कविता: किन सुन्दर हुन सकेनौ ?
तिमी आफैँमा दुखी छौ,
सहनशीलता छ र अटल छौ,
तिमी धैर्यताको खानी हौ
तिम्रा पीडा हामीले बुझेका छौँ
तिमी आफ्नो छात्तीमा
घाउ बनाएर डङ्ग्रङ्ग भुइँमा
लमतन्न पछारिएर छटपटाउँदै
रोइरहेको छौ,
आफ्नो अस्तित्वको
सुरक्षा खोजिरहेको छौ,
तिमी अशक्त भएका छौ,
घाइते भएका छौ,
तर हामी बुच पचाइरहेका छौ
लाज पचाइरहेका छौ,
तिमी बिरामी भएको थाहा भएपछि
तिम्रो उपचारका लागि
एक्सपर्ट विज्ञको साथमा
सुन्दर डक्टर पठाइसकेको
आधा दर्जन महिना वितिसक्यो,
तर तिम्रो घाउ अझै निको हुन सकेन,
उल्टो घाउँ थपिएको छ
प्रिय काठमाडौँ
तिमी, हजारौँ नागरिकको काख बन्दिएको छौँ
हजारौँ मान्छेलाई सुविधा दिएको छौँ
राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा
आफ्नो नाम दर्ज गराउन,
चर्चा परिचर्चा कमाउन,
सफल भएको छौँ
तर किन यति कुरूप भयौँ ?
राजधानी अर्थात् देशको मुटु
हरेक जिल्लासँग नशा जोडिएको छ
आफ्नै संस्कार छ, यहीबाट आफ्नो
सन्देश छाडेको छौँ,
धार्मिक, सांस्कृतिक, भौगोलिक
विविधताले भरिपूर्ण
स्वयम्भुको डाँडा होस
वा पशुपतिको खाल्डो,
विष्णुमतीको जल होस वा
गोदावरीको छहरे खोला
एक हत्केलामा सबै अटाउँन
सक्ने महान काठमाडौँ हौ तिमी ।
सबैको नजरमा उत्तिकै
महत्वकांक्षा र आत्मासन्तुष्टि
दिने महान काठमाडौँ
आफू कुरूप भएर पनि
सुन्दर व्यक्ति पाएको छौँ ।
तिमीलाई सुन्दर पार्नकै लागि
तिम्रो प्राकृतिक बुट्टामा अप्राकृतिक
रङ भर्नको निमित्त सुन्दर व्यक्ति
ठूलो सोच लिएर हाम फालेको थिए
तर खै ती सुन्दर व्यक्ति अझै सुन्दर भए
मोटाए हृष्टपुष्ट भए तर
तिमी काठमाडौँ चाहिँ
जहिल्यै उहीँ अनि उस्तै
कस्तो विडम्बना हो यो,
सुन्दर मान्छे,
तिम्रो नाममा रङ्ग भर्न
हतारिँदै हौसिँदै आएका थिए
तर खै ती मान्छे ?
तिमीले सुन्दर मान्छे
पाएर पनि विधुवाझैँ बस्नुपर्ने,
तिम्रो पनि आफ्नै बाध्यता होला
तर हामीले बुझ्न सकेनौ काठमाडौँ
र कहिल्यै सोच्न सकेनौँ
तिमी यसरी विधुवा झैँ
ठिङ्ग्रिङ्ग उही अनि उस्तै
भएर बस्नेछौँ,
अझ विधुवा झँै देखिनेछौँ भनेर..
अक्सर, तिम्रा निम्ति लागिपरेका
तिम्रो निम्ति खरबौँ बजेट लिएर
बाटो लागेकाहरू बाटोमै हराए
उत्तै विलाए
आफू सुन्दर भए
अनि तिमीलाई,
विधुवाझँै कुरूप बनाए
मेरो प्रश्न छ काठमाडौँ
सुन्दर मान्छे पाएर पनि
तिमी किन सुन्दर हुन सकेनौँ ?
-हरि थापा