सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

८८ किलो सुन तस्करीमा मुछिएका गणेशदत्त अझै चिनियाँ तस्करको ‘एजेन्ट’

तस्करीको सुन भारततर्फ पठाउने तयारी चल्दै गर्दा प्रहरी पुगेपछि...
शुक्रबार, १४ वैशाख २०८१, १६ : ३२
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । काठमाडौँको क्षत्रपाटीबाट २०७४ भदौ १९ मा ८८ किलो सुन बरामद भएको थियो । दार्चुलाको महाकाली नगरपालिका–३ घर भएका गणेशदत्त बडू त्यसबेला पक्राउ परेका थिए । ६ वर्षपछि ४७ वर्षीय बडू फेरि सुन तस्करी गरेको आरोपमा पक्राउ परेका छन् ।

८८ किलो सुन प्रकरणमा उनी ३ लाख धरौटी बुझाएर छुटेका थिए । तर, उनले धन्दा छाडेनन् । चिनियाँ सुन तस्करको ‘एजेन्ट’ बनेर सुन तस्करी गरेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।

वैशाख १३ मा न्यूरोडस्थित इन्द्रचोकबाट प्रहरीले बडूसहित ७ जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा बडूका साढु भाइको छोरा ३० वर्षीय दिनेश खरेल पनि छन् । ३ जना भारतीय नागरिक र ४ जना नेपालीलाई पक्राउ गरिएको एसएसपी राठौरले बताए ।

इन्द्रचोकस्थित भारतीय नागरिक अमोल विभूतेले भाडामा लिएको घरबाट प्रहरीले १ केजी ७६८ ग्राम सुन र १ करोड ४३ लाख नगद बरामद गरेको छ । सुनको कारोबार गरेको आरोपमा पक्राउ पर्ने भारतीयहरूमा ३७ वर्षका अमोल विभूते, १८ वर्षका ऋषिकेश प्रकाश बिभूते र १८ वर्षीय गणेश सतिश बाल्टे छन् ।  पक्राउ पर्ने नेपालीहरूमा बडू, दिनेश खरेल, २१ वर्षका आयुष बडू र झापा विर्तामोड घर भएका २२ वर्षीय भरत राख खरेल छन् ।

चिनियाँ नागरिकले पठाउने सुन गणेशदत्तले ‘वितरण’को जिम्मा लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बडूलाई चिनियाँ नागरिकले एक पटकमा डेढदेखि २ केजीसम्म सुन बेच्ने जिम्मा दिने गरेको खुलेको एसएसपी राठौरले बताए । उनले भने, ‘एक पटकमा ५ केजीसम्म वितरण गर्ने जिम्मा लिएको अनुसन्धानबाट खुलेको छ ।’

भारतीय नागरिकहरू सुन लिन आएको अवस्थामा पक्राउ परेका हुन् । सुन तस्करीमा संलग्न चिनियाँहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरू फरार छन् ।

टुक्रा बनाएर भारत तस्करी

चिनियाँ सुन तस्करले पठाउने सुन न्यूरोडमा टुक्रा बनाइन्छ । २५० ग्रामको टुक्रा बनाएर भारतीय नागरिकहरुले पैदल मार्ग हुँदै भारततर्फ लैजाने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी वरिष्ठ उपरीक्षक राठौरले भने, ‘टुक्रा सुन कम्मरपेटी र जुत्तामा लुकाएर लाने गरेको देखिन्छ ।’  

आरोपीहरूले सुन तस्करी गर्न काठमाडौँ–२४ स्थित बाबा छोरी सिंहको घर भाडामा लिएका थिए । सो कोठामा सर्च अपरेसन चलाउँदा गणेशदत्त बडूको साथमा ५ टुक्रा सुन फेला परेको हो ।

यस्तै नजिकै रहेको भरतराज खरेलको डेराबाट आयुष बडू र भरतराज खलेर पक्राउ परे । सुन भारततर्फ पठाउने अन्तिम तयारी हुँदा सूचना चुहिएपछि उनीहरू पक्राउ परेका हुन् । आरोपीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागका पठाइएको एसएसपी राठौरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप