शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छिमेकीले सीमाका पिलर उखेलेर फालिदिने र गाडिदिने प्रवृत्ति बढ्यो: गृहमन्त्री थापा

बुधबार, २८ साउन २०७७, १७ : १८
बुधबार, २८ साउन २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताएका छन् ।  प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको दावी समेत गरे । सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने, नेपालभित्र गाडिदिने प्रवृत्ति छिमेकीहरुको रहेको उनको भनाई छ । उनले यस्तो प्रवृति नहट्दासम्म सीमा समस्या रहिरहने बताए । 

‘हाम्रा छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तन पनि यसको कारणहरु छन् । पिलरहरु उखेलेर फाल्दिने अथवा नेपाल भित्र ल्याएर गाडने यस्ता अतिक्रमणकारी नीति पनि सीमा समस्याको पछाडी एउटा कारण देखिन्छ’, गृहमन्त्री थापाको भनाई छ । 

सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने भन्दै उनले नेपालको भूभाग र सीमा रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले विशेष ध्यान दिने समेत बताए । सीमा सुरक्षाका लागि गृह मन्त्रालयले सीमा सुरक्षासम्बन्धी विशेष योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको भन्दै उनले सीमा समस्या समाधानका लागि जनस्तरबाट समेत सहयोग आवाश्यक रहेको बताए । 

सीमा नक्सा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको गृहमन्त्री थापाको भनाई छ । उनले नदीले धार परिवर्तन गर्दा सीमा समेत परिवर्तन हुने गरेको बताए । सोही आधारमा स्ट्रीप नक्सा बनाउँदा नेपालको भूभाग भारतमा र भारतको भूभाग नेपालमा परेको पनि भन्दै सीमा समस्या समाधानका लागि कुटनीतिक पहल अवश्यक रहेको धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप