आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल–भारत एकदिने संयुक्त सुरक्षा बैठक : ५ बुँदे सहमति

बुधबार, १६ माघ २०७५, १२ : २२
बुधबार, १६ माघ २०७५

रौतहट – नेपाल–भारतबीचको संयुक्त सुरक्षा समितिको बैठकले विभिन्न ५ बुँदे सहमति गरेको छ । 

 भारत बिहार राज्यस्थित मोतिहारीमा मंगलबार सम्पन्न बैठकमा दुई देशका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । 

सन् २०१९ मा भारतमा हुन लागेको लोकसभाको निर्वाचनलाई शान्तिपूर्ण बनाउन दुबै देशका सुरक्षा निकाय सजग भएर लाग्ने सहमति भएको छ ।

 यस्तै खुल्ला सीमानाबाट हुने गरेको अवैध हातहतियार तस्करी नियन्त्रण गर्न दुबैतर्फका सुरक्षा निकाय विशेषरुपमा लागिपर्ने सहमति भएको छ । 

यस्तै सीमामा हुनसक्ने आतंकवादी गतिविधि रोक्न मिलेर काम गर्ने,  दुई देशबीच सुरक्षा सम्बन्धी सूचना आदान प्रदान नियमित गर्ने जस्ता विषयमा पनि सहमति भएको छ । 

त्यसैगरी भारतीय लोकसभा निर्वाचन अघि दुई देशका सुरक्षा प्रमुखहरुको फेरि  बैठक बसेर चुनावको लागि सीमा सिल गर्ने सहमति भएको रौतहटका प्रमुख जिल्ला अधिकारी लोकेन्द्र पौडेलले जानकारी दिए । 
 
बैठकमा भारतीय पक्षले भारत नेपालबीच खुल्ला सीमानाको कारण हुनेगरेको विभिन्न सामानको तस्करीका साथै नेपालबाट भारततर्फ हुने मदिरा तस्करीको रोक्न विशेष आग्रह गरेका थिए ।

बोर्डर एरियामा अवैध मदिराको बिक्री बितरण नियन्त्रण गर्न र लोकसभाको निर्वाचन ताका भारतीयलाई नेपालतर्फ आएर मदिरा सेवान गर्न नदिन भारतीय सुरक्षा प्रमुखहरुले प्राथमिकताका साथ आग्रह गरेको बैठकमा सहभागी रौतहटका प्रहरी प्रहरी प्रमुख एसपी केदार ढकालले बताए ।

निर्वाचन ताका प्रचार प्रसार बन्द गर्ने आचारसंहिता लागू भएपछि नेपालका एफएम रेडियोहरुबाट भारतीय निर्वाचनको प्रचार प्रसार बन्द गराउन पनि भारतीय सुरक्षा अधिकारीले नेपाली सुरक्षा अधिकारीको ध्यानाकर्षण गराएको एसपी ढकालले जानकारी दिए ।

संयुक्त सुरक्षा अधिकारीको बैठकमा नेपालको तर्फबाट रौतहटका सिडिओ लोकेन्द्र पौडेलको नेतृत्वमा बारा, पर्सा, चितवन, नवलपरासी, पश्चिम नवलपरासीका सिडिओ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका एसपीहरुको सहभागिता रहेको थियो ।

 त्यसैगरी  भारत बिहार पुर्वीचम्पारणका डिएम रमन कुमारको नेतृत्वमा पश्चिमी चम्पारणका डिएम मिलेश रामचन्द्र देवडे,र गोपालगंजका डिएम अमिनेस कुमार प्रसार लगायत भारतीय सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप