शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शुरु भयो पत्रकारहरुको महाकुम्भ (फोटोफिचर)

आइतबार, ०४ भदौ २०७४, १५ : २५
आइतबार, ०४ भदौ २०७४

काठमाडौँ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबारबाट काठमाडौँमा सुरु भएको छ । 

महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई संस्थागत गर्न संविधानको कार्यान्वय गर्नु अत्यन्तै आवश्यक रहेको भन्दै प्रेसलाई अझै बढी जिम्मेवार भएर भूमिका निर्वाह गर्न आग्रह गरे । 

संविधानले सबैका हक अधिकारलाई प्रत्याभुति गरेको भन्दै प्रधानमन्त्री देउवाले प्राप्त अभिव्यक्ति स्वतन्त्रतालाई बचाई राख्न पनि संचार जगतलाई सचेत गराए । उनले सञ्चार क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा सरकारका प्रवक्ता एवम् सूचना तथा संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आम संचार क्षेत्रलाई मर्यादित बनाउनुपर्ने आवश्यक्तामा जोड दिए । उनले संचारमैत्री वातावरण निर्माणमा आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे । त्यस अवसरमा मन्त्री बस्नेतले लामो समयदेखि छलफल र चर्चामा रहेको कृष्णप्रसाद भट्राई संचार प्रतिष्ठान स्थापना गर्ने आफनो लक्ष्य रहेको पनि स्पष्ट पारे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले विभिन्न अप्ठ्याराका बाबजुत पत्रकारिता पेशालाई मर्यादित बनाउन आफू लागि परेको दावी गरे । उनले महासंघले पुराना र पीडित पत्रकाहरुलाई सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमद्वारा सम्बोधन गर्ने प्रयास गरेको पनि स्मरण गराए ।

कार्यक्रममा कृष्णप्रसाद भट्राई राष्टिय पत्रकारिता पुरस्कारबाट पत्रकार बिजयकुमार पाण्डेय र गोविन्द वियोगी राष्टिय पत्रकारिता पुरस्कारबाट पत्रकार भैरव रिसाललाई पुरस्कृत गरिएको थियो । तीन दिनसम्म चल्ने महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्नेछ । ४५ सदस्यीय नयाँ नेतृत्व चयनका लागि देशभर र प्रवासमा समेत गरेर १ हजार ५ सय प्रतिनिधि सहभागी भएका छन् । 

सोमबार नेतृत्व चयनका लागि मतदान हुनेछ । महासंघको नेतृत्वका लागि अध्यक्षमा तीर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगरले उम्मेदवारी दिएका छन् । वरिष्ठ पत्रकार कोइरालाले एमाले निकट प्रेस चौतारी नेपालको समर्थनमा उम्मेदवारी दिएका हुन् । उनलाई नयाँ शक्ति पार्टी, नेपाल, संघीय समाजवादी फोरम, नेपाल लगायतका पार्टी निकट पत्रकार संगठनहरुको पनि समर्थन छ । त्यसैगरी आचार्यलाई काँग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरको समर्थन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप