शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा काम लागेन प्रचण्डको ‘मर्निङवाक’ र ‘सेल्फी’

बिहीबार, ०५ असोज २०७४, १९ : ०९
बिहीबार, ०५ असोज २०७४

काठमाडौँ – ‘हामीले बासमति चामल फलायौं । तर, बेच्न नै लगेनौ, घरमै पोको पारेर राख्यौं । तर, प्रतिगामीहरु कुहेको पिठो बोकेर घरघर गए । अब हामी चामल बेच्न घरघर जाऔं । कुहेको किरा परेको काङ्ग्रेस, एमालेको पिठो बिक्न नदिउँ ।’

साउन १६ गते जनपुरमा आफ्ना कार्यकर्ता तथा नेतालाई प्रशिक्षण दिँदै माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको कुरा हो यो । तर प्रचण्डले भनकै जस्तै जनकपुर (धनुषा) मा माओवादी केन्द्रको चामल पोकोमै रह्यो । 

प्रशिक्षणपछि पनि प्रचण्ड पटक–पटक जनकपुरमा गएका हुन् । भदौ १३ गतेको कुराले प्रचण्ड निकै चर्चामा आए । त्यो दिन उनी सुरक्षाको खासै ध्यान नदिइ मोर्निङ्गवाक गर्दै रमानन्द चौकमा एउटा सामान्य पसलमा चिया खाएर सल्फी खिचाएका थिए । 

चार्चामा मात्र होइन, मधेशमा माओवादी केन्द्रले जनउभार नै ल्याउने भन्दै प्रचण्ड आफै निकै उत्साहित पनि भएका थिए । र, उनले जनकपुरमाथि निकै विश्वास पनि गरेका थिए । तर चुनावमा त्यस्तो देखिएन । धनुषामा मातृका यादवदेखि रामचन्द्र झा जस्ता माओवादी केन्द्रका वरिष्ठ नेताहरु छन् तर त्यहाँको चुनावी परिणाम हेर्दा लाजमर्दो छ ।

एक उपमहानगरपालिका, ११ नगरपालिका, छ गाउँपालिकासहित १८ तहमध्ये सवैला नगरपालिका, सहिद नगरपालिका र विदेह नगरपालिकामा मात्र माओवादी केन्द्र लिड गरिरहेको छ । सवैला नगरपालिकामा नै मातृका यादवको घर पर्छ । 

यी तीन स्थानबाहेक कुनै ठाउँमा माओवादीको अवस्था राम्रो छैन । चारनाथधाम नगरपालिका र धनुषाधाम नगरपालिकामा दोस्रो स्थानमा रहेको छ तर थोरै मतले । ऐतिहासिक नगरी जनकपुर उपमहानगरपालिकामा राजपा नेपालले पाँचहजार ४५ मतले अगाडी छ भने त्यहाँ माआवादी केन्द्रले १७९ मत ल्याएको छ । यो त्यही ठाउँ हो, जहाँ प्रचण्डले मर्निङवाक गर्दै सेल्फी खिचाउँदै चिया खाएका थिए । 

१६९ वटा वडा रहेको त्यहाँ १२–१३ वटा वडा माओवादीले जितेको छ । अरुको परिणाम आउन बाँकी छ । 

प्रशिक्षणमा कार्यकर्ताको उपस्थिति र सडकमा जनताले दिएको सम्मान देखेर प्रचण्डलाई लागेको थियो होला जनकपुर माओवादीकै कब्जामा छ । 

यस्तो किन ?

माओवादी केन्द्रकै नेताहरु भन्छन् । पार्टीले धुनषामा संगठन निर्माणमा ध्यान दिएन । जति नेताहरु छन् सबै वरिष्ठ नै छन्, कसैले कसैलाई स्वीकार गरिरहेका छैनन् । नेतै पिच्छे गुट छ । हालै एमालेबाट माओवादी हुँदै नयाँ शक्ति नेपालबाट पुनः माओवादी कन्द्रमा फर्केका रामचन्द्र झाका कारण पनि धनुषामा असन्तुष्टि बढेको बताइन्छ । 

‘रामचन्द्र झा नहुँदा धनुषामा माओवादी केन्द्र ठीकठाक रहन्छ । उनी आउँदा भाँडभैलो मचिन्छ,’ एक नेताले भने ‘उनी नै धनुषा जिल्लामा हावी हुन खोज्छन् । रामचन्द्र झा हावी हुन खोज्दा पार्टीका पुराना नेताहरु असन्तुष्ट हुन्छन् ।’ भदौको दोस्रो हप्ता माओवादी केन्द्रमा प्रवेश गरेका रामचन्द्र झा पार्टीमा आउने वित्तिकै टिकट वितरणमा हस्तक्षेप गरेका थिए । 

धनुषाका चर्चित नेता जीवनले भने, ‘रामचन्द्र झाले चाहेको व्यक्तिले टिकट नपाउँदा त्यसको विरुद्धमा वागी उठाएका छन् र पार्टीका व्यक्तिलाई हराउन लागेका छन् ।’ रामचन्द्र झाले पार्टीको उम्मेदवारभन्दा फोरम नेपाल, एमाले र नयाँ शक्ति नेपालका उम्मेदवारहरुलाई बढी रुचाएको आरोप जीवनको रहेको छ । 

रामचन्द्र झालाई ल्याएर तुरुन्तै उच्च पदमा राखेको कारणले पनि नेता तथा कार्यकर्तामा असन्तुष्टि बढेको छ । जीवन त्यही नेता हुन्, जसले रामचन्द्र झा एमाले छाडेर माओवादीमा प्रवेश गर्दा पार्टीमा विद्रोह गरेका थिए । रामचन्द्र झा नयाँ शक्तिमा गएपछि उनी माओवादी केन्द्रमा फर्केका थिए । 

उनी माओवादी केन्द्रमा फर्केको केही महिना मात्र भएको थियो कि रामचन्द्र झा पुनः माओवादी केन्द्रमा फर्केका छन् । उनी माओवादी केन्द्रमा फर्केसँगै धनुषामा पुनः असन्तुष्टि बढेको बताइन्छ । 

मातृका यादव पार्टी छाडेदेखि नै धनुषा कमजोर हुँदै गइरहेको थियो । नत्र माओवादी केन्द्रका लागि धुनषा आधार क्षेत्र नै बनेको थियो । जनयुद्ध समय मधेशमा माओवादी केन्द्रका लागि चर्चित ठाउँमध्ये एक धनुषा पनि थियो । माओवादी सहिद रामवृक्ष यादवको गृहजिल्ला पनि धनुषा हो, जहाँबाट उनका श्रीमती रामकुमारी यादव जितेकी थिइन् । 

मातृका यादवले माओवादी केन्द्रसँग एकीकरण गरेको १७ महिनाभन्दा बढी भइसक्यो । तर, यादवले माओवादी पार्टी छाडेपछि कमजोर हुन थालेपछि अझै सुध्रिएको छैन । उनले धनुषाका लागि खासै काम गर्न सकेका छैनन् । मधेश आन्दोलनका कारण संगठनका कुनै कामहरु भएका थिएन । 

मातृका यादव भन्छन्, ‘संगठन निर्माणमा पार्टीबाट खासै ध्यान नगएको कारण यस्तो अवस्था आएको हो, माओवादीका लागि धनुषा गढ नै थियो । तर, एकाएक किन बिग्रियो यसको समिक्षा हुन आवश्यक छ ।’ यद्यपी जहाँ जहाँ संगठन राम्रो छ, मतपरिणाम पनि राम्रै आएको उनले बताए । 

अर्कोतिर, विकासको मामिलामा जनकपुर धेरै पिछडिएको ठाउँ हो । त्यसका लागि माओवादी केन्द्रले खासै ध्यान नदिएको गुनासो स्थानीय जनताको रहेको छ । माओवादी केन्द्र पटक–पटक पावरमा गयो तर जनकपुरका लागि कहिले ध्यान दिएन । जहिले पनि जनकपुरलाई काँग्रेसको कब्जामा नै छाडिदियो । काँग्रेसका विमलेन्द्र निधि र तत्कालिन सद्भावना पार्टीका नेता संजय साह (टकला) जो अहिले जेलमा छन् । उनी दुवैजनाको द्वन्द्वका कारण जनकपुर पछाडी परेको गुनासो पनि जनकपुरवासीको रहेको छ । जनकपुरवासी विकल्पको खोजीमा थिए, तर माओवादी केन्द्र ध्यान दिएनन् । अन्नतः राजपा नेपालले त्यो स्थान लिएको छ र माओवादी केन्द्रलाई धेरै पछाडी छाडिदिएको छ । 

माओवादी केन्द्रले रामकुमार शर्मालाई वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को प्रमुख पनि बनाएको थियो तर उनले पनि खासै काम नगरी त्यहाँबाट हटे । परिषद् जनकपुरको विकासका लागि काम गर्ने सरकारी संस्था हो तर त्यहाँबाट पनि काम गर्न नसकेपछि त्यहाँ जनताको माओवादीप्रतिको झुकाव कम भएको स्थानीय अगुवाहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप