केन्द्रीय संस्करण
चिनियाँ बालकथा

कुखुरा बेच्ने केटी

person explore access_timeफागुन १०, २०७६ chat_bubble_outline0

श्वी–शन

म त्यहाँ पुग्दा हाटबजार भरिइसकेको थियो ।हिउँ जस्तै स्वच्छ सफा चामल, सुन जस्तै पहेंलो मकै, सूर्यमुखी बियाँ, कमल गट्टा, छटपटाइरहेका माछाहरु, बिरालाका ङयाउराहरु, जता हेर्‍यो पसलै पसल । सतावरीका सुगन्धित फूल बेच्ने नानीहरुले चाहिँ पसल राखेका थिएनन्, हातमा लिएर यताउति घुमिरहेका थिए ।

हाटको एक छेउमा तीनवटा माउ कुखुराहरु लिएर बेच्न बसेकी एउटी सानी नानीलाई देखेर म ठिङ्ग उभिएँ । नानी त्यस्तै सात आठ वर्षकी थिइन् । सेतो सर्ट, गहिरो नीलो रङ्गको पाइन्ट, गलामा रातो स्कार्फ, बाटुलो अनुहार, खुर्पे चन्द्रमाको आकारको आँखी भुइँ, बल्लान् जस्ता टाठा आँखा । नानी टुक्रुक्क बसेकी थिइन् । सेतो प्वाँख र रातो सिउर भएका मोटा चिल्ला तीनवटा माउ कुखुराहरु उनको काखैनिर बसेर कक्क्क् गरिरहेका थिए ।

मेलामा धेरैजसो भाले कुखुरा बेच्न राखेका थिए । माउ कुखुराका पसल पनि एक दुई वटा त थिए तर त्यहाँका माउ कुखुरा फुल पार्दा पार्दा थाकेका र बिरामी परेका जस्ता देखिन्थे । यसैले पनि नानीका कुखुरातिर मेरा आँखा तानिएका थिए अनि ती नानीको अनुहार र हाउभाउ देखेर मेरो मनमा तिनीप्रति सहानुभूति जागेको थियो । यस हाट बजारभित्र घुम्दै जता पुगे पनि मेरो मनचाहिँ त्यतैतिर आइपुगेको हुन्थ्यो, तिनै नानीको बारेमा सोचिरहेको हुन्थ्यो ।

“ती तीनै वटा फुल पार्ने कुखुरा हुन्, हैन त ?” एक बुढी महिलाले नानीका आगाडि उभिएर सोधिन् ।

“हो, काकी !” नानीले जवाफ दिइन् ।

बुढी महिलाले एक एक गर्दै कुखुरा समातेर बिस्तारै छामिन् र भनिन्, “भन त नानी यसको मोल कति हो ?”

“पाँच युआन ।”

“ठिकै हो, जोख्ने हो भने एउटै डेढ किलो भन्दा कम छैन । ” बुढी महिला ती सानी नानीका मुखमा हेरेर मुसुक्क हाँसिन् र कुखुरालाई भुइँमा राखिदिएर लाचारीसाथ हिँडिन् ।

मेरो मनमा आँधीबेहरी मच्चियो । अहिले वसन्त ऋतु, कुखुराले प्रशस्त फुल पार्ने मौसम । चर्को गर्जो नपरी मानिसले यस मौसममा कुखुरा बेच्दैन । यी नानीका घरमा त्यस्तो के पर्‍यो होला कुन्नि ? सोधुँ सोधुँ लाग्यो, तर आँट आएन ।

यस्तैमा मेस अफिसर जस्तै देखिने एकजना मानिस त्यहाँ अडियो, किन्ने छाँटले कुखुरातिर हेर्‍यो र नानीसँग सोध्यो, “मोल कति हो ?”

“पाँच युआन ।”

“कम नगर्ने ?”

“यी त फुल पार्ने कुखुरा हुन् ।”

“फुल पारुन् कि चल्ला पारुन् मलाई के मतलब ?”

मैले देखें, ती नानीको अनुहार एक्कासी सोहोरियो । उनले हडबडाउँदै भनिन्, “त्यसो भए तपाईँ केको लागि किन्ने त ?”

“भोजको लागि । ”

“भोजको लागि ।”

“अहँ मेरो कुखुरा तपाईँलाई बेच्दिनँ ।”

“भो, भो, म भाउताउ गर्दिनँ । पाँचै युआन दिन्छु । लेऊ ल ।”

“अहँ दिन्न, दशै युआन दिए पनि दिन्नँ । म बेच्दै बेच्दिनँ ।” नानीले तीन ओटै कुखुरालाई बलियो गरी समातिन् । मानौँ उनी ती कुखुरालाई मेस अफिसरको सम्भावित आक्रमणबाट बचाउने कोसिसमा थिइन् ।

“किन यस्तो ?” मेस अफिसरले सोध्यो ।

“यी फुल पार्ने कुखुरा हुन् । तपाईँ घर लगेर पाल्ने भए मात्र दिन्छु । मासु खान त दिदै दिन्नँ । ”

“यस्तो माया लाग्नेले हाट बजारमा किन ल्याउनु ? घरमै राख्नु नि !” मेस अफिसर साइकल डोर्‍याएर बर्बराउँदै अगाडि बढ्यो ।

मेरो मनमा ती सानी नानीप्रतिको आदर भाव झन् उम्लिएर आयो । “कति दयालु केटी । कति सङ्लो र उदान मन ! संसारका सबै मानिस यस्तै हुने हो भने कतै कुनै झैझगडा हुने थिएन ।” तर यी कुखुरा नबेचेसम्म यी नानीको समस्या चाहिँ कसरी हल हुने हो कुन्नि ? म पुन: चिन्तित भएँ ।

हाट बजारको तीन फन्को लगाएँ । जता पुगेपनि मेरो दृष्टि ती सानी नानीबाट टाढा हुन सकेको थिएन ।

क्षितिजको पल्लो डाँडामाथि सूर्य छिप्पिँदै गएको देखियो । हेर्दाहेर्दै बिहानको यो हाट बजार छाँटिदै पातिलिँदै गयो । यस्तैमा काँधमा ठूलो झोला भिरेका एक जना किसान ती नानीका अगाडि उभिन पुगे र भने, “घरका कुखुरा बन बिरालोले बोक्यो । मलाई यस्तै फुल पार्ने कुखुरा चाहिएको छ । ”

सुन्नेबित्तिकै नानीले तीन ओटै कुखुरा उचालेर किसानका हातमा राखिदिँदै भनिन्, “छामेर हेर्नुस त हजुरबा, चित्त बुझ्छ कि बुझ्दैन ?”

“अगि एकजनाले पाँच युआन दिएका थिए । बेच्न मन लागेन । तपाईँ इमान्दार ग्राहक हुनु हुन्छ । साढे  चार युआन मात्रै दिनुस् न ।”

चुँचाँ नगरी बुढा किसानले पैसा झिकेर दिए र कुखुरा च्यापेर बाटो लागे ।

नानीले पैसा खल्तीमा राख्दै ती कुखुरातिर हेरेर भनिन्, “जाओ, जाओ, हजुरबाले तिमीहरुमाथि अन्याय गर्नु हुन्न । जाओ ।” कुखुराहरु नानीतिर हेरेर कक्क्क् गरिरहेका थिए ।

मैले नानीका आँखामा आँसु भरिएको देखें ।

अब चाहिँ मैले खप्नै सकिन सरासर नानीका अगाडी उभिन पुग्दै भनें, “यति प्यारा कुखुरा यसरी बेच्नै पर्ने कारण के पर्‍यो नानु ?”

“खास कारण केही होइन ।” नानीले हाँस्न खोज्दै भनिन्, “मेरो बाबा शहरको क्याम्पसमा पढाउनु हुन्छ । आमा गाउँकै विद्यालयमा पढाउनु हुन्छ । म आमासंग बस्छु । अहिले आमाको पनि सहरमै विद्यालयमा सरुवा भयो । सहरमा कुखुरा पाल्न मिल्दैन क्यारे । छिमेकीलाई दिन खोजेको, लिन मान्नु भएन । अनि बेच्न परेन त ?”

“ए, त्यसो पो ?” मैले भनें ।

 “हो, कारण यही नै हो ।” उनले भनिन् ।

“बासँग बस्न जान पाउँदा तिमी त झन् खुसी हुनु पर्ने । आँखाभरि आँसु किन त ? ” मैले सोधें ।

“आफुले हुर्काएका कुखुरा यसरी बेचेर पठाउनु पर्दा कसरी मन थाम्ने त ? मलाई त रुनै मन लागेका छ । लौ त काका, जाऊँ है, नमस्ते ।”

नानी उफ्रँदै नाच्दै आफ्नो बाटो लागिन् । म मनमनै ती नानीको प्रशंसा गर्दै घर फर्के ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.