ad
केन्द्रीय संस्करण

आशाराम यादव : जसले निरन्तर खुवाइरहेका छन् निःशुल्क खाना

person explore access_timeफागुन ११, २०७७ chat_bubble_outline2

काठमाडौं । घरमा माग्न आएका ‘भिखारी’लाई आमाबाबुले दुई मुठी चामल दिँदा उनको मनमा प्रश्न उठ्थ्यो– हाम्रो घरमा भात पकाउँदा दुई/चार केजी चामल चाहिन्छ, यिनलाई दुई÷चार मुठी चामलमात्र किन ? आफ्नो मनमा उब्जिएको यही प्रश्नको जगमा उनले आमाबाबुको आँखा छलेर भिखारीलाई पर्याप्त चामल दिन्थे । यहीँबाट उनमा समाजसेवा प्रतिको झुकाव बढ्दै गयो ।

उनी अर्थात् आशाराम यादव, अहिले समाजसेवाको क्षेत्रमा परिचित नाम हो । अंशु उपनामले समेत चिनिने उनी धनुषाको सबैला नगरपालिका निवासी हुन् । आमाबुबाका एकमात्र छोरा उनी हाल बीइको फाइनल इयरमा छन् । पढाइका साथै समाजसेवालाई उत्तिकै समय निकालेका २३ वर्षीय आशारामले कोरोनाको महामारी सुरु भएसँगै सरकारले घोषणा गरेको लकडाउनको समयमा पेट भर्न समस्यामा परेका श्रमिक वर्गलाई निःशुल्क भोजनको व्यवस्था गरे । उनले हालसम्म निःशुल्क भोजनको व्यवस्थालाई निरन्तरता दिएका छन् ।

‘विगत ३३८ दिनदेखि एक दिन पनि नबिराइ खाना खुवाउँदै आइरहेका छौं,’ उनले भने, ‘यसरी खाना खुवाउन थालेको आगामी चैत १४ गते एक वर्ष हुन्छ, एक वर्षसम्म जसोतसो खुवाउने योजना छ तर त्यसपछि के गर्ने भन्नेबारे अहिले नै भन्न सकिँदैन ।’

इन्जिनियरिङ पढ्नका लागि बुबा (राजाराम यादव) ले उनलाई भारत पठाएका थिए तर उनी भारतमा टिक्न सकेनन् । आफ्नै देशमा बसेर गरिब, असहयोगको सेवा गर्दै अध्ययन अघि बढाउन सकिने निष्कर्षका साथ उनी नेपाल फर्किए ।

कोरोनाको बेला सडकमै खाना खुवाउन सुरु गरेपछि उनलाई आमाबुबाले रोकेका थिए । तर परिवारको कुरालाई बेवास्ता गर्दै उनी निरन्तर आफ्नो अभियानमा लागिरहे । परिणामस्वरुप उनका आमाबुबा पनि काठमाडौं आएर छोराको अभियानलाई सघाएका थिए । 

ट्राफिक नियन्त्रणमा सहयोग
आशाराम १६ वर्षको हुँदा सडकमा अलपत्र परेकाहरुको उद्धार कार्यमा लागेका थिए । सडकमा कतै असहाय मानिस देखियो कि उद्धार गरेर आश्रम तथा उसका घरपरिवार वा प्रहरीलाई जिम्मा लगाउँदै हिँड्थे उनी । उद्धार गरेर आश्रममा पठाइएकाहरुको बारेमा आश्रममै गएर हालखबर बुझ्ने, केही आवश्यक छ भने सहयोग गर्ने काम पनि उनी गरिरहेका हुन्छन् ।

उनले भने, ‘मेरो कुनै मिसन छैन, सडकमा हिँड्दा कसैलाई केही अप्ठ्यारो देखियो कि सहयोग गर्न मन लाग्छ र म सहयोगका लागि जुट्छु । त्यसलाई के सहयोग गर्नुपर्छ, आफ्नो तर्फबाट सकेसम्म गर्छु ।’
राजधानीको सडकमा धेरैलाई उनले बाटो काट्न सघाएका छन् । २०७१ सालतिर राजधानीका सडकमा ट्राफिक लाइट प्रभावकारी नहुँदा मान्छेलाई बाटो काट्न निकै गाह्रो भइरहेको थियो । त्यो बेला भिडभाड हुने बानेश्वर, कोटेश्वर, कलंकी, चावहिलजस्ता चोकमा मान्छेलाई बाटो कटाउने काममा पनि उनले सहयोग गरेका थिए ।

यी सब काम उनी एक्लै गर्दैनन्, त्यसका लागि उनले युवाहरुको एउटा समूह बनाएका छन् । ‘हन्ड्रेड गु्रुप’ नामको समूह बनाएर उनले संगठित रुपमा समाजसेवालाई अघि बढाएका छन् । मानिसलाई परेको समस्यामा सेवा र सहयोग गर्नका लागि यो ग्रुप जतिखेर पनि तयार रहने उनले बताए ।

गरिब तथा असहायहरूलाई सहयोग गर्नुपर्छ भन्ने सानै देखिको आफ्नो सोचअनुसार साथीहरुसँग मिलेर सहयोगका काम सुरु गरेपछि मात्र आफूले यस्तो कामलाई ‘समाजसेवा’ भनिँदो रहेछ भनेर बुझेको उनको भनाइ छ । ‘सुरुमा समाजसेवा के हो भन्ने पनि थाहा थिएन, काम गर्दै जाँदा हामीहरुले गर्दै आएको कामलाई पनि समाजसेवा भनिँदोरहेछ भन्ने थाहा पायौं,’ उनले भने, ‘मेरो यो कुनै एनजीओ होइन, कहीँ प्रपोजल हालेर पैसा ल्याएर गरेको काम होइन, कुनै दाताले सहयोग गरे भने ठिकै छ नत्र साथीहरुबाट चन्दा उठाएर, त्यो पनि नभए आफ्नो खल्तीबाटै सहयोग गर्दै आएका छौं ।’

भूकम्पपछि राहत तथा सहयोग

२०७२ सालमा आएको भूकम्पका बेलामात्र उनले समाज सेवा के हो भन्ने थाहा पाएका थिए । भूकम्प आएको बेला उनको समूहले ठाउँ ठाउँमा गएर उद्धार गर्नुको साथै राहत वितरण गरेको थियो । घर मर्मतमा पनि उनको समूहले तीन÷चार महिनासम्म सहयोग गरेको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा खटिएपछि उनलाई धेरै कुराको ज्ञान भयो । मान्छेको पीडा र दुःखलाई उनले नजिकबाट नियाल्ने मौका पाए । त्यसले उनलाई समाजसेवाप्रति झन् आकर्षित ग¥यो । बाटोमा अलपत्र परेका तथा सडकमा भेटिएका असहायलाई सेवा गर्ने, बालबालिकालाई उद्धार गर्ने काम पनि उनले गरे । रिङ रोडभित्र टिपरलाई राति आठ बजेपछि मात्र चल्न दिने निर्णय गर्न सरकारलाई बाध्य पार्ने पनि उनकै समूह हो । टिपरको ठक्करबाट एकजना साथीको निधन भएपछि उनीहरुले टिपरलाई रातको समयमा मात्र सञ्चालन गर्न दबाब स्वरुप अभियान नै चलाएका थिए । ट्राफिक प्रहरी कार्यालयदेखि यातायात मन्त्रीसम्मलाई भेटेर उनीहरुले दबाब दिएका कारण राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र टिपर चल्न दिने नियम बनाइएको थियो ।

कोरोनाको कहरमा निःशुल्क खाना
कोरोनाको महामारी सुरु भएपछि सरकारले लकडाउन जारी ग¥यो । लकडाउन लगत्तै काठमाडौंमा मानिस निकै त्रसित बने । मान्छेहरु पैदल हिँडेरै आफ्नो गन्तव्यतिर जान थाले । हुने खानेहरु घरमा बस्न थाले भने असहायहरु सकडमा छटपटिन थाले । त्यो देखेर आशारामलाई असह्य भयो । लकडाउनका कारण सबै आ–आफ्नो घरमा थिए । कोही घरबाट निस्किरहेका थिएनन् । कोही कसैसँग भेट्न पनि मानिरहेका थिएनन् । यस्तो अवस्थामा उनलाई केही गर्ने आँट पनि आइरहेको थिएन । 

त्यो बेला कसैसँग सहयोग माग्ने वा बैठकहरु बसेर योजना बनाउने अवस्था पनि थिएन । उनका बुबाले इन्जिनियरिङ परीक्षाका लागि डेढलाख रुपैयाँ पठाएका थिए । त्यही रकमबाट उनले पैदल हिँडेर घर जानेहरुका लागि गाडी एवं खानपिनको व्यवस्था गरे । 

दैनिक ज्यालादारीमा काम गर्दै आएका कयौं श्रमिकले लकडाउनका कारण रोजगारी गुमाए । यस्तो अवस्थामा उनीहरुका लागि आशाराम र उनको समूहले ठाउँ ठाउँमा खाने व्यवस्था गर्न थाल्यो ।
त्यो बेला प्रहरीबाट पाएको दुःखको फेहरिस्त लामो रहेको उनी बताउँछन् । असहाय र दुःखीहरु भएकै ठाउँमा गएर खाना खुवाउँदा टोलवासीहरुले लखेटेर भगाएको पनि उनले बताए । त्यसपछि उनले टुँडिखेलमा खाना खुवाउन थाले । दैनिक झण्डै एकहजार भन्दा बढी मान्छेलाई खानाको व्यवस्था गर्नुपर्थ्यो । त्यसका लागि दैनिक २० देखि २५ हजार रुपैयाँ खर्च हुन्थ्यो । आफूसँग भएको सबै रकम खर्च भयो । साथीभाइहरुले दिएको रकम पनि खर्च भयो । ‘कोरोना र लकडाउनका कारण कतैबाट सहयोग पनि आइरहेको थिएन,’ उनले भने, ‘त्यतिबेला निकै गाह्रो भएको थियो ।’

तीन/चार महिना त आर्थिक अवस्था कमजोर हुँदा निकै गाह्रो भएको उनले सुनाए । ‘त्यो बेला खाना खुवाउने अभियान नै छाडौंजस्तो अवस्था आएको थियो,’ उनले भने, ‘ग्रुपमा रहेका साथीहरुले पनि खाना खुवाउने अभियान छाडौं, अब सकिँदैन भनेर कतिपय साथी पछाडि हटे । मचाहिँ यो खाना खुवाउने अभियान कुनै पनि हालतमा नरोक्ने भनि लागिरहेँ ।’

केही उपाय नलागे आफ्नो घर खेत बेचेर पनि खाना खुवाउने अभियानलाई निरन्तरता दिने सोच बनाएर आफू अघि बढेको उनको भनाइ छ । दाल, तरकारी नभएको दिन गहुँको आँटामा पानी घोलेर पकाएर खुवाएको दिन पनि उनले स्मरण गरे ।

आफूले चलाएको अभियानमा फिल्म खेल्ने हिरोइनदेखि काठमाडौंमा घर बनाएर बसेकाहरु पनि खाना खान आएको उनले बताए । ‘एकजना हिरोइनले मलाई फोन गरेर आफ्नो हालत एकदमै खराब छ, केही छ भने सहयोग गर्न भन्नुभएको थियो,’ उनले भने, ‘म सहयोग लिएर उनको घरमा पुगेको थिएँ, त्यतिबेला ठूला ठूला महल हुनेहरु पनि सकडमा आइसकेका थिए । खाना खुवाउने ठाउँमा यस्ता यस्ता व्यक्ति पनि खान आउँथे, म आफै आश्चर्यमा पर्थेँ ।’
पछि त महानगरपालिकाले नै टुँडिखेलमा खाना खुवाउन नदिने भनेर खबर पठायो । तर आफूहरुले जसरी पनि खुवाउने अडानमा बसेको उनले बताए । लकडाउन हटेपछि मान्छे कम हुँदै गयो । त्यतिबेला एउटा ठूलो ट्रक ल्याएर त्यहाँ खाना खान आएका सबैलाई सोही ट्रकमा राखेर थापाथलीस्थित बागमती किनारमा लगेर छाडियो । त्यो बेलादेखि सोही स्थानमा खाना खुवाउँदैछन् आशाराम र उनको समूहले । आशारामको बानेश्वरमा आफ्नै घर छ । त्यो घरमा अहिले पनि दैनिक डेढ सयदेखि दुईसय जनाका लागि खाना पाक्छ र थापाथली लगेर खुवाउने गरिएको उनले बताए ।

सहयोग जुट्न छोड्यो
कोरोनाका महामारी र लकडाउन हुँदा निःशुल्क भोजन अभियानका लागि ठाउँठाउँबाट सहयोग जुट्थ्यो । तर अहिले कहीँबाट सहयोग नआएको उनले बताए । उनले भने, ‘पहिलाको अलिअलि पैसा बाँकी थियो, त्यसबाट काम चलाईरहेको छु, एक हप्तासम्म चल्छ ।’ त्यसपछि के गर्ने भन्नेबारे अहिले उनले कुनै योजना बनाएका छैनन् ।  तर चैत १४ गतेसम्म यो अभियानलाई जारी राख्नका लागि उनले आँट गरिसकेका छन् । ‘कतैबाट कुनै सहयोग नआए आफ्नै स्रोतबाट खर्च गरेर भए पनि चैत १४ गतेसम्म खाना खुवाउने सोचमा छौं,’ उनले भने ।

थापाथलीमा अझै दैनिक डेढ सयदेखि दुई सयजना मान्छे खाना खानका लागि आउने गरेको उनले सुनाए । ‘त्यसमा अधिकांश अपाङ्ग, असहाय, सडक मानवहरु छन्,’ उनले भने, ‘कोरोनाको कारण खान नपाएको मान्छे अब छैनन् तर पनि पेटभर खाना खान नपाउने मानिस अझै रहेकाले उनीहरुलाई खुवाउन आवश्यक देखिएको छ ।’ आफू बाँचुन्जेल समाजसेवामै समर्पित रहने उनको भनाइ छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Feb. 23, 2021, 5:47 p.m. MADHAV KARKI
    Mero koti koti naman chha, Asha Ram Yadav ji; Hats off to you; I salute you for your slefless social service and full dedication; You are a true role mdel to our youth friends.
  2.  0 Reply
  3. Feb. 23, 2021, 5 p.m. सपोर्ट
    क्या बात यादव जी! तपाईबाट धेरै चीज सिक्नु छ ।
  4.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.