शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इजराइलका लागि नेपाली राजदूत निरन्जन थापासँगको अन्तर्वार्ता : ‘लर्न एन्ड अर्न प्रोग्राम’लाई व्यवस्थित बनाउन केन्द्रित छु

शुक्रबार, ०१ मङ्सिर २०७४, ०९ : ४८
शुक्रबार, ०१ मङ्सिर २०७४

 इजरायलका लागि नेपालका राजदूत महामहिम निरन्जन थापासँग इजरायलमा नेपाली कामदारको अवस्था, नेपाल र इजरायलबीचको ऐतिहासिक कूटनीतिक सम्बन्धलगायत समसामायिक विषयमा जनता टेलिभिजनका सञ्चारकर्मी प्रकाश विशुन्केले गर्नुभएको कुराकानीको सम्पादित अंशः

इजरायल र नेपालबीचको कूटनीतिक सम्बन्ध निकै पुरानो र ऐतिहासिक  मानिन्छ । इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र पनि हो । कसरी अघि बढ्दै छ यो सम्बन्ध ?
इजरायल र नेपालका तात्कालीन नेताहरूले दूरदर्शी हिसाबबाट सोचेर जसरी इजरायलसँग मित्रता गाँस्नुभयो, यो प्रशंसनीय छ । संसारको अग्लो शिखर रहेको नेपाल र इजरायल संसारकै होचो स्थान ‘डेड सी’ रहेको इजरायल निकै दुरीका हिसाबमा  टाढा रहेको भए पनि इजरायलसँग मित्रता गाँस्नुपर्छ भनेर जसरी तात्कालीन नेताहरूले प्रयास गरे, अहिले यो मित्रता ५७ वर्षमा पुगेको छ । इजरायलबाट हामीलाई निरन्तर सहयोग हुँदै पनि आएको छ । रोजगार र कृषि क्षेत्रमा इजरायलले पु¥याएको योगदान, नेपालमा गएको भूकम्पमा उसले गरेको निःस्वार्थ सहयोग हामीले विर्सन सक्दैनाँै । इजरायलले हामीलाई दिन्छ तर अरू देशले जस्तो लिने स्वर्थ केही छैन । यसकारण, इजरायल हाम्रो असल मित्र हो, इजरायलसँगको कूटनीतिक सम्बन्ध हाम्रो निकै राम्रो छ ।


इजरायल भन्नेवितिक्कै रोजगारीको कुरा आउँछ ।  केयर गिभर र कृषि क्षेत्रमा लर्न एन्ड अर्न प्रोग्रामको विषय पनि जोडिन्छ, चर्चा गरिए अनुसार कामदार किन पठाउन नसकेको नेपाल सरकारले ?
यो निकै महत्वपूर्ण र चूनौतीपूर्ण प्रश्न छ, अरू देशको जस्तो शारीरिक शोषण, आर्थिक शोषणका विषयमा चिन्ता लिनुपर्ने समस्या छैन । यहाँ जो केयर गिभरमा आउनुभएको छ, उहाँहरू आफै नै  तलब र आफूले गर्ने काममा सन्तुष्ट हुनुहुन्छ । इजरायलमा विशेषतः केयर गिभरमा फिलिपिन्स, श्रीलङ्का, भारत र नेपालबाट धेरै महिलाहरू आउने गर्दछन् । त्यसमध्ये पनि  इजरायलीहरूले नेपालीहरूको काम अति नै मन पराउँछन् किनकि आफ्ना बाबुआमाको स्याहार गर्ने, वृद्धवृद्धाको हेरचाह गर्ने स्वभाव त नेपालीहरूको रगतमै मिसिएको हुन्छ । तर जुन १५ हजारको सङ्ख्यामा रहेका महिला कामदारहरू यहाँ थिए । अहिले घट्ने क्रम जारी छ । दुःखको कुरा के छ भने यहाँ न नेपाल सरकारको गल्ती छ न इजरायल सरकारको दोष छ । तर कुरा के भने जति नेपालहरू यहाँ आए, ती व्यक्तिहरूलाई नेपालका  म्यानपावरहरूले धेरै पैसा लिएर इजरायल पठाएको भन्ने उजुरी स्वयम् नेपालीबाटै भयो । उजुरी अदालतसम्म पुगेपछि विवाद धेरै बढ्यो र इजरायल सरकारले प्राइभेट सेक्टरबाट मान्छे नल्याउने भनेपछि त्यो प्रकृया रोकियो । अहिले पाइलट प्रोजेक्ट अर्थात जी टु जी प्रकृयाबाट सुरुमा ५० जना आइसके । यस पालि ६० जना पास भएको मा ५, ६ जना आइसकेका छन् । अरू आउने तयारीमै छन् । तर यो जी टु जी प्रकृया सोचेअनुरूप सफल हुन सकेको छैन । यसकारण महिलाहरूको सङ्ख्या  यहाँ घट्दै गइरहेको छ । म यसैका लागि कसरी इजरायलमा कामदारको सङ्ख्या बढाउन सकिन्छ भनेर म आफै सक्रिय भएर लागरिहेको छु ।

किन ढिलासुस्ती भइरहेको हो सरकारी प्रकिृयाबाट कामदार ल्याउने कुरामा । कुरा कहाँ बिग्रिराखेको छ खासमा ?
नेपाल सरकारबाट त त्यस्तो तलमाथि हुने कुरै छैन, हामी त लागिपरिरहैकै छौँ । इजरायल सरकारले पनि प्रयास नगरेको भन्न मिल्दैन । यो पाइलट प्रोजेक्ट सफल होला कि भनेर प्रयास गरिरहेकै छ । अब, इजरायलमा नेपाली कामदार बढाउने दुवै देशको सरकार तयार नै छ । यसैले विभिन्न चरणमा बैठकहरू चलिरहेकै छन् तर सफलता भने हात पर्न सकेको छैन ।

‘जी टु जी’बाट जाँदा अन्य देशको कामदारको तुलनामा नेपाली कामदारलाई तलब, सेवा, सुविधा के कस्तो छ ?
नेपाली कामदारको सेवा सुविधाको कुरा अघि बढाउनुभन्दा पहिले सुुरुमा त, ‘जी टु जी’ प्रकृयालाई नै कसरी सरलीकरण गर्ने भन्नेतर्फ लाग्नु पर्यो । अहिलेको यो ‘जी टु जी’ प्रकृयामा सरकारको कुनै भूमिका नै देखिएको छैन । यसलाई सुरुमा व्यवस्थित बनाउन यहाँस्थित श्रम मन्त्रालय र दूतावासबीच आवश्यक समन्वय हुनु जरुरी छ, जो हुन सकिरहेको छैन । यहाँ नेपाली कामदारको माग बढे पनि अरू देशको तुलनामा यो प्रकृयामा हामी अलि पछि परिरहेका छौँ ।

यस्तो अवस्थामा के गर्न सकिन्छ त ?
इजरायलमा नेपालीको माग भइराखेको अवस्थामा म आफैभन्दा पनि दुई देशको सरकार, श्रम मन्त्रालय र सम्बन्धित पक्ष बसेर छलफल भर्न सकिन्छ । यद्यपि विभिन्न चरणका छलफल भने भइ नै राखेका छन् । इजरायल सरकार तयार भएको अवस्थामा प्राइभेट सेक्टर  अर्थात् म्यानपावरबाट नै पनि कामदार पठाउन नेपाल सरकारले बाधा गर्दैन ।

नेपाली कामदार बढीभन्दा बढी ल्याउन दूतावासले के पहल गर्दैछ र गर्छ ?
म प्रयास गरिहेको छु, सम्भवत मेरो कार्यकालमा यसलाई सफल बनाउनमै मेरो कोसिस जारी छ ।

हुन त सरकारी प्रकृया मार्फत न्यूनतम शुल्कमा इजरायलमा आउने भन्ने नै छ, के ‘फ्री भिसा फ्री टिकेट’को विषय उठाउन सकिएला अरू खाडी मुलुकमा जस्तै ?
अहिले त यो कुरा गर्ने कुरै भएन । हामी अझै उपयुक्त श्रम सम्झौताको प्रकृयामै छौँ । ‘जी टु जी’ प्रकृयालाई नै कसरी व्यवस्थित बनाउने भन्नेतर्फ ध्यान केन्द्रित छ ।

म्यानपावर व्यवसायीहरू त सरकारी प्रकृया फेल भयो भन्दै प्राइभेट सेक्टरबाट कामदार लैजान लबिङमा छन् भनिन्छ नि ?
डेफिनेट्ली, म्यानपावर व्यवसायीहरूले त अवश्य पनि प्राइभेट सेक्टरबाटै कामदार पठाउन भाइयोस भनिरहेकै छन् । उनीहरूले त सरकारी प्रकृया फेल खायो अब प्राइभेटबाट नै पठाउनुपर्छ भन्छन् नि । तर यसका लागि त इजरायल सरकार नै तयार हुन पर्यो नि । इजरायल सरकारले जस्तो प्रकृयाबाट जति  पठाऊ भन्छ, हामी नेपाल सरकारले सो अनुसार गर्ने हो । इजरायल हाम्रो मित्र राष्ट्र भएकाले अनुरोधसम्म हामी गर्न सक्छौं, अनुरोध गरिरहेका छौँ तर निर्देशन दिन सक्दैनौँ । प्रयास जारी छ ।

इजरायलमा जम्मा ३ प्रतिशत मानिस कृषिमा छन् तर पनि त्यसबाट समग्र देशलाई नै धानिराखेको छ । नेपाल कृषि प्रधान देश भईकन पनि हामीलाई खाद्य सामग्रीको लागि चीन र भारतकै भर पर्नुपरेको छ । वर्षैपिच्छे, नेपाली युवाहरू  लर्न एन्ड अर्न प्रोग्राममा  यहाँको आधुनिक कृषि प्रविधिको विषयमा सिकेर जान्छन् । तर प्रगति सोचे अनुरूप सङ्गठित हुन सकेको छैन । इजरायलले सिकाउन खोजेको कुरो नेपालले कहिले सिक्ने ?

३ प्रतिशतले कृषिमा उत्पादन गरेर इजरायलभित्र मात्रै धानिराखेको छैन तर यहाँका उत्कृष्ट उत्पादनहरू युरोप अमेरिकातिर पनि निर्यात हुन्छन् । यहाँ आएका सबैले सिकेर गएर नेपालमा कृषि नै गरेका छन् भन्ने त छैन तर केहिले भनौँ ५ देखि १० प्रतिशत व्यक्तिले यहाँको आधुनिक कृषि प्रविधि सिकेर नेपालमा कृषिलाई आयआर्जनको मुख्य स्रोत बनाएका छन् । उनीहरू थप उत्साहित पनि छन् । यता, तपाईंले भने जस्तो, सङ्गठित रूपमा जति हुनुपर्ने हो आजको दिनसम्मा त्यो हुनसकेको छैन । कारण वास्तविक किसानी गरिरहेका मान्छे इजरायल आउन सकिरहेका छैनन् । यहाँ आउनेमा इजरायल सरकारले तोकेको मापदण्डअनुसार प्रायजसो सबै पढेलेखेका र सीप सिक्नेभन्दा पनि पैसा कमाउने कुरामा मात्र केन्द्रित युवापुस्ताको जमात देखिएको छ । मेरो प्रयास यसमा छ कि, अहिले को ११ महिने ‘लर्न एन्ड अर्न प्रोग्राम’ अलि छोटो भएका कारण यस कार्यक्रमको अवधि बढाएर  र वास्तविक किसानलाई इजरायलमा यो कार्यक्रममा  समावेश गराउन सकियो भने सोचे अनुरूप यहाँको सिकाइलाई सङ्गठित बनाउन सकिन्थ्यो ।

वर्षमा कति युवाहरू आउँछन लर्न एन्ड अर्न प्रोग्राममा  ?
११ महिने ‘लर्न एन्ड अर्न प्रोग्राम’मा भाग लिन एक वर्षमा लगभग ५०० युवाहरू नेपालबाट आउँछन् । इजरायलका ५ वटा कृषि क्याम्पसमा उनीहरू भर्ना हुन्छन् ।

सिकेर गएका सबैले कृषि गरेकै छन् भन्ने त छैन, तर फिड्ब्याक कस्तो पाइन्छ नेपालबाट, नेपाल सरकारले कतिको प्रोत्साहन दिन्छ, नेपाल फर्केका युवाहरूलाई कृषि पेसा अपनाउन ?
यसबारे हाम्रो भूमिका केही नहुने भएकाले दूतावासलाई खासै जानकारी आउँदैन । यहाँबाट सिकेर नेपाल गएपछि सरकारलाई पनि यसबारे खासै जानकारी हुँदैन । नेपालको साना किसान नामक गैह्र सरकारी संस्था र इजरायली दूतावासले छनोट गरेर यो कार्यक्रममा  युवाहरू ल्याउने भएकाले नेपाल सरकारलाई पनि कतिपल्ट सूचनाको अभाव भइराखेको छ । पछिल्लोपटक दूतावासलाई ११ महिने तालिमको दीक्षान्त समारोहमा चाहिँ बोलाउने गरिएको छ । यसमा पहिलेबाट नै सरकार प्रत्यक्ष सहभागी भएको भए झन् राम्रो हुन्थ्यो । तर नेपाल सरकार र इजरायल सरकारबीच यो विषयमा अलि कोर्डिनेसनको कमी देखिएको छ । त्यो कमी पूरा भयो भने नेपालको आधुनकि कृषि विकासलाई थप सङ्गठित बनाउन सकिन्थ्यो ।

इजरायलमा नेपाली कामदारको अक्सर समस्या के छ ? कस्ता कस्ता समस्या लिएर दूतावास आउने गरेका छन् नेपालीहरू ?
अरू देशको जस्तो शारीरिक शोषण, आर्थिक शोषणका विषयमा चिन्ता लिनुपर्ने समस्या छैन । यहाँ जो केयर गिभरमा आउनुभएको छ, उहाँहरू आफै नै  तलब र आफूले गर्ने श्रममा सन्तुष्ट हुनुहुन्छ । तर अलिकति दुःखी म केमा छु भने यहाँ आएका  प्रायः केयरगिभर महिलाको परिवारमा समस्या आएको देखिन्छ । म आए पश्चात ६, ७ वटा सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षर गर्नुपर्यो । रोजगार र पारिवारिक सम्बन्धको सन्तुलन  नमिलेका कारण यहाँ सम्बन्ध विच्छेदका लागि निवेदन लिएर आउँछन् । यसबाहेका छिटपुट, कहिलेकाहीँ ड्युटी बढी गरे पनि पारिश्रमिक थोरै पाएको निवेदन आइपुग्छ । अन्य  देशको तुलनामा  हामीकहाँ समस्या खासै छैन भनौँ ।

तपाईंको कार्यकालमा इजरायल र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तपाईंको योजना कस्तो छ ?
सबैभन्दा पहिला विगत ७ वर्षदेखि इजरायलको उच्च स्तरको सरकारी प्रतिनिधिमण्डल नेपाल गएको छैन । त्यो र अरू कुनै कारण नेपाल सरकार र इजरायल सरकारबीच केही तलमाथि भएको छ भने दुई पक्ष बसेर सो विषय मिलाउने वातावरण बनाउन मेरो प्रयास जारी रहनेछ ।

अर्को, केयर गिभरको साथसाथै ‘लर्न एन्ड अर्न प्रोग्राम’ लाई व्यवस्थित बनाउने कुरामा म केन्द्रित छु । साथै यहाँका व्यवसायीहरूलाई नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गर्दै आएको छु । धेरै नेपालीहरू इजरायल आउन चहान्छन् तर नेपाल–इजरायल सिधा रुट नभएकाले भाडा निकै महँगो पर्छ । उद्देश्यहरू धेरै छन् तर जटिल । त्यसैले कूटनीतिक पक्षबाट मैले सकेको पहल गरिरहेको छु । 

इजरायलका नागरिकले नेपाल घुम्न आउन औधी मनपराउँछन्, हाम्रो पर्यटकीय देश नेपाल घुम्न आउने पर्यटकहरूको सङ्ख्या वृद्धि गर्न के काम गर्न सकिन्छ ?
मलाई लाग्छ, नेपालको नाम नसुन्ने र थाहा नहुने इजरायली नै छैनन् भन्ने मलाई लाग्छ । उनीहरूलाई ‘नेपाल इज अ ब्युटिफुल कन्ट्री’ भन्ने राम्रोसँग थाहा छ । ८० लाख जनसङ्ख्या भएको देशबाट ५ हजारभन्दा बढी पर्यटक जान्छन् । नेपालका लागि यो राम्रो हो । अझै इजरायलीहरू नेपाल भ्रमण गरून् भन्ने उद्देश्यले हाम्रो तर्फबाट मौखिक होस् या सामाजिक सञ्जाल, विभिन्न माध्यमबाट हामीले विज्ञापन गरिरहेका छौँ । यहाँ आर्मीमा २ वर्षे सेवा सकेर प्रत्येक युवाहरू केही समयलाई भ्रमणमा निस्कन्छन् र प्रायको पहिलो रोजाइमा नेपाल नै हो ।

आफ्नो सक्रिय राजनीति एकातिर छाडेर राजदूत भएर इजरायल आउनुभएको छ, देशको राजनीति गर्न सजिलो कि कूटनीतिक काम ? अनुभव कस्तो हुँदैछ ?
प्रश्न निकै राम्रो गर्नुभो तर उत्तर दिन जटिल । मेरो जीवन त लगभग राजनीतिमा नै बित्यो । ३ पटक मन्त्री भएर देश र जनताको सेवा गरेँ । राजनीतिसँगै कूटनीतिक हिसाबमा पनि सेवा गर्ने रहर थियो । सुरुमा रुस र बर्माका लागि राजदूत सिफारिस भए पनि तेस्रो पटकको क्याबिनेटले इजरायलको लागि भनेर निर्णय गर्यो । सोअनुसार म राजदूत भएर यहाँ आएँ । म एउटा सक्रिय राजनीति गर्दै आएको मान्छे भए पनि मलाई फरक काम गर्न मन पर्छ । तर कूटनीतिक सेवामा भाषणभन्दा धेरै साङ्केतिक भएर काम गर्नुपर्छ । फलस्वरूप राजदूतको रूपमा म यहाँ आएको छु । यसमा  काम धेरै गर्नुपर्ने तर  नबोलीकन । हामी राजदूतहरू नबोलीकन नै धेरै काम सम्पन्न गर्छौं । बोलिराख्नुपर्ने मान्छेलाई अलि गारो हुँदो रहेछ तर यसमा अभ्यस्त हुने प्रयासमा छु । जीवनको विभिन्न कालखण्डमा कुशल प्रशासक भएर काम गरेँ, कुशल कानुनविद भएर काम गरेँ, अब कुशल कूटनीतिज्ञ भएर देश र जनताको कल्याणको गरौँ भन्ने चिन्तन हो मेरो ।

अन्त्यमा, नेपालले इजरायलबाट सिक्न सक्ने र सिक्नैपर्ने कुरा के हुनसक्छन् ?
सबैभन्दा पहिले नेपालले इजरायलबाट सिक्नुपर्ने कुरा भनेको परिश्रम नै हो । एउटा मरभूमिलाई यहाँका मानिसहरूको कडा मेहेनतले नै इजरायललाई हराबरा बनाए ।  जम्मा ८० लाख जनसङ्ख्या भएको सानो देश जसको चारैतिर शत्रु नै शत्रु छन् तर पनि उनीहरू सुरक्षित भएर बस्न सक्ने लगनशील र पौरखी भएको देश हो । हाम्रो नेपाल त्यसै पनि सुन्दर र प्रकृतिले धनी देश नेपाललाई समृद्ध बनाउन इजरायलबाट सिक्नुपर्ने भनेको मुख्यतः परिश्रम नै हो । अर्को भनेको इजरायल एउटा धार्मिक सहर जस्तो लाग्छ मलाई । यहाँ सबाथ (विश्राम दिन) लागेपछि कोही पनि मानिसहरू काम गर्दैनन्, धर्मलाई पनि प्राथमिकता दिन्छन् । इजरायलले आफ्नो देशलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गरेको छ । नेपालमा पनि धेरै मठ, मन्दिर, ऐतिहासिक धार्मिक स्थल, धर्महरू भएका कारण हाम्रो देशलाई  धार्मिक पर्यटकीय स्थलका रूपमा अघि बढाउन सकिन्छ  जस्तो लाग्छ । नेपालले  इजरायलबाट  सूचना तथा प्रविधि विकासको बारे धेरै कुरा सिक्न सकिन्छ । यो विषयमा उनीहरू धेरै विज्ञ छन् ।

नेपालले अर्को सिक्नैपर्ने भनेको पानीको भरपूर सदुपयोग हो । यहाँको बाथरुममा प्रयोग भएको एक थोपा पानी पनि खेर नफाली त्यो सम्पूर्ण पानीलाई खेतीमा लगाउँछन् (कृषिमा प्रयोग गर्छन्) । इजरायल  देश भनेको एउटा ‘पाइप’को रूपमा बुझ्छु, गज्जबको कुरा यो छ कि यहाँ रोपिएका प्रत्येक रूखमा पाइपबाट पानी पुग्छ । थोरै पानीले यहाँ पिउन, खेती गर्न र दैनिकी चलाउन र पानी अनावश्यक खेर जान नदिन इजरायलले विकास गरेको प्रविधि नेपालले सिक्नुपर्छ । अन्तिम र इजरायलबाट सिक्नैपर्ने महत्वपूर्ण विषय भनेको राष्ट्रियता र सेवा भाव हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप