मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कास्की प्रहरीको एक्सन: जुवाडेदेखि मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई समेत कारबाही

सोमबार, २७ असोज २०७६, २२ : ३७
सोमबार, २७ असोज २०७६

पोखरा-कास्की प्रहरीले दुई दिनमा ३२ जुवाडेलाई नियन्त्रणमा लिएको छ । कास्कीका चार फरक ठाउँबाट उनीहरु समातिएका हुन् । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ७ लाख २७ हजार ५० नगद समेत बरामद गरेको छ ।
कास्की प्रहरीका सहसूचना अधिकारी तथा प्रहरी निरिक्षक नरहरि अधिकारीका अनुसार जुवाडेसहित मिटरमा हिँड्न नमान्ने ट्याक्सी र बढी भाडा लिने बस पनि प्रहरी कारबाहीमा परेका छन् । प्रहरीले तीन दिनमा पोखरा महानगरभित्र मिटर नै नजोडी हिँड्ने १ सय १० ट्याक्सीलाई नियन्त्रणमा लिएको छ । अधिकारीका अनुसार असोज २५ गतेबाट थालिएको स्वेच्छाचारी ट्याक्सी विरुद्धको अभियानमा २५ गते ५३, दोस्रो दिनमा २७ र तेस्रो दिनमा ३० ट्याक्सी कारबाहीमा परेका हुन् । 

यसैगरी लामो दुरीमा चल्ने यात्रुसँग बढी भाडा असुल्ने बसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । दसैं मनाउन हिँडेका यात्रुसँग प्रचलित भाडादर ४ सय ३० तोकिएकोमा ५ सय लिएको पाइएको प्रहरीले जनाएको छ । बढी भाडा असुल्ने  ना. ४ ख ३४४६ को बस र चालकसहित टिकट काउन्टरका कर्मचारी समेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट २ सय लिटर तयारी मदिरा र ११ सय लिटर कच्चा पदार्थ गरी १३ सय लिटर मदिरा बरामद गरेको छ । प्रहरीले यसअघि पनि अवैध रुपमा मदिरा उत्पादन गर्ने व्यवसायीहरुलाई कारबाहीको दायरामा ल्याएको थियो । यो आर्थिक वर्षको भदौ र साउनमा मात्रै ८ सय लिटर रक्सी, ५ हजार ७ सय ६० लिटर कच्चा पदार्थ साथै १६ केजी मादक पदार्थ तयार गर्ने मर्चा समेत बरामद गरेको थियो । 

त्यस्तै दुई महिनाभित्र प्राकृतिक सम्पदाको अवैध दोहन गर्ने ट्याक्टर, ट्रक र स्काभेटर गरि ३६ सवारी कारबाहीमा परेका छन् । पछिल्लो तीन महिनामा जुवा सम्बन्धि ३३ मुद्दा परेको प्रहरीको भनाई छ । उक्त मुद्दाका अभियुक्त २ सय १७ पुरुष र १५ महिला गरि २ सय ३२ लाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो तीन महिनामा जुवाडेबाट नगद २० लाख ३६ हजार ५ सय १६ समेत प्रहरीले बरामद गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप