केन्द्रीय संस्करण
स्मृतिको पानाबाट

‘नाट्य सम्राट’ बालकृष्ण समको सम्झना : नाट्य क्षेत्रका एक विश्वविद्यालय !

person explore access_timeसाउन ६, २०७७ chat_bubble_outline0

बालकृष्ण सम एउटा विशिष्ट प्रतिभाका धनी थिए । ‘नाट्य सम्राट’को उपाधिसमेत पाएका सम नाटक, उपन्यास, महाकाव्य, कविता, कथा, निबन्धलगायत धेरै विधामा कलम चलाउँथे । समको वास्तविक नाम बालकृष्ण शमशेर जङ्बहादुर राणा थियो । उनले नाट्य तथा साहित्य कर्मका कारण नामको पछाडि शमशेर जङ्बहादुर राणा हटाएर सम राखेका थिए ।  वि.सं. १९५९ साल माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा जन्मिएका समको २०३८ साउन ६ गते निधन भएको थियो ।
आफ्नो जीवनको सम्पूर्ण भाग नाट्य तथा साहित्य क्षेत्रमा बिताएका समलाई नाट्य क्षेत्रको एउटा युनिभर्सिटीको रूपमा समेत चर्चा गर्ने गरिन्छ । बहुमुखी प्रतिभाका धनी बालकृष्ण समले कविता, नाटक, कथा, प्रबन्ध, निबन्ध, जीवनीलगायत थुप्रै विधामा कलम चलाएका छन् । समलाई नेपाली साहित्यमा नाट्य सम्राट्को विशिष्ट सम्मान प्राप्त भएको छ । नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तक पनि थिए ।
मुकुन्द इन्दिरा, प्रेम पिण्ड, मुटुको व्यथा लगायत उनका थुप्रै नाटक प्रकाशनमा छन् । गोरखा दक्षिणबाहु तेस्रो (१९९९), गोरखा दक्षिणबाहु दोस्रो (२००९), रत्नश्री स्वर्णपदक (२०२३), गोरखा दक्षिणबाहु प्रथम (२०२८),  साझा पुरुस्कार (२०२८), त्रिभुवन पुरुस्कार (२०२९) लगायत थुप्रै पुरस्कारबाट समेत सम्मानित सम  कवितात्मक वा गद्यात्मक, संयोगान्त वा दुःखान्त, एकाङ्की वा पूर्णाङ्की, जुनैमा विषयमा पनि कलम चलाउन सबल थिए ।
सरल जीवन र उच्च विचारका कुवेरसमेत रहेका समका सङ्गीमध्ये एक कलाकार हरिहर शर्मा पनि हुन् । शर्मा समसँग फिल्म हेर्न जान्थे, आफ्नो नाटक देखाउँथे । कतिसम्म भने उनको घरसम्म पुगेर उठबससमेत थियो । वरिष्ठ नाट्यकर्मी, कलाकारहरिहर शर्मालेबालकृष्ण समको सम्झना यसरी गरे :

त्यो थियो पहिलो भेट
बालकृष्ण सम नाट्य क्षेत्रका मूर्धन्य व्यक्तित्व हुन् । मेरो पेसा पनि नाट्यकर्म भएको कारण उहाँसँग सान्निध्यता हुनु स्वाभाविक हो ।
त्यस्तै वि.सं २०२९÷ ०३० तिर होला । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उहाँ उपकुलपति रहँदा मेरो उहाँसँग पहिलो पटक भेट भएको थियो । यस अगाडि उहाँको विषयमा धेरै पढेको, सुनेको थिए । तर भेट्ने अवसर भने जुरेको थिएन ।

उक्त समय म पनि नाटक अभिनयमा आइसकेको थिए । प्रज्ञा प्रतिष्ठान नाट्य संस्था थियो । फुर्सदको समयमा म प्रतिष्ठानमा जाने गर्दथेँ ।त्यही नै मेरो उहाँसँग चिनजान भएको थियो । त्यसपछि उहाँसँग बारम्बार भेट हुन थाल्यो । उहाँको घरमा पनि गइयो, सँगै फिल्म पनि हेरियो, नाट्य कर्म समेतसँगै गरियो ।

त्यो त्यागेर सम
बालकृष्ण सम नाट्य क्षेत्रका अहिलेसम्मकै नेपालका विशिष्ठ व्यक्तित्व हो । उहाँलाई नाट्य सम्राटको उपाधिसमेत दिइएको छ ।
नेपालको एउटा सम्भ्रान्त परिवार राणा परिवारमा जन्मिएका व्यक्तित्व हो उहाँ । त्योसमेत त्यगेर उहाँ सम हुनु भएको हो । ग्रास लेबलको मानिससँग उहाँको उठबस थियो । कुनै एंगलबाट पनि उहाँमा श्री ३ शमशेरको खानदानको मानिस भएको रवाफ थिएन । उहाँ पढेको, बुझेको र जानेको व्यक्तित्व हुनुहुन्थ्यो ।

हरिहर शर्मा

उहाँ सभ्य, शालीन, सबैलाई माया गर्ने व्यक्तित्वका धनी हुनुहुन्थ्यो । उहाँको यो व्यवहार देख्दा अचम्म लाग्थ्यो, विश्वास नै लाग्दैन थियो । भित्रभित्रैबाट उहाँप्रति एक प्रकारको श्रद्धाभाव उत्पन्न हुन्थ्यो ।
त्यसमाथि प्रकाशित कृतिहरुले मेरो नजरमा उहाँलाई झन् आदरको पात्र बनाएको थियो । धेरै प्रतिभाका धनी भए पनि उहाँमा कुनै प्रकारको अहम कहिल्यै पनि देखिनँ मैले । सबै प्रकारका कलाकारसँग सजिलै घुलमिल हुने, कहीँ जाऔँ भन्यौँ भने ल जाऔँ भनेर सजिलै मान्ने । रमाइलो व्यक्तित्व हुनुहुन्थ्यो उहाँ ।

घमण्ड कहिल्यै देखिएन
प्रज्ञा प्रतिष्ठान त्यतिबेलाको ठूलै संस्था थियो । त्यसको उपकुलपति भए पनि उहाँमा उपकुलपति हुँ, म देशको प्रतिष्ठित व्यक्तित्व हुँ भन्ने घमण्ड कहिल्यै देखिएन ।

उहाँ म एउटा स्रष्टा, नाटककार, कवि, लेखक, म सरस्वतीको गर्भ पुत्र, सरस्वतीको सेवक, सिर्जनामा लागेको व्यक्ति हुँ भनेर सोच्ने, त्यहीअनुसार सबैलाई व्यवहार देखाउने व्यक्ति हुनुहुन्थ्यो ।

उहाँ आफै नाटकको निर्देशक, प्रकान्ड विद्वान, सफल उच्च कोटिको अभिनेता, रङ्गकर्मी, रङ्ग सिल्पी । मेरो नाटकसमेत हेर्नु हुन्थ्यो ।अभिनय कति राम्रो गर्नुभएको भनेर कमेन्ट गर्नुहुन्थ्यो । उहाँले कसैका लागि नराम्रो भनेको शब्द मैले कहिल्यै सुन्न पाइएन ।

एउटा विश्वविद्यालय 
उहाँ प्रतिभाका धनी व्यक्तित्व समेत हुनुहुन्थ्यो । उहाँमा एक दुई नभएर धेरै प्रतिभा थिए । उहाँमा प्रिन्टर, फोटोग्राफर, नाटककार, लेखक, कवि, महाकाव्यको रचयिता, नाटक निर्देशक, अभिनेता, रङ्गसिल्पीलगायत थुप्रै ज्ञान थियो । यी सबैको पूर्ण ज्ञानको भण्डारै थियो ।

अहिले उहाँका समकालीन कलाकार हुनुहुन्छ, हुनुहुन्न थाहा भएन । उहाँले आफ्नो सिङ्गो परिवारसमेत नाटकमा क्रियाशील गराउनुभएको थियो । सम नाट्य क्षेत्रको एउटा युनिभर्सिटी नै हो । त्यतिबेला पश्चिमा थिएटरले गाँजेको हाम्रो नेपाली समाजलाई उहाँले मौलिक नेपाली नाटकको सिर्जना गरेर पृथक् शैलीको विकास गर्नुभयो । त्यस्तै नाटकलाई निरन्तरता दिनुभयो । नाटकको एउटा युगका निर्माता थिए सम । जस्तो किसिमको समाज, सामाजिक परिवेश, त्यस्तै किसिमका नाटक सिर्जना गर्न सक्ने व्यक्तित्वका धनी पनि ।

त्यतिबेलाको समय विचार राख्दा समाजका थुप्रै प्रतिबन्धहरुमा विचार गर्नुपथ्र्याे । ती प्रतिबन्धहरुबाट जोगिएर जस्तै खालका विषयवस्तु उठाउनुपर्ने थियो । त्यो विषयको उहाँ सजिलै उठान गर्नुहुन्थ्यो । उहाँका नाटकहरु बढी ट्रयाजेडिमय हुन्थे । मुटुको व्यथा, मुकुन्द इन्दिरा, प्रेम पिण्डल यसका उदाहरण हुन् ।

उहाँका नाटकमा संवादसमेत विशेष हुन्थे । उहाँको सम्पादनमा समेत विशिष्टता हुन्थ्यो । नेपाल आमाले अहिलेसम्मको समयमा गर्व गर्न एउटा सन्तान सम पाएकै हो ।
समयअनुसार उहाँबाट नाट्य क्षेत्रले धेरै लिएकै हो । तर पनि जुन अनुपातमा समका नाटकहरुले अहिले पनि निरस्तरता पाउनुपर्ने थियो । त्यो हुन सकेन । हामीले समका नाटकहरु जति प्रस्तुत गर्यो । त्यति नै नयाँ पुस्ताको स्मृतिमा उहाँ रहँदै जाने हो । त्यतातिर हामीले विचार पुर्याउन सकेका छैनौँ । अहिले मनन गर्नुपर्ने विषय यही हो । उहाँका प्रदर्शनीय कृतिहरु (नाटक) कम्तीमा पनि वर्षको एक वा दुईवटा प्रस्तुत गर्न सकियो भने उहाँप्रति साँच्चिकै सम्मान हुने मेरो धारणा हो ।

नाट्य क्षेत्रमै मेरो जीवन बित्यो । मेरो धेरैसँग सङ्गत पनि भयो । तर उहाँ जस्तो व्यक्तित्व केही भेटिएको छैन । उहाँ यो क्षेत्रको एउटा विश्वविद्यालय नै हो । त्यो युनिभर्सिटी उहाँको निधनसँगै सकियो ।
उहाँपछि कलाकारको रूपमा, लेखकको रूपमा धेरै देखा परेर रङ्गकर्म अगाडि बढाइरहेका छन् । तर उहाँको जस्तो शैली कोहीमा पनि छैन । शैली फरक छन् । नाट्य प्रस्तुतिमा हामीले कहीँ न कहीँ सम जीवित राख्नुपर्ने थियो । त्यो भने हुन सकेनको छैन । दुःख यसमै लाग्छ ।

नाटकले दुःख दियो 
नाटकका कारण समले धेरै दुःख भोग्नुभएको छ । उहाँ जन्मले जर्नेल हुनुपर्ने, देशमा शासन गर्नुपर्ने व्यक्ति । कर्म साहित्य र नाट्यमा गर्नु भएकाले उहाँको तल्लो वर्गका मानिससँग उठबस रहन्थ्यो । त्यो देखेर उहाँका आफन्तहरु धेरै रुष्ट थिए । सोही कारण उहाँले दुःख, आफन्तबाट अवहेलना लगायत धेरै प्रकारका समस्या भोग्नुपरेको थियो ।

तर परिवारको साथ भने उहाँलाई पूरै थियो । सोही कारणले कसैको वास्ता नगरी आफ्नो साहित्य, नाट्य लगायत कर्म निरन्तर अगाडि बढाइरहनु भयो । निरन्तर काम गर्दै र एकपछि अर्काे उत्कृष्ट कृति दिँदै जाँदा अन्ततः उहाँ सबैको मन जित्दै सर्वप्रिय हुन सक्नुभयो ।

बालकृष्ण सम फोटो : विकिपिडियाबाट

समको विशेषता
उहाँ समय परिस्थिति अनुसार नाटक सिर्जना गर्न सक्नुहुन्थ्यो । जसरी समाज रूपान्तरण हँुदै जान्थ्यो उहाँको साहित्य, नाटकमा पनि त्यो झलक पाइन्थ्यो । त्यति मात्र कहाँ हो र सांस्कृतिक रूपान्तरणमा समेत उहाँको विशेष ध्यान पाइन्थ्यो ।

उहाँ नाटकमा सामाजिक, राजनीतिक, आर्थिक होस् वा कुनै पनि विषय सजिलै समेट्न सक्नुहुन्थ्यो । कुनै पनि विकृति विसङ्गतिका कुरा भन्नुपर्दा उहाँ त्यति बेलाको सामाजिक अवस्थालाई समेत ध्यानमा राखेर साङ्केतिक रूपमा प्रस्तुत गर्नुहुन्थ्यो । त्यति बेलाका लेखकमा यो कुराको अभाव थियो ।

उहाँको सबैभन्दा सुन्दर पक्ष संवादहरुको संरचना हो । जसरी अहिले अङ्ग्रेजी नाटक सेक्सपियरका संवादहरु बुलन्द भएका कारण अचेल हरेक नाट्य स्कुलमा सिकाउने गरिन्छ । त्यस्तै उहाँका सामाजिक संवादहरु पनि अति नै बुलन्त हुन्थे । उहाँको नाटकमा गाइने र माग्नेले समेत दर्शन बोल्थ्यो । उहाँका नाटक जति पढ्यो त्यति पढ्न रुचि हुने खालका हुन्थे । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.