आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सात कक्षा पढ्दा मिठाइ बेच्ने नेपालीको चीनमा भव्य ‘एग्रिकल्चर फार्म’

शुक्रबार, ०९ कात्तिक २०७५, १३ : ४१
शुक्रबार, ०९ कात्तिक २०७५

‘रातो र पहेंलो रङको मिठाइ पाइन्थ्यो । त्यतिबेला एउटा मिठाइको २५ पैसा पथ्र्यो,’ अन्तर्राष्ट्रिय व्यवसायी तेजबहादुर राईले अतीत सम्झे, ‘२५ पैसामा एउटा मिठाइ बेच्दा १५ पैसा चोखो नाफा हुन्थ्यो ।’ 

चम्पावती माध्यमिक विद्यालय बुइपा, खोटाङमा सात कक्षामा अध्ययनरत राईले मिठाइसँगै डटपेन पनि बेच्थे । ‘एक दर्जन डटपेन बेच्दा तीनवटा डटपेनको मूल्यबराबरको फाइदा हुन्थ्यो । तीन डटपेनलाई तीन वा साढे तीन रुपैयाँ पर्थ्यो ।

त्यतिबेला व्यवसाय गर्दा फाइदाको स्वाद कहिल्यै बिर्सन सकिनँ । यो संवत् २०३३–०३४ सालको कुरा हो । १० कक्षा पढ्दासम्म मिठाइ र डटपेन बेचें ।’ उनले खोटाङको पश्चिमी भेगमा पर्ने रम्भुवाको एकराते बजारमा व्यापार गर्दा २१ रुपैयाँसम्म नाफा गरेका थिए । २१ रुपैयाँमा दुई जोर ‘चाइनिज सुज’ आउँथ्यो । व्यवसाय गर्दा यस्तो नाफा हुँदोरहेछ भन्ने स्वाद उनले बिर्सन सकेनन् । 

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । ‘पकेट मनी पाउने सम्भावना थिएन । नुनथलाबाटै बुइपामा रहेको विद्यालय धाउनुपथ्र्यो,’ उनले भने, ‘पकेट मनी जोहो गर्न मिठाइ र डटपेन बेच्न थालेको थिएँ ।’

१४ वर्ष बेलायती सेनामा
जीवन अर्थपूर्ण बनाउन मानिसले केही न केही गर्नुपर्छ । सबैले प्रयास गरेकै हुन्छन् । एसएलसी पास गर्दै उनलाई लागेको थियो, ‘गर्ने नै हो भने मानिसले व्यापार वा राजनीति गर्नुपर्छ ।’ त्यतिबेलै त्यस्तो भेउ पाए पनि बेलायती सेनामा भर्ती भए । यो ०३५ सालको कुरा हो । पल्टनमा सिभिल इन्जिनियरिङ पढ्ने अवसर पाए । ‘धेरै ज्ञान प्राप्त गरें । सिभिल इन्जिनियरिङ सकेपछि नोकरी गरौं कि व्यवसाय भन्ने दोधारमा परें,’ उनले थपे, ‘१४ वर्ष नोकरी गरें । पेन्सनमा निस्केपछि बेलायतमै ठेक्कापट्टाको काम थालें । कठिन परिश्रम गर्नुपर्ने भएकाले व्यवसाय थालेको दुई वर्षमा १२ किलो घटेको थिएँ ।’ 

चीनमा ‘एग्रिकल्चर फार्म’ 
व्यवसायी तेजबहादुर राईले बेलायत, अस्ट्रेलिया, हङकङ, चीन र नेपाललाई आधारभूमि बनाएर विभिन्न व्यवसाय गरे । अहिले पनि गरिरहेका छन् । ठेक्कापट्टाबाट सुरु भएको व्यवसायिक यात्राले मूलबाटो समातिसकेको छ । पाँचथरको खोरङ्गा हाइड्रोपावरको सफलतापछि चीनको नानकिङमा विशाल ‘एग्रिकल्चर फार्म’ सुरु गरेका छन् । चिनियाँ व्यवसायीसँगको साझेदारीमा चीनको नानकिङनजिक ६३ हेक्टर जमिन भाडामा लिएर तीन हजार सुँगुर पालिएका छन् । ‘फिस फार्मिङ’ छ । पाउलोनिया रोपिएका छन् । 

काठमाडौंको दरबारमार्गमा रहेको होटल याक एन्ड यतीमा भेटिएका व्यवसायी राईले धनी बन्ने सूत्र सुझाए, ‘तपाईंले तीन हजार रूख रोप्नुभयो । त्यसमा पाँच सय मर्यो । बाँचेका २५ सय रूख प्रतिरूख ५० हजारमा बिक्री गर्दा कति हुन्छ ? नवधनाढ्य चिनियाँ रूख बेचेर धनी भएका हुन् ।’ 

हङकङमा ‘सेक्युरिटी गोर्खा कम्पनी’
सेक्युरिटी गोर्खा कम्पनी सुरु भएको २२ वर्ष भयो । हङकङमा २२ वर्षदेखि सञ्चालित कम्पनीले दुई सय ५० जनालाई रोजगारी दिएको छ । ‘कम्पनीले सेक्युरिटी गार्डमात्रै होइन, तालिमप्राप्त बडिगार्ड समेत उपलब्ध गराउँछ । यस कम्पनीका तालिमप्राप्त बडिगार्ड हङकङका प्रतिष्ठित र धनाढ्यको सुरक्षार्थ खटिएका छन् ।’ 
कम्पनीका बडिगार्ड हङकङमात्रै होइन, संसारकै धनाढ्यको सुरक्षार्थ खटिएका छन् । एकताका रसियाका धनाढ्यले सेक्युरिटी गोर्खा कम्पनीका बडिगार्ड ‘हायर’ गर्थे ।  कम्पनीले विशेषतः हङकङवासीलाई नै सेवा दिइरहेको छ । 

अस्ट्रेलियामा होटल
अस्ट्रेलियाबाट प्रसारित अनसिन टीभीमा उनको लगानी थियो । टीभी बिक्री गरेपछि होटलमा लगानी गरेका छन् । 
सञ्चार उद्यमी पनि
हङकङबाट एभरेष्ट दैनिक नामक नेपाली पत्रिका प्रकाशित भयो । हिजोआज एभरेष्ट साप्ताहिक रूपमा प्रकाशित हुन्छ । हङकङमा छापाखाना किनेरै पत्रिका सञ्चालन गरेका उनले पछि पत्रिका र छापाखानाबाट हात झिके । 

‘अस्ट्रेलियाको अनसिन टीभीमा पनि लगानी गरेको थिएँ,’ एकताका सञ्चार उद्यमीसमेत रहेका उनले वास्तविकता सुनाए, ‘अनसिन टीभी नाफामा गयो । ६ वर्ष चलाएर बेच्यौं । ठूलै लगानी गरेमात्रै मिडियाबाट मुनाफा हुँदोरहेछ भन्ने ज्ञान भयो ।’ 

पानीको प्रवाहमा पैसा 
पाँचथरको खोरङ्गा हाइड्रोपावर सञ्चालनमा आएको नौ वर्ष भयो । हाइड्रोपावर सञ्चालनमा आएपछि नेपालका नदीनालामा पानी होइन, पैसा बगेको देख्न थाले । ‘पूर्वमा संखुवासभा र पश्चिमका खोलाहरूमा हाइड्रोपावर निकाल्न यति पोटेन्सियल छ कि पानीमा पैसा नै पैसा बगेको देख्छु । नेपालका नदीमा पानी प्रवाह तीव्र छ,’ उनले उदाहरण दिए, ‘कुनै कलकारखाना सञ्चालनार्थ ५० करोड लगानी गर्यौं भने चार–पाँच हजार कामदार चाहिन्छ । तर, हाइड्रोपावर सञ्चालनमा आएपछि कामदार चाहिँदैन ।’ 

देखिने सामाजिक काम
देखिने नदेखिने थुप्रै सामाजिक काम गरेका उनले देखिनेगरी दुई सामाजिक काम गरेका छन् । त्यो काम सम्झेर गौरवान्वित हुन्छन् । उनले नेपाल चेम्बर अफ कमर्स हङकङ स्थापना गरे । उनी संस्थापक अध्यक्ष हुन् । त्यतिबेला बन्दुकको युद्ध हुन्थ्यो, हिजोआज आर्थिक युद्ध चलिरहेको बेला संसारकै आकर्षक व्यापारिक ठाउँमा नेपाल चेम्बर अफ कमर्स स्थापना गर्नु सामान्य काम होइन ।
सुनसरीको धरानमा निर्मित घन्टाघरमा तेजबहादुर राईले बगाएको पसिनाले सानो–सानो खोलो बन्न सक्थ्यो । घन्टाघर निर्माण समिति संयोजकको भूमिका निर्वाह गरेका उनलाई सामाजिकमात्रै होइन, राजनीतिक खिचातानीले काम गर्न त्यति सजिलो थिएन । 

पाँच वर्षमा निर्माणसम्पन्न घन्टाघरमा ९५ प्रतिशत हङकङमा रहेका धरानेको सहयोग छ । घन्टाघर निर्माणका लागि सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने पनि तेजबहादुर राई नै थिए । घन्टाघर निर्माणका लागि उनले सन् २००१ म साढे दुई लाख आर्थिक सहयोग गरेका थिए । सन् २००१ मा साढे दुई लाख रुपैयाँ भनेको कम्ती होइन । 

त्यतिबेला आर्थिक सहयोग संकलन गर्न सजिलो थिएन । अहिलेजस्तो सामाजिक सञ्जाल थिएन । सहयोग संकलनका लागि घर–घरै धाउनुपथ्र्यो । उनी सहयोग संकलनका लागि कैयौंपटक कोरिया र मकाउ धाए । र पनि, घन्टाघर निर्माण सहज थिएन । त्यसपछि समितिमा रहेका १० जनाबीच गहन छलफल चल्यो । ‘समितिसम्बद्ध दसजनालाई १०–१० हजार डलर ऋण मैले नै दिएँ,’ उनले भने, ‘व्यक्तिगत जमानी बसेर दुई वर्षका लागि ऋण उपलब्ध गराएपछि काम अघि बढ्यो । नभन्दै धरानमा घन्टाघर ठडियो ।’ 

तेज–तुलसी बोर्डिङ 
पैसा धेरै भएर उनले बोर्डिङ स्कुल स्थापना गरेका होइनन् । उनलाई सरकारी स्कुल पढ्नसम्म गाह्रो थियो । आमाले लगाइराखेको चाँदीको चुरा बेचेर ‘पहिलो किताब’ किनिदिएको उनले बिर्सेका छैनन् । पहिलो किताब हात परेको दिन उनी जीवनमै सबैभन्दा धेरै खुसी भएका थिए । त्यो क्षण सम्झँदा अहिले पनि रोमाञ्चित हुन्छन् । पहिलो किताब नहुनेले विद्यालय जान पाउँदैनथे । 

घाँस काट्न, सोत्तर लिन जंगल जाँदै गर्दा गाउँले साथीभाइ विद्यालय गइरहेको देख्ने उनलाई नरमाइलो लाग्थ्यो । पहिलो किताब नभएकाले उनी विद्यालय जान पाएका थिएनन् । त्यतिबेला पहिलो किताब किन्न दुई या तीन रुपैयाँ पथ्र्यो । ‘अहिलेका पुस्ता त्यस्तो अवस्थाबाट गुज्रन नपरोस् भनेर नुनथलामा बोर्डिङ स्कुल स्थापना गरेको हुँ,’ उनले प्रस्ट्याए, ‘म भर्ती भएँ । म त सरकारी विद्यालय पढेको मानिस ।

मसँगै भर्ती भएका कतिपय नम्बरी बोर्डिङ पढेका थिए । उनीहरूको अंग्रेजी राम्रो थियो । सोचाइ फरक थियो । त्यत्तिकै सक्रिय थिए । बोर्डिङ स्कुल पढ्न पाएको भए म पनि नम्बरीहरूभन्दा कमको हुन्नथें भन्ने लाग्थ्यो । एउटा स्कुलले मानिसको जीवनमा कति फरक पार्दोरहेछ भन्ने अनुभूति त्यतिबेलै गरेको हुँ । त्यसैले बोर्डिङ स्कुल स्थापना गरें । यो सन् २००३ सालको कुरा हो ।’ सात कक्षासम्म पढाइ हुने

तेज–तुलसी बोर्डिङ स्कुलका दुई लोभलाग्दा भवन छन् । पछिल्लो विद्यालय भवन निर्माण गर्न ७२ लाख रुपैयाँ खर्च भएको थियो । 
बोर्डिङमा नौ शिक्षक–शिक्षिका अध्यापनरत छन् । विद्यालय सञ्चालनका लागि अक्षयकोष खडा गरेका छन् । विद्यार्थीबाट न्यूनतम शुल्क लिइन्छ । विद्यालय सञ्चालनका लागि अपुग खर्च बेलायती सेनाको पेन्सन खर्चन्छन् । 

वल्र्डकपभन्दा वीरेन्द्र शिल्ड भव्य
‘त्यतिबेला ?,’ उनले खुसी व्यक्त गरे, ‘अहिलेको वल्र्डकपभन्दा त्यतिबेलाको वीरेन्द्र शिल्ड ठूलो मानिन्थ्यो ।’ त्यसताका बुइपामा रहेको चम्पावती मावि हरेक विधामा अगाडि थियो । कविता, सांस्कृतिक कार्यक्रम, भलिबलमा समेत अब्बल । जहाँ उनी अध्ययन गर्थे । उनी नामी भलिबल खेलाडीमा गनिन्थे । 

लगातार तीनपटक जितेपछि सम्बन्धित विद्यालयले शिल्ड आफ्नो बनाउन पाउँथ्यो । बुइपा स्कुलले लगातार दुई वर्ष शिल्ड जितिसकेको थियो । शिल्ड आफ्नो बनाउने वर्ष ऐंसेलुखर्क र बुइपाको नम्बर बराबर थियो । ‘एक नम्बर बढी हुनासाथ शिल्ड बुइपा स्कुलको हुन्थ्यो,’ उनले विगत कोट्याए, ‘छिनोफानो गर्ने खेल आठ सय मिटर दौड थियो । म फुच्चे थिएँ । भलिबल खेलाडी मैले दौडमा पनि सहभागिता जनाएँ । नभन्दै तेस्रो भएँ । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः तीन, दुई र एक नम्बर पाउँथ्यो । म तेस्रो भएँ । हाम्रो स्कुललाई एक नम्बर चाहिएको थियो । मैले दौडेरै तेस्रो भएपछि शिल्ड निजी बनायौं ।’ 

कवि व्यवसायी 
अहिलेसम्म ५५ देश घुमिसकेका नुनथला, खोटाङनिवासी व्यवसायी तेजबहादुर राई हिजोआज पनि कविता लेख्छन् । विद्यालय तहमा पढ्दा कविता प्रतियोगितामा धेरैपटक पहिलो पुरस्कार थापेका उनले कविता लेखनलाई निरन्तरता दिएकै छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप