त्रिवि केन्द्रीय विभागमै विद्यार्थी अभाव
सारांश
- त्रिभुवन विश्वविद्यालयका ४४ ओटा केन्द्रीय विभागमा पछिल्लो केही वर्षयता विद्यार्थी संख्या घट्दो क्रममा छ ।
- सेमेस्टर प्रणाली, ८० प्रतिशत हाजिरी अनिवार्य, काम गर्दै पढ्न नमिल्ने वातावरण र शिक्षक संख्या अपुग जस्ता कारणले विद्यार्थी संख्या घटेको त्रिवि अधिकारीहरूको भनाइ छ ।
- मनोविज्ञान र विज्ञान सङ्कायमा विद्यार्थी संख्या स्थिर देखिए पनि मानविकी सङ्कायमा भने विद्यार्थीको आकर्षण घटेको छ ।
काठमाडौँ । २०१६ सालमा स्थापना भएको देशकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयका केही विभागमा पछिल्लो केही वर्षयता विद्यार्थी संख्या घट्दो क्रममा छ । त्रिवि अधिकारीहरूका अनुसार सेमेस्टर प्रणाली र ८० प्रतिशत हाजिरी अनिवार्य हुनुपर्ने लगायतका प्रावधानका कारण विद्यार्थी संख्या घटेको हो ।
भूगोल केन्द्रीय विभागमा कुनै समय स्नातकोत्तर तहको एउटै सेमेस्टरमा ७० जनासम्म विद्यार्थी हुन्थे । तर, अहिले स्नातकोत्तर प्रथम सेमेस्टरमा ४ जना मात्रै विद्यार्थी भर्ना भएका छन् । यस्तै, तेस्रो सेमेस्टरमा १४ जना र एमफिलमा ४ जना विद्यार्थी भर्ना भएको रेकर्ड छ ।
विद्यार्थी संख्या किन घट्यो भन्ने जिज्ञासामा भूगोल केन्द्रीय विभागका मुख्य कार्यालय सहायक ज्ञानुराजा महर्जन भन्छन्, ‘अहिले वार्षिक परीक्षा प्रणाली छैन र हाजिरी अनिवार्य गरिएको छ; मुख्य कारण यही हो ।’ यस विभागमा ११ जना शिक्षक कार्यरत रहेको जानकारी दिँदै महर्जनले थपे, ‘पहिले वार्षिक प्रणाली हुँदा धेरै विद्यार्थीहरू काम गर्दै आफ्नो अनुकूल समयमा कक्षा लिन्थे, जसले गर्दा विद्यार्थीको चाप हुन्थ्यो । हाल सेमेस्टर प्रणाली लागु भएपछि अनिवार्य हाजिरी, बीचबीचमा हुने आन्तरिक परीक्षा र असाइनमेन्टका कारण विद्यार्थीहरू नियमित रूपमा कक्षामा उपस्थित हुन सक्दैनन् । यसैले गर्दा विगतका वर्षहरूभन्दा अहिले विद्यार्थी संख्या निकै घटेको पाइएको छ ।’
विभागका एक प्रमुखले प्राध्यापकहरूले विद्यार्थीलाई थेसिस (शोधपत्र) हेर्न पर्याप्त समय नदिने र शिक्षकको संख्या पनि पर्याप्त नरहेको गुनासो गरे ।
हाल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसअन्तर्गत ३ हजारको हाराहारीमा मात्रै विद्यार्थी छन्, जबकि विगतका वर्षहरूमा १८ देखि २० हजारसम्म विद्यार्थी भर्ना हुने गर्थे । त्रिविको तथ्याङ्क अनुसार विसं २०७९/८० मा ५ लाख ८७ हजार ७१९ विद्यार्थी अध्ययनरत थिए । २०८०/८१ मा यो संख्या घटेर ५ लाख ३१ हजार ३९९ मा सीमित भयो भने २०८१/८२ मा ५ लाख ६१ हजार १७० पुगेको छ । यसरी हेर्दा २०७९/८० को तुलनामा अहिले समग्रमा २६ हजार ५४९ विद्यार्थी कम देखिन्छन् ।
त्रिवि इतिहास तथा संस्कृति केन्द्रीय विभागको पहिलो सेमेस्टरमा २६ जना, तेस्रो सेमेस्टरमा २८ जना र एमफिलमा १५ जना विद्यार्थी अध्ययनरत छन् । यहाँ ७ जना शिक्षक कार्यरत छन् । वार्षिक परीक्षा प्रणाली हुँदा झन्डै १ हजार २०० विद्यार्थी भर्ना हुने समाजशास्त्र केन्द्रीय विभागमा हाल स्नातकोत्तर पहिलो सेमेस्टरमा ३० जना र तेस्रो सेमेस्टरमा १६ जना मात्र भर्ना भएका छन् । एमफिलतर्फ भने ३५ जना विद्यार्थी छन् । यस विभागमा १ प्राध्यापक, २ सहप्राध्यापक, ५ उपप्राध्यापक र ३ आंशिक शिक्षक कार्यरत छन् ।
हिन्दी केन्द्रीय विभागमा कुल १७ जना विद्यार्थी भर्ना भएका छन् । विभागकी प्रमुख श्वेता दीप्तिका अनुसार स्नातकोत्तरमा ८ जना, एमफिलमा ५ जना र पीएचडीमा ४ जना विद्यार्थी छन् । यहाँ ६ जना शिक्षक कार्यरत छन् । यस्तै, राजनीति शास्त्र केन्द्रीय विभागमा १५८ जना विद्यार्थी र ७ जना शिक्षक छन् ।
त्रिवि बौद्ध अध्ययन केन्द्रीय विभागकी प्रमुख उपप्राध्यापक डा. चन्द्रकला घिमिरेका अनुसार स्नातकोत्तरमा ६० जना, एमफिलमा ६० जना र पीएचडीमा २० जना विद्यार्थी अध्ययनरत छन् । यस विभागमा ३ जना शिक्षक मात्र छन् । डा. घिमिरेले भनिन्, ‘बौद्ध दर्शन विविधीकृत विषय हो, तर यो पढाउने शिक्षकको संख्या निकै कम हुँदा सबैले सबै विषय पढाउनुपर्ने बाध्यता छ ।’
संस्कृत केन्द्रीय विभागमा ३ स्थायी र १ आंशिक शिक्षक कार्यरत रहँदा १५ जना विद्यार्थी अध्ययनरत छन् । यस्तै, योगतर्फ १५० जना विद्यार्थी र ६ जना शिक्षक रहेको उपप्राध्यापक आकाश निलमले जानकारी दिए । त्रिवि मनोविज्ञान केन्द्रीय विभागमा भने केही सुधार देखिएको छ । यहाँ पहिलो सेमेस्टरमा ८१ र तेस्रो सेमेस्टरमा ७० जना विद्यार्थी भर्ना भएका छन्, जसमा औसत ५८ जना नियमित उपस्थित हुन्छन् । विभागका सूचना अधिकारी नोदनाथ त्रितालका अनुसार एमफिलमा गत वर्ष २४ जना भर्ना भएका थिए । त्रिताल भन्छन्, ‘मनोविज्ञानको माग समाजमा बढ्दो छ । यहाँ क्लिनिकल साइकोलोजी, स्कुल काउन्सिलिङ र संगठनात्मक व्यवहारजस्ता विषय पठनपाठन हुने भएकाले अन्य विभागको तुलनामा विद्यार्थीको आकर्षण बढी देखिएको हो ।’
स्नातकोत्तरमा अध्ययनरत विद्यार्थी नवीन उप्रेती सेमेस्टर प्रणाली र व्यावहारिक पक्षबीच सन्तुलन मिलाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘रोजगारी र अध्ययनलाई सँगै लैजान चाहनेका लागि बिहानी वा बेलुकाको समयमा लचिलो कक्षा हुनुपर्छ । हाजिरीको बाध्यता र रिसर्च तथा इन्टर्नसिपका अवसर नहुँदा विद्यार्थीलाई गाह्रो भएको छ ।’
स्ववियू सभापति दीपकराज जोशीले उच्च शिक्षालाई रोजगारीसँग जोड्नुपर्नेमा जोड दिए । ‘शिक्षा विकेन्द्रीकरण भएकाले गाउँघरबाटै उच्च शिक्षा लिन सहज त भएको छ, तर विश्वविद्यालयबाट उत्पादित जनशक्ति समाजमुखी हुनुपर्छ,’ उनले भने ।
त्रिविका निमित्त रेक्टर प्रा.डा. शङ्करप्रसाद खनालले विद्यार्थीको प्राथमिकता परिवर्तन भएकाले मानविकी सङ्कायमा विद्यार्थी घटेको बताए । उनले भने, ‘विद्यार्थीहरू स्नातकपछि कार्यक्षेत्र (वर्क प्लेस) मा जान चाहन्छन्, त्यसैले ‘काम गर्दै पढ्दै’ गर्ने वातावरण सिर्जना गर्न आवश्यक छ ।’
त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिनसमेत रहेका खनालले विज्ञान सङ्कायमा भने विद्यार्थी संख्या नघटेको दाबी गरे । उनले थपे, ‘हाम्रा १३ ओटा विभागमा विद्यार्थी संख्या स्थिर छ; कुनै वर्ष थोरै घटबढ हुनु सामान्य हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
-
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
-
अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण