शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धुलोमा ‘कखरा’ लेखेका नेकपा नेता बेदुरामले ६६ वर्षमा गरे ‘पीएचडी’

शुक्रबार, ०४ पुस २०७६, ११ : ३९
शुक्रबार, ०४ पुस २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हुन्, बेदुराम भुसाल । सानै उमेरदेखि राजनीतिक आन्दोलनमा सहभागी भएका भुसाल इच्छाशक्ति भए जस्तोसुकै कठिनाइमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणका एक पात्र बनेका छन् ।

२०२६ सालमा स्कुले शिक्षा (कक्षा ८ मा) पढ्दापढ्दै राजनीतिक आन्दोलनमा होमिएका भुसाललाई आन्दोलनमा लागेकै कारण तत्कालीन सरकारले जेल कोच्यो । त्यसबेला बर्रे सङ्घर्ष समितिमा लागेर राजनीतिक आन्दोलन चर्काएको आरोप उनीमाथि थियो । त्यसैको बहानामा भुसाललाई तत्कालीन शासकले साढे १२ वर्ष जेलमा राख्यो । तर उनले जेलमा रहँदा पनि आफ्नो शिक्षालाई व्यक्तिगत ढङ्गले अगाडि बढाइरहे ।

‘मैले जेलभित्रै बसेर एसएलसी, आईए, बीए र एमए सके’ बिहीबार त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोहबाट दीक्षित भएपछि रातोपाटीसँग भुसालले भने, ‘केटाकेटी उमेरमा धुलोमा लेखेर कखरा सिकेका थियौँ, त्यसबेला कपी कलम भन्ने कुरै भएन, लेख्नका लागि पाटीसमेत दुर्लभ थियो ।’

पढ्दा पढ्दै जेल जानुपरेपछि उनका लागि गुल्मीको तम्घास जेल नै पाठशाला बन्यो । ‘त्यसपछि एमए पढ्ने बेलामा भद्रगोल जेलमा बस्नुपर्यो,’ उनले भने, ‘एमएको दोस्रो वर्षको परीक्षा दिने बेलामा २०४३ साल जेठ महिनामा छुटेँ ।’

त्यसपछि केही समय बाहिरै बसेर अध्ययनलाई निरन्तरता दिएको उनले सुनाए ।

२०४३ सालमा जेलबाट छुटे पनि खुला राजनीतिक अवस्था थिएन । तैपनि उनले राजनीतिक आन्दोलन र पढाइलाई निरन्तरता दिँदै गए सँगसँगै । 

‘४३ सालमा जेलबाट छुटेपछि भूमिगत अन्दोलनमा सहभागी भइँयो । ३, ४ वर्ष फेरि गुपचुप नै भइयो । ०४६ पछि बल्ल खुला भएर सास फेर्न पाइयो । त्यसपछि पुनः पार्टी राजनीतिमा सक्रिय भएकाले पठनसंस्कृतिमा केही समय ब्रेक पनि लाग्यो’, तत्कालीन नेकपा एमालेका स्कुल विभाग प्रमुखसमेत रहेका भुसालले आफ्नो अनुभव सुनाए ।

पछिल्लो राजनीतिक आन्दोलनमा पनि सक्रिय सहभागी बनेका भुसाल विगत ५ वर्षअघिबाट पुनः शिक्षालाई निरन्तरता दिने सोचमा पुगे ।

स्नातकोत्तर गरिसकेका उनले पार्टीलाई समेत सहयोग पुग्ने गरी विद्यावारिधि गर्न विषय छाने ‘जबजको ऐतिहासिक विकासक्रम र नेपाल ।’

उनलाई उक्त शोधग्रन्थ पूरा गर्न ५ वर्ष लाग्यो । नभन्दै ६६ वर्षको उमेर पुग्दा सफलता हात लगाएरै छोडे । ‘यो उमेरमा किन पीएचडी ?’

प्रश्न नसकिँदै उनले जवाफ फर्काए, ‘उमेरले पढ्नलाई छेक्दैन । मात्र इच्छाशक्ति, लगनशीलता र मिहिनेत आवश्यक पर्दोरहेछ भन्ने मेरो बुझाइ बन्यो ।’

त्यति मात्र होइन भुसाल नेपालमा राजनीतिक सिद्धान्त र इतिहासमा पहिलो पीएचडी बन्ने व्यक्ति बन्न पुगे ।

‘अबको योजना के त ?’ छोटो जवाफ दिए–‘राजनीतिक यात्रासँगै आफूले लिएको शिक्षालाई व्यवहारमा परिणत गर्न सक्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप