आफैँलाई भने- ‘ओहो ! कति छिटो दौडिएछ यो जिन्दगी !’
हुन त म पहिला पनि यहाँ फाट्टफुट्ट आउँथेँ, तर पहिला र अहिलेको आगमनमा धेरै अन्तर छ । आज समयमात्रै बदलिएको छैन, मेरो परिस्थिति र म आफैँ पनि बदलिएको छु । उमेर घर्किँदै छ, कपाल तिलचामल भइसकेको छ । पहिलाको जस्तो समयको दबाब छैन, न मनमा कुनै किसिमको बोझ नै छ । केवल आफ्ना पुराना अनुभूतिहरूसँग समभावमा बाँच्ने गहिरो तृष्णामात्र छ ।
उमेरको यस मोडसम्म आइपुग्दा जिन्दगीमा धेरै कुरा बदलिसकेका हुने रहेछन् । कैयौँ सामाजिक सम्बन्ध टुटिसक्दा रहेछन् । कतिलाई आफैँले जोगाउन सकिँदो रहेनछ, कति अरूका कारणले टुट्दा रहेछन् । पद र प्रतिष्ठा देखेर जोडिन आइपुगेकाहरू पदसँगै छोडेर जाँदा रहेछन् । स्वार्थका सम्बन्धहरू स्वार्थ पूरा भएपछि वा पुरा नहुने देखेपछि टाढिँदा रहेछन् । यस्तो बेलामा मान्छे आफ्ना पुराना पदचापहरू पछ्याउदै जाँदो रहेछ, आफैँ जन्मेको माटोतिर क्रमशः तानिँदो रहेछ ।
जीवनमा धेरै मानिसले मनन नगर्ने एउटा सत्य के रहेछ भने- 'यात्रा जस्तोसुकै लामो होस्, पुगिने आफैँदेखि आफैँसम्म मात्रै रहेछ ! संसार जित्ने विभ्रम पनि कुनै दिन आफ्नै अन्तस्करणमा पुगेर ढल्दो रहेछ । त्यसपछि मात्रै जीवनको वास्तविक अर्थ खुल्दो रहेछ, जुन पहिलेको भन्दा पनि बिछट्टै सुन्दर, शान्त र सौम्य हुँदो रहेछ ।'
निकैबेरसम्म म आफ्नो स्मृति र अनुभूतिको दोसाँधमा उभिएँ । कहिले स्मृतिको आँखाबाट वर्तमानलाई हेरेँ, कहिले वर्तमानबाट आफ्नो विगतलाई चिहाए । यसक्रममा मैले आफ्नै जीवनका थरिथरिका रङ्गहरू देखेँ । कहिले रोमाञ्चित भएँ, कहिले विस्मित भएँ । घाम ओरालो लाग्न थालेपछि विस्तारै त्यहाँबाट बाटो लागेँ ।
गाडी अगाडि बढ्दै गयो, तर म भने दाह्रेगौँडो मै अडिएँ । कहिले टाँकीको रूख चढेर गाईबाख्रालाई स्याउला खसाल्दै गरेको आफ्नै सम्झनामा अल्झिएँ, कहिले खुकुलो कट्टु मास्तिर सार्दै बाख्रा धपाउँदै गरेको आफ्नै लिखुरे छायामा हराएँ । सम्झनाका लस्करहरू मानसपटलमा तँछाडमछाड गरि नै रहे, सबैलाई मायालु स्पर्श गर्दै अगाडि बढ्दै गएँ ।
बीपी राजमार्ग छोडेर सल्लाघारीको बाटोतिर लागेँ र तीनढुङ्गे देवीथानमा पुगेर रोकिएँ । पहिला त्यहाँ ठुला-ठुला तीन वटा ढुङ्गा थिए । स्थानीयहरू तिनलाई साक्षात् देवी मान्थे, पूजाआजा गर्थे । हामी पनि गाईवस्तु हराए भने त्यहीँ गएर प्रार्थना गर्थ्यौँ । अहिले त्यहाँ चिटिक्कको मन्दिर बनेको रहेछ, उक्लिने-ओर्लिने सिँढी पनि बनेछन् । पहिलाभन्दा निकै व्यवस्थित भएको आफ्नो त्यो प्यारो ठाउँ देखेर म प्रसन्न भएँ ।
मन्दिर दर्शन गरेर बाटो लागौँ भन्ने सोच्दै थिए, पाँच-सात वटा बाख्रा धपाउँदै एउटी महिला मेरो अगाडिबाट जाँदै गरेको देखेँ । एउटा हातमा मसिनो लौरो लिएकी, काखीमा निगालोको सानो बिटो च्यापेकी उनलाई चिनेजस्तो पनि लाग्यो, तर यकिन भएन । सोच मग्न भएँ । दिमागमा निकै बल लगाएपछि उनी देवी दिदी हुन् भनेर चिनेँ । चिनेपछि निकै खुसी लाग्यो, तर उनको त्यो जीर्ण काया देखेर भने भित्रभित्रै मन कुँडियो ।
दिदी पर पुगिसकेकी थिइन् । चर्को स्वरले बोलाएँ । उनले फर्केर हेरिन् । म लम्केर नजिकै पुगेँ । एकछिन दुवै जना आश्चर्यमा पर्यौँ । बोल्न सकेनौँ । उनका आँखा रसाउँदै गए । मेरो अवस्था पनि त्यस्तै भयो । त्यो भारी मौनता तोड्दै उनले गह्रौँ आवाजमा भनिन्, ‘बाँचिराखे भेट हुँदो रहेछ है बाबु !’
मेरो वाक् फुटेन, केवल फिका हाँसो हाँसेँ । के भनौँ, कसो गरौँ जस्तो भयो । पहिला उनी चुरोट पिउँथिन्, त्यही कुरा झट्ट सम्झिएँ र खल्तीबाट चुरोटको बट्टा निकालेर उनीतिर बढाएँ । उनले पनि पहिलाकै जस्तो आत्मीय भावले एउटा चुरोट निकालिन् । मैले लाईटर बालिदिएँ । हामी अलि पर गएर सल्लेपिर ओछ्याएर बस्यौँ । उनले चुरोटको लामो सर्को तानिन्, धुवाँ फालिन् र व्यथित भावले सोधिन्- 'पहिला कहिल्यै मलाई सम्झिन्थिस् ? मरिसकी होली कि जिउँदै छे, के भन्ठान्थिस् बाबु ?'
उनको प्रश्न सुनेर म नाजवाफ भएँ, वास्तवमा मलाई उनको त्यति सम्झना त आउँदैनथ्यो, तर पनि मैले उनको मन राख्ने गरी जबाफ दिएँ- ‘के भनेकी दिदी तिमीले ? म बराबर तिम्रो खबर लिन्थेँ नि ! हामी सँगै गोठाला जान्थ्यौँ, तिमी नाइके जस्तै थियौ; कहिले गाली गर्थ्यौ, कहिले माया गर्थ्यौ । भुटेका मकै-भटमास, नरिवल-छोहडा दिन्थ्यौ । तिमी नआएको दिन हामीहरू घरैमा गएर तिमीलाई बोलाउँथ्यौँ... यति प्यारो मानिसलाई पनि कहिल्यै बिर्सिइन्छ र !'
जसै म बोल्दै गएँ, उनको कान्तिहीन अनुहार कालो-कालो हुँदै गयो । अघि रसाएका उनका गहहरू फेरि मेरा शब्दहरूले डम्म भरिए । उनले चुरोटको अर्को लामो सर्को तानिन् र मनको गाँठो फुकाउँदै गइन्- 'के गर्नु बाबु ! जिन्दगी, तैँले-हाम्ले उबेला भाँडाकुटी खेलेको जस्तो हुँदो रहेनछ, बाँच्न त मर्नभन्दा पनि निकै कठिन पो हुँदो रहेछ ...'
दुवै हातले आँसु पुछ्दै उनले भन्दै गइन्, 'बिहेको अर्थ पनि नबुझ्ने उमेरमा माइतीले बाबुभन्दा पनि जेठो मान्छेसँग बिहे गरेर पठाइदिए... बिहे गरेको दुई-चार वर्षमै उनी बितिहाले । कुन बेला मेरो बिहे भयो, कुन बेला विधवा भएँ, मैले पत्तै पाइनँ ! त्यसपछि न घर गरेर खान सकेँ, न माइतीको माया पाएँ... सबैतिरबाट परित्यक्त भएँ । धेरै वर्ष भयो, माइतीले एउटा सानो कटेर बनाइदिएका छन्, त्यसैमा बस्छु । यिनै बाख्रापाठा हेरेर काल पर्खिन्छु ।'
त्यसपछि उनी बोल्न सकिनन् । म पनि स्तब्ध भए । साँझ पर्न लागिसकेको थियो । केहीबेर दिदीलाई सान्त्वना दिएँ र गरुङ्गो मन लिएर बाटो लागेँ । बाटोभरि सर र दिदीलाई मात्र सम्झिरहेँ । दिदीको मायालाग्दो अनुहार, उनका मर्मभेदी शब्दहरूले निकै मर्माहत बनाए । मनमा असीम उदासी बोकेर काठमाडौँ आइपुगेँ ।
कोठामा पुगेर फ्रेस भएँ । लिभिङ रुममा आएँ । जीवनको पल्लो छेउमा खुट्टा लडखडाउँदै स्वाभिमानको सगरमाथा बोकेर हिँडिरहनुभएका सर र नियतिले नाङ्गेझार पारेकी प्यारी दिदीका जीवनका विडम्बनाहरू सम्झिएँ । उनीहरूका मनका गहिरा घाउहरूका अगाडि जागिरे जीवनमा शासन र प्रशासनले बेला बखतमा ममाथि गरेका बलमिच्याइँहरु मलाई निकै गौण लागे ।
रात छिप्पिसकेको थियो । मन थिर थिएन । उठेर बरन्डामा गएँ । वरिपरि हेरेँ-अँध्यारोसँग लड्दै असङ्ख्य गाडीहरू आ-आफ्नो गन्तव्यका लागि सडकमा दौडिरहेका थिए । एकटकले ती सवारी साधनहरूलाई हेरी बसेँ, संवेदना झन् झन् गहिरिँदै गयो र लाचार मनले सोचेँ- जिन्दगी फगत एक सफर ! फरक-फरक यात्रा, फरक-फरक यात्री । बाटो फरक, भोगाइ फरक र अनुभूति फरक । केही भ्रम, केही सत्य र आशैआशमा अल्झिने जीवनहरू ! यहाँ समय फेरिन्छ, सत्ताहरू फेरिन्छन् तर दूषित राजनीति, कुरीतिग्रस्त समाज र पद्धति विहीन राज्यको चरित्र फेरिँदैन । र, निष्ठाका लागि पूरै जीवन समर्पण गरेका सर अनि विवाहका नाममा कलिला हातमा हतकडीले बाँधिएकी देवी दिदीहरूको नियति फेरिँदैन !’
विषादको एउटा लामो सुस्केरा लिएँ र आफैँलाई प्रश्न गरेँ- ‘के समय अझै पनि यसरी नै बग्दै जान्छ ? निष्ठा र नियतिका यी आँसुका मुहानहरू कहिले र कसरी बन्द हुन्छन् ? यी घाउहरू कहिले निको हुन्छन् ?’
उत्तर भेटिनँ । आँखा सडकतिरै थिए, अनगन्ती गाडी उसैगरी दौडिरहेका थिए ।
समाप्त
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण