शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
चलचित्र

चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस

शनिबार, १३ असार २०८३, १६ : ३०
शनिबार, १३ असार २०८३

सारांश

  • चिनियाँ फिल्म ‘डियर यू’ ले सिङ्गापुरमा पहिचान र भाषा नीतिका बारेमा बहस सुरु गरेको छ ।
  • सिङ्गापुर सरकारले म्यान्डारिन भाषालाई प्रोत्साहन दिँदा तेओचेउ जस्ता स्थानीय चिनियाँ भाषाहरू लोप हुने अवस्थामा पुगेको भन्दै आलोचना भएको छ ।
  • स्थानीय भाषामा फिल्म प्रदर्शन गर्न दिनुपर्ने मागपछि सरकारले भविष्यमा अझ लचिलो दृष्टिकोण अपनाउने प्रतिबद्धता जनाएको छ ।

परिवार, आशा र कठिनाइको भावनात्मक कथामा आधारित फिल्म ‘डियर यू’ले यस गर्मीयाममा चीनको बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ । तर यसले चीनबाट हजारौँ किलोमिटर टाढा रहेको सिङ्गापुरमा पहिचानका सम्बन्धमा अप्रत्याशित बहस पनि सिर्जना गराएको छ ।

यो फिल्म लगभग पूर्ण रूपमा तेओचेउ भाषामा छायाङ्कन गरिएको हो । तेओचेउ चीनको चाओसान क्षेत्रको भाषा हो, जुन अहिले पनि दक्षिण–पूर्वी एसियाका चिनियाँ समुदायका पाका पुस्तामाझ बोलिन्छ ।

तर यही महिना यो फिल्म सिङ्गापुरका सिनेमा हलमा प्रदर्शन हुन थालेपछि धेरै दर्शक निराश भए । कारण, अधिकांश प्रदर्शनहरू तेओचेउमा नभई म्यान्डारिन भाषामा डब गरिएका थिए । म्यान्डारिन चीनको साझा भाषा (लिङ्ग्वा फ्राङ्का) हो र अङ्ग्रेजीसँगै सिङ्गापुरका चार आधिकारिक भाषामध्ये एक पनि हो ।

एक चर्चकी कारिन्दा वु सिलिन भन्छिन्, ‘हामी तेओचेउ समुदायका भएकाले यो फिल्म तेओचेउमै हेर्न पाउँदा अझ विशेष अनुभूति हुन्छ ।’

उनले गत साता आफ्नी आमासँग मिलेर फिल्म हेरेकी थिइन् । उनीहरूले तेओचेउ भाषामा उपलब्ध केवल आठवटा विशेष प्रदर्शनमध्ये एउटाको टिकट पाएका थिए । समाचारअनुसार ती सबै टिकट दुई घण्टाभन्दा कम समयमा बिक्री भइसकेका थिए ।

धेरै स्थानीयवासीले प्रश्न उठाएका छन्—जब चीनमा यो फिल्म आफ्नै मौलिक भाषामा प्रदर्शन भइरहेको छ भने, तेओचेउ अझै पनि धेरै पाका चिनियाँ सिङ्गापुरेलीहरूले बोल्ने सिङ्गापुरमा किन त्यसरी प्रदर्शन गरिँदैन ?

यस फिल्मले अनपेक्षित रूपमा सिङ्गापुर सरकारको लामो समयदेखिको भाषानीतिमाथि बहस सुरु गराएको छ ।

14a02490-6fb1-11f1-9d49-f71d5004325f.jpg

सरकारले चिनियाँ मूलका सिङ्गापुरेलीलाई चीनका अन्य भाषा (जसलाई त्यहाँ ‘डायलेक्ट’ भनिन्छ) भन्दा म्यान्डारिन बोल्न प्रोत्साहन दिँदै आएको छ ।

सुरुमा चिनियाँ समुदायलाई एकताबद्ध बनाउने उद्देश्यले सुरु गरिएको यो अभियान यति प्रभावकारी भयो कि केहीको भनाइमा यसले तेओचेउ, होक्कियन, क्यान्टोनिज र हाक्काजस्ता भाषाहरूलाई लगभग जोगाउन नसकिने गरी लोप हुने अवस्थासम्म पुर्‍याइदिएको छ ।

यस विषयमा बढ्दो जनचासोपछि सिङ्गापुरका अधिकारीहरूले पनि प्रतिक्रिया दिएका छन् ।

सोमबार जारी गरिएको विज्ञप्तिमा सिङ्गापुरको सूचना मन्त्रालयले भन्यो, ‘हामीले स्थानीय भाषामा बनेका फिल्महरूलाई सिनेमा हलमा अझ स्वतन्त्र रूपमा प्रदर्शन गर्न दिनुपर्ने माग सुनेका छौँ ।’

मन्त्रालयले भविष्यमा यस विषयमा ‘अझ लचिलो दृष्टिकोण’ अपनाउने प्रतिबद्धता पनि जनाएको छ ।

यसबीच सामाजिक सञ्जालमा धेरैले आफ्नो निराशा व्यक्त गरिरहेका छन् ।

कतिपयले त ‘डियर यू’ तेओचेउ भाषामै हेर्नका लागि छिमेकी देश मलेसिया जाने योजना पनि सार्वजनिक गरेका छन् । सोमबार थप आठवटा प्रदर्शनका लागि करिब पाँच हजार टिकट बिक्रीमा राखिएको थियो, तर स्थानीय सञ्चारमाध्यमका अनुसार ती पनि दुई घण्टाभित्रै सकिए ।

बिहीबार भने तेओचेउ भाषामा थप ५० वटा प्रदर्शन गर्न अनुमति दिइयो ।

धेरै सिङ्गापुरेलीका लागि ‘डियर यू’ आफ्नै विगततर्फ फर्काउने एउटा मिठो–तितो यात्रा बनेको छ, जुन समुद्र पार गरेर नयाँ युगसम्म आइपुगेको एउटा भाषामा सुनाइएको छ । फिल्म ‘डियर यू’ को कथा दक्षिण–पूर्वी एसियातर्फ भएको चिनियाँ आप्रवासनको ऐतिहासिक पृष्ठभूमिमा आधारित छ ।

adfe2fc0-6fb0-11f1-9d49-f71d5004325f.jpg

तर तेओचेउ भाषा नबुझ्ने दर्शकहरू पनि यो फिल्म मौलिक भाषामै हेर्न उत्सुक देखिएका छन् ।

बेइजिङकी ३५ वर्षीया अन्ना झाङ, जो कामका लागि सिङ्गापुर सरेकी हुन्, भन्छिन्, ‘मलाई लाग्छ, कहिलेकाहीँ त्यो भाषाले सिर्जना गर्ने अनुभूति नै खास विषय हुन्छ ।’

उनले उपशीर्षक (सबटाइटल) सहित तेओचेउ भाषामै फिल्म हेरेकी बताइन् ।

उनका अनुसार, उनले अन्य कुनै विदेशी फिल्म हेरेझैँ यो फिल्म पनि मौलिक भाषामै हेरेकी हुन् ।

उनी भन्छिन्, ‘म अनुवाद गरिएका संस्करणहरू राम्रो हुँदैनन् भन्ने पक्षमा होइन । तर मलाई लाग्छ, मौलिक भाषामा केही फरक अनुभूति हुन्छ । डब गरिएको संवाद मूल पात्रबाट आएको जस्तो महसुस हुँदैन ।’

सामान्य बजेट र अधिकांश नयाँ कलाकारको अभिनय रहेको ‘डियर यू’ एउटा दक्षिणी चिनियाँ गाउँका युवाको कथा हो, जो आफ्ना हजुरबुबाको खोजीमा थाइल्यान्ड जान्छ ।

उनका हजुरबुबा सन् १९४८ मा चीनको गृहयुद्धका क्रममा जबर्जस्ती सेनामा भर्ती हुनबाट जोगिन आफ्नो गाउँ छाडेर भागेका थिए ।

लाखौँ मानिसको जीवन अस्तव्यस्त बनाएको त्यस गृहयुद्धपछि उनी १९५० को दशकमा थाइल्यान्ड पुगे र त्यहाँ ट्रिसा (तीनपाङ्ग्रे साइकल रिक्सा) चलाएर जीविका चलाउन थाले ।

उनी अन्य चिनियाँ आप्रवासीहरूसँग एउटा होस्टेलमा बस्थे र आफ्नो गाउँमा रहेका श्रीमती तथा सन्तानलाई सम्झना र विरहले भरिएका पत्रहरू पठाइरहन्थे ।

विशेषगरी तेओचेउ भाषामा प्रस्तुत गरिएको ‘डियर यू’ले पहिचानको मूल प्रश्नलाई छोएको छ ।

किनभने यसको कथा १९औँ शताब्दीदेखि २०औँ शताब्दीको मध्यसम्मको त्यो ऐतिहासिक आप्रवासनसँग जोडिएको छ, जब लाखौँ चिनियाँहरूले समुद्र पार गर्दै जोखिमपूर्ण यात्रा गरेर सिङ्गापुर तथा दक्षिण–पूर्वी एसियाका अन्य स्थानमा बसाइँ सरेका थिए ।

सिङ्गापुरको नेसनल युनिभर्सिटी अफ सिङ्गापुरमा चिनियाँ अध्ययनकी सहप्राध्यापक ली चेर लेङ भन्छिन्, ‘डायलेक्टहरू अर्थात् स्थानीय चिनियाँ भाषाहरू नै सिङ्गापुरका चिनियाँ समुदायको मूल पहिचान हुन् । मेरो विचारमा म्यान्डारिन भनेको मुख्यतः विद्यालयमार्फत सिकाइएको, पछि थपिएको भाषा हो ।’

उनी थप भन्छिन्, ‘यति सानो फिल्मले पनि यति गहिरो प्रभाव पार्ने विषय उठाउनु साँच्चै रोचक लागेको छ ।’

कुनै समय सिङ्गापुरको चिनियाँ समुदायमा यस्ता भाषाहरू व्यापक रूपमा बोलिन्थे ।

सिङ्गापुरको कुल जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढी हिस्सा चिनियाँ मूलका नागरिकको छ ।

तर १९८० को दशकमा सरकारले चिनियाँ मूलका नागरिकलाई विभिन्न स्थानीय भाषाको सट्टा म्यान्डारिन प्रयोग गर्न प्रोत्साहन दिने अभियान सुरु गरेपछि ती भाषाहरू बिस्तारै रेडियो र टेलिभिजनबाट हराउन थाले ।

पछि सिनेमा हलमा पनि ती भाषामा बनेका फिल्महरू म्यान्डारिनमा डब गरिन थाले भने रेडियो र टेलिभिजन कार्यक्रमबाट स्थानीय भाषाहरू हटाइए ।

यो सबै १९६० को दशकमा लागू गरिएको व्यापक द्विभाषिक नीतिको हिस्सा थियो ।

यस नीतिअनुसार सबै सिङ्गापुरेलीले अङ्ग्रेजीसँगै आफ्नो जातीय पहिचानअनुसार निर्धारण गरिएको ‘मातृभाषा’ पनि बोल्नुपर्ने व्यवस्था गरिएको थियो ।

‘स्पिक म्यान्डारिन अभियान’ सुरु भएको समयमा सिङ्गापुरका करिब ७० प्रतिशत नागरिकले घरमा कुनै न कुनै चिनियाँ स्थानीय भाषा (डायलेक्ट) बोल्थे ।

तर सन् २०२० सम्म आइपुग्दा यो सङ्ख्या घटेर केवल ८.७ प्रतिशतमा सीमित भएको थियो ।

आज ती स्थानीय भाषाहरू मुख्यतः घट्दो सङ्ख्यामा रहेका ज्येष्ठ चिनियाँ सिङ्गापुरेलीहरूले मात्र बोल्ने गरेका छन् ।

त्यस समय लागू गरिएका धेरै प्रतिबन्धहरू अहिले पनि कायम छन्, जबकि आज सिङ्गापुरका झन्डै आधा नागरिकले आफूलाई सबैभन्दा सहज लाग्ने भाषा अङ्ग्रेजी भएको बताउने गरेका छन् ।

सन् १९९० को दशकदेखि ‘स्पिक म्यान्डारिन अभियान’ ले आफ्नो ध्यान स्थानीय भाषा बोल्नेहरूमाथिबाट हटाएर अङ्ग्रेजी माध्यमबाट शिक्षित चिनियाँ मूलका सिङ्गापुरेलीहरूलाई म्यान्डारिन प्रयोग गर्न प्रोत्साहित गर्ने दिशामा केन्द्रित गरेको छ ।

गत साता स्थानीय पत्रिका द स्ट्रेट्स टाइम्स मा प्रकाशित दुई जना चलचित्र निर्देशकको संयुक्त पत्रमा भनिएको छ,

‘यस अभियानले आफ्नो उद्देश्य पूरा गरिसकेको छ । यसले म्यान्डारिनलाई चिनियाँ मूलका सिङ्गापुरेलीहरूको साझा भाषा बनाएको छ र स्थानीय भाषाको परम्परागत संरचनालाई समाप्त गरिदिएको छ ।’

उनीहरूले थप लेखेका छन्,

‘आज स्थानीय भाषामा बनेको कुनै फिल्म प्रदर्शन गर्नु भनेको फ्रेन्च वा मलाय भाषाको फिल्म प्रदर्शन गर्नुजत्तिकै सामान्य कुरा हो ।’

त्यसैले उनीहरूले प्रश्न गरेका छन्, ‘“स्पिक म्यान्डारिन अभियान” सफल भएको पुष्टि गर्ने सबैभन्दा राम्रो उपाय यो नियमलाई पूर्ण रूपमा खुकुलो बनाउनु होइन र ?’

उनीहरूका अनुसार यसो गर्नुले चिनियाँ मूलका सिङ्गापुरेली समाजभित्र रहेको सांस्कृतिक विविधतालाई परिपक्व ढङ्गले स्वीकार गरिएको सन्देश पनि दिनेछ । पछिल्लो एक सातादेखि यही विचार सामाजिक सञ्जाल र विभिन्न टिप्पणीहरूमा व्यापक रूपमा दोहोरिएको छ ।

यो बहस राजनीतिज्ञहरूसम्म पनि पुगेको छ ।

विपक्षी सांसद डेनिस टानले फेसबुकमा लेखेका छन्, ‘स्थानीय भाषाहरू हाम्रा पुर्खाहरूको यात्रा, परम्परा र पहिचानका जीवित अभिलेख हुन् ।’

बहस अझै जारी रहने देखिएको छ ।

किनभने दुई जना सांसदले सम्बन्धित निकायसँग फिल्महरूलाई तिनको मौलिक स्थानीय भाषामै प्रदर्शन गर्न सकिने विषयमा प्रश्न उठाइसकेका छन् ।

वु सिलिन भन्छिन्, ‘अहिले वास्तवमा धेरै मानिसले स्थानीय भाषा बोल्नै सक्दैनन् ।’

उनले थप भन्छिन्, ‘मेरो विचारमा अब सरकारले यो नीतिको पुनरावलोकन गर्ने समय आएको छ । यदि उनीहरू हाम्रो संस्कृतिको केही अंश जोगाउन चाहन्छन् भने, यो निकै महत्त्वपूर्ण हुनेछ ।’

तर हराउँदै गएका कुरा केवल भाषाहरू मात्र होइनन् ।

ती भाषासँग जोडिएका सांस्कृतिक परम्पराहरू पनि बिस्तारै हराइरहेका छन् ।

‘डियर यू’ हेर्दा वु सिलिनलाई सबैभन्दा भावुक बनाउने दृश्यहरूमध्ये एउटा तेओचेउ समुदायको एउटा परम्परागत संस्कार थियो, जुन उनले आफैँ पनि आफ्नो जीवनमा अनुभव गरेकी थिइन् ।

जब उनी १५ वर्षकी भइन्, १५ वर्ष पुग्नुलाई तेओचेउ समुदायमा विशेष सांस्कृतिक महत्त्वको उमेर मानिन्छ । उनका आमाबुबाले उनलाई वयस्क जीवनमा प्रवेश गरेको संकेतस्वरूप एउटा विशेष उपहार दिएका थिए ।

तेओचेउ भाषामा यस संस्कारलाई ‘बगैँचा छोड्नु’ भनिन्छ ।

तर गत वर्ष उनकी भतिजी १५ वर्षकी हुँदा भने त्यस्तो कुनै समारोह आयोजना गरिएन ।

यद्यपि पछिल्ला वर्षहरूमा युवा सिङ्गापुरेलीहरू आफ्ना सांस्कृतिक जरा खोज्नतर्फ केही बढी आकर्षित हुन थालेका छन् ।

कतिपयले आफ्ना हजुरबा–हजुरआमाले बोल्ने लोपोन्मुख स्थानीय भाषा सिकिरहेका छन् भने कतिपयले चीनस्थित आफ्ना पुर्खाको गाउँमा जाने भ्रमणको आयोजना गरिरहेका छन् ।

तर नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीकी सहप्राध्यापक टान यिङ यिङ, जसले स्थानीय भाषामाथि अनुसन्धान गर्छिन्, यसले परिस्थितिमा ठूलो परिवर्तन ल्याउनेमा आशावादी छैनन् ।

उनी भन्छिन्, ‘अहिले युवा पुस्ताले ती भाषा सिकिरहेका छन् । उनीहरूले विदेशी भाषा सिकेझैँ रुचिका लागि ती भाषा सिक्न सक्छन् । तर यदि ती भाषा दैनिक जीवनमा कसैले बोल्दैन भने, तिनलाई दीर्घकालसम्म जोगाइराख्न सम्भव हुँदैन ।’

उनका अनुसार ‘डियर यू’लाई लिएर उठेको व्यापक बहस सायद ‘कुनै मूल्यवान् कुरा गुमाएको पीडाप्रतिको सामूहिक शोक’ जस्तै हो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कोह इवे
कोह इवे
लेखकबाट थप