शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको गम्भिर आरोप : ‘एमाले र निर्वाचन आयोगको मिलेमतोमा मतदाता नामावली संकलनमा किर्ते भयो’

आइतबार, ०४ भदौ २०७४, १६ : ००
आइतबार, ०४ भदौ २०७४

काठमाडौँ । मिलेमतोमा मतदाता नामावाली संकलन गर्ने समय सकिएपछि पनि नेकपा एमाले र निर्वाचन आयोगका प्रतिनिधिको मिलेमतोमा मतदाता नामावली संकलन गरिएको सत्तारुढ दल नेपाली काँग्रेसले गम्भिर आरोप लगाएको छ । 

व्यवस्थापिका संसदमा बोल्दै काँग्रेस नेता तथा पूर्व मन्त्री गगन थापाले बुढानिलकण्ठ नगरपालिकामा यस्तो फर्जी काम भएको भन्दै सभामुख ओनसरी घर्तीलाई दोषीमाथि कडा कारवाहीको माग गरेका हुन् ।

थापाका अनुसार बुढानलिकण्ठ नगरपालिकामा शनिबार ५ बजे मतदाता संकलन गर्ने समय सकिएपछि नेकपा एमालेका नगरसमितिका सभापतिको घरमा बसेर मतदाता नामावली संकलन गर्ने काम गरिएको थियो ।

निर्वाचनको पवित्रतामाथि धावा बोलिएको गम्भिर आरोप लगाउँदै थापाले भने, ‘हामीलाई शनिबार बेलुका करिब ८ बजे केही स्थानीय साथीहरुले मतदाता नामावली संकलनमा फर्जी काम भइरहेको खबर गरे । मतदाता नामावली संकलन गर्ने समय सकिएपछि पनि नेकपा एमालेका नगर सभापतिको घरमा निर्वाचन आयोगका प्रतिनिधिहरु बसेर फोटो खिच्ने काम भइरहेको उनीहरुको भनाई थियो ।’

प्रशासनलाई खबर गरी त्यस स्थानमा प्रहरीले छापा मार्दा एमाले नगरसमितिका सभापति, निर्वाचित वडा अध्यक्ष र निर्वाचन आयोगका कर्मचारीहरु मिलेर मतदाता नामावली संलकन गरिरहेको भेटिएको थापाले जानकारी दिए ।

अहिले उनीहरुलाई मतदाता नामावली संलन गर्न प्रयोग भएका सामाग्रीसहित निर्वाचन आयोगको कार्यालयमा बुझाइएको पनि थापाले बताए ।

यति गम्भिर आरोप लाग्दा पनि निर्वाचन कार्यालयले लाचारी प्रस्तुत गरिरहेको पनि उनले सदनलाई जानकारी गराए । ‘हामीले निर्वाचन आयोगसँग कुरा गर्दा वहाँहरुले हामीहरु अचम्ति छौँ तर हामी केही गर्न सक्दैनौँ भनेर लाचारी प्रस्तुत गर्नुभयो,' उनको भनाई थियो ।

थापाले राजधानीमा नै यस्तो भइरहँदा देशका अन्य जिल्लाहरुमा के भयो होला भनेर प्रश्न समेत उठाए । उनले भने, ‘यो घटना हिजो मात्र भएको होइन । हामीले प्रमाण फेला पारेका छौँ । जहाँ जहाँ निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्नका लागि कार्यालय स्थापना गरेको थियो । त्यहाँ कृत्रिम भिड सृजना गरियो । त्यसपछि मतदाता नामावली संकलन गर्न आउनेलाई भोलि आउन भनियो । तर, रातारात एमाले र निर्वाचनको आयोगको मिलेमतोमा मतदाता नामावली संकलन गरियो ।’

उनले यस्तो किर्ते काममा निर्वाचन आयोगका कर्मचारी र निर्वाचित जनप्रतिनिधिकै संलग्नता पुष्टि भएको भन्दै सभामुखसँग कारवाहीको माग गरे । ‘निर्वाचन आयोगको सम्पत्ति घरमा लाने काम चोरी हो । अपराधीले दण्ड पाउने वा नपाउने ?, थापाको प्रश्न थियो ।

थापाले यस्तो घटनाको भत्सर्ना गर्दै यसमा कारवाही नभए यो प्रक्रिया नमान्ने चेतावनी समेत दिए । ‘यस विषयमा हामीलाई आश्वस्त पारिएन भने हामी यो मान्दैनौँ । मान्दैनौँ मात्र होइन कसरी उत्तर लिने भन्ने हामीलाई पनि थाहा छ’ थापाले चेतावनी दिए ।

अरुले साँठगाँठ गर्यो भनेर प्रश्न उठाउने एमालेले यस विषयमा जवाफ दिनुपर्ने पनि उनले माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप