शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठकः भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग

सोमबार, ०३ चैत २०७६, १४ : ५१
सोमबार, ०३ चैत २०७६

काठमाडौं । राष्ट्रियसभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गरेका छन् । सङ्घीय संसद, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदले  सुकुम्बासी  आयोग बनाइए पनिसमस्या ज्यूँका त्यूँ रहेको जनाउँदै सम्बन्धित मन्त्रीको जवाफ माग गरे ।

नेकपाका खिमलाल भट्टराईले नेपालको भूमिसम्बन्धी समस्या लामो समयसम्म समाधान हुन नसकेको बताउँदै भूमिहीनका समस्यालाई समाधान नभएसम्म समाजवाद आउन नसक्ने ठोकुवा गरे । नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा पार्टीले धर्मनिरपेक्षता र गणतन्त्रविरुद्ध आवाज उठाइरहेको भनी सदन र सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, ‘महिनौँदेखि संवैधानिक परिषद् र मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन, जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन्,  भ्रष्टाचार मौलाएको छ, महँगी, कालोबजारी बढ्दै गएको छ ।’ सांसद चक्रप्रसाद स्नेहीले वर्तमान निर्वाचन प्रणालीले गर्दा नै देशमा भ्रष्टाचार मौलाएको र देश धराशायी बन्दै गएको आरोप लगाउँदै संविधान संशोधन गरेर भए पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने माग गरे ।  

सांसद इन्दु कडरियाले  भारतका कारण सिमानामा नेपाली जनताले भोग्नुपरेको समस्या समाधान गर्न संसद् र सरकारको ध्यानाकर्षण गराइन् । सांसद मृगेन्द्रकुमार सिंह यादवले ठेकेदारको लापरवाहीले हुलाकी राजमार्ग समयमै सम्पन्न हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराए । उनले संविधानलाई संशोधन गरेर भए पनि सर्वसस्वीर्य बनाउनुपर्ने माग गरे ।

सांसद विमला घिमिरेले कोभिड–१९ रोक्न नेपालको तराईका जिल्लाका खुला सिमानामा कडाइ गर्नुपर्ने बताए । सांसद हरिराम चौधरीले विभिन्न जिल्लामा अवैधानिक ढङ्गले वन फडानी भइरहेको सन्दर्भ उल्लेख गर्दै प्रभावकारी अनुगमन गरी  दोषीमाथि कडा कारवाहीको माग गरे । सांसद राधेश्याम पासवान र मायाप्रसाद शर्माले पछिल्लो समयमा भ्रष्टाचार बढ्दै गएको भन्दै अन्त्य गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप