शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड झापा : हात्ती अघिअघि नेता पछिपछि !

सोमबार, ११ मङ्सिर २०७४, १६ : १२
सोमबार, ११ मङ्सिर २०७४

नेत्र पन्थी र एसके यादव
 

झापा– दुई वर्ष अगाडि भवानीप्रसाद घिमिरेको हात्तीको आक्रमणमा परी ज्यान गयो । उनी झापा दशरथपुरका बासिन्दा थिए । ६२ वर्ष उमेर थियो । 

भद्रपुर नगरपालिकाको दशरथपुरमा वामगठबन्धनका उम्मेदवार राजेन्द्र लिङ्देनको चुनावी भाषणा सुन्न आएका थिए भवानीप्रसादका भतिज विशाल । हात्तीबाट पीडित परिवारका सदस्यको हैसियतमा विशालले भने, ‘चुनावमा हात्ती नियन्त्रणको मुद्दा मेरो प्राथामिकतामा हुन्छ ।’

दशरथपुरमा मात्र हात्तीले चार जनाको ज्यान लिएको छ । त्यसैले यहाँका मतदाताका लागि हात्ती नियन्त्रण ठूलै मुद्दा बनिरहेको छ । त्यसैले झापाका प्रतिनिधि सभा र प्रदेशस भाका उम्मेदवार हात्ती नियन्त्रणलाई आफ्नो चुनावी एजेन्डा बनाइरहेका छन् । यहाँका हात्तीपीडित मतदाताले पनि जसले हात्ती आतङ्क समाधान गर्छन् आफ्नो मत उसैलाई जाने बताएका छन् । 

राजनीतिक एजेन्डा र विकासको एजेन्डासँगै हात्ती आतङ्कलाई पनि मुख्य मुद्दा बनाएका त्यहाँका मतदाताले हात्तीको आतङ्कको समस्या समाधान गर्नका लागि पटक पटक नेताले आश्वासन दिए पनि हालसम्म समाधान नभएको गुनासो गर्दै आएका छन् ।

भद्रपुर नगरपालिका–१ का रामप्रसाद अधिकारी भन्छन्– ‘चुनावको बेला यो मुद्दा जोडतोडले उठे पनि चुनावपछि यो मुद्दा हराउने गरेको हुन्छ, अहिले चुनावको समयमा जो नेता पनि हात्ती आतङ्कको समस्या समाधान गर्ने भन्दै आएका छन्, हेरौँ कसले समाधान गर्छन् । जसले समाधान गर्छन् उसैलाई मत जान्छ ।’ 

भद्रपुरको दशरथटोलमा घरदैलो कार्यक्रममा आफ्नो मन्तव्य दिँदै वाम गठबन्धनका राजेन्द्र लिङ्गदेलले आफ्नो प्राथमिकतामा हात्ती आतङ्क हटाउने योजना रहेको रहेको प्रतिबद्धता जनाए । उनले यति मात्रै भनेनन्, आफू कुनै पदमा नभए पनि हात्ती आतङ्कबाट जोगिनका लागि सबभन्दा पहिले उपाय बताएको मतदाता समक्ष दाबी गरेका थिए । ‘हात्ती आतङ्कबाट कसरी जोगिने भनी उपायसम्म मैले बताएको हुँ तर लामो समयदेखि पदमा बस्ने नेताहरूले के गरे ?’ उनले आफ्नो भाषणमा भने । 

झापामा पाँच लाख ८५ हजार २२८ मतदाता छन्, त्यसमध्ये आधा मतदाता हात्ती आतङ्कबाट प्रभावित भएको बताइएको छ । दशरथटोलका सोम तामाङले झापाका आधा जनसङ्ख्या हात्तीको आतङ्कबाट प्रभावित रहेको बताए । झापाका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेश सभामध्ये तीन प्रतिनिधि र सात प्रदेश सभाका क्षेत्र प्रभावित रहेको पाइएको छ ।

तामाङले भने– ‘दशरथपुर आसपास गाउँमा पाँच सयभन्दा बढी घरधुरी यस हात्ती आतङ्कबाट प्रभावित भएका छन् । सबैले कुन यस्तो नेता आउला र यो समस्या समाधान गर्ला भनी पर्खेर बसेको वर्षौं भइसक्यो कतिपयको उठीबास नै भएको छ ।’ 

एक तथ्याङ्क अनुसार झापा क्षेत्र नं १, २ र ३ का एक लाख नौह जार ६७६ मतदाता हात्तीबाट प्रभावित छन् । हात्तीपीडित भनी परिचित बाहुनडाँगी समेत हाल मेचीनगरमै पर्छ । 

जिल्ला वन कार्यालयको तथ्याङ्क हेर्ने हो भने २०६९ साल यता हात्ति आक्रमणबाट झापा–१ मा नौ जनाको ज्यान गइसकेको छ । हात्तीपीडित सोम तामाङले हात्ती आतङ्कबाट सबभन्दा बढी कचन कवल, हल्दीबारी, भद्रपुर र बाह्रदसी जनतापीडित रहेका बताए । तर, त्यसलाई समाधान गर्न कोही पनि अग्रसर नदेखिएको उनले सुनाए । उनले भने– ‘यहाँ एक लाखभन्दा बढी मतदाता रहेका छन् । त्यसमध्ये १३ जनाको ज्यान गइसकेका छन् ।’

झापा–२ मा पनि एक लाख १४ भन्दा बढी मतदाता रहेका छन् । त्यसमध्ये ७५ हजारभन्दा बढी मतदाता हात्ती आतङ्कबाट पीडित देखिएको एक तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये हालसम्म आठजनाको मृत्यु भइसकेका छन् । झापा–४ मा पनि दुई जनाको मृत्यु भएको छ ।

सोम तामाङ भन्छन्– ‘हात्ती आतङ्कका कारण कोही पनि चयनले न सुत्न पाउँछन् न केही गर्न पाउँछन् । चुनावका लागि राष्ट्रिय मुद्दा धेरै भए पनि झापाका मतदाता जो हात्तीबाट पीडित बनेका छन् उनीहरूको मुख्य सरोकारको विषय हात्तीक आतङ्क नियन्त्रण नै हो ।’

झापा–१ मा नेपाली काङ्ग्रेसका नरेन्द्रविक्रम नेम्वाङ र नेकपा (एमाले)का रवीन कोइरालाले यसअघिको चुनावमा सांसद बन्न हात्ती नियन्त्रणको मुद्दालाई चुनावी नारा बनाएका थिए । तर हालसम्म केही पनि नगरेको सो क्षेत्रका मतदाताको गुनासो छ । 

झापा–१ मा पर्ने बुद्धशान्ति–४ गाउँपालिकामा राम कार्कीको चुनावी भाषण सुन्न आएका थिए लक्ष्मीप्रसाद दाहाल । उनले पनि हात्ती आतङ्कलाई चुनावको एउटा मुद्दा भएको बताए । ‘बाहुनडाँगीदेखि हाम्रो बस्तीसम्म हात्तीको आतङ्क छ । यो रोक्ने मुद्दामा पनि भोट जान्छ ।’ उनले सुनाए । 

झापा–१ का वामगठबन्धनका उम्मेदवार हात्ती आतङ्क नियन्त्रण आफ्नो चुनावी एजेन्डा रहेको सुनाए । 

झापा–१ कै काङ्ग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले पनि हात्ती आतङ्क नियन्त्रणमा पहिलादेखि पहल गरेको र अहिले पनि एजेन्डामा परेको बताए । 

भद्रपुर र केचनकवल गरी दुई ठाउँमा कोणसभा गरेका काङ्ग्रेसका नेता कृष्ण सिटौलाले भाषण दिए । तर, हात्ती आतङ्कको कुरा कहीँ उठाएनन् । बरु आफ्ना विपक्षी गठबन्धनका उम्मेदवार राजेन्द्र लिङ्गदेलको विरोधमा नै अधिकांश समय खर्चे । 

झापाको साविक जिल्ला विकास समितिले बाहुनडाँगीमा हात्ती नियन्त्रणका लागि पहिलोपल्ट ३० लाख रुपियाँको बजेटमा सुरुङ बार बनाएको थियो । त्यसअघि लाखौँको खर्चमा मचान निर्माण गरिएका थिए ।

त्यस्तै, विश्व बैङ्कको एक करोडभन्दा बढी रुपियाँको सहयोगमा विद्युतीय तारबार भएका कारण बाहुनडाँगीमा एक वर्षयता हात्तीको समस्या न्यूनीकरण भएको कृष्णबहादुर तामाङ बताउँछन् । 

यसै आर्थिक वर्षमा हात्ती नियन्त्रणका लागि भनेर झापामा नेपाल सरकारले आठ करोड आठलाख रुपियाँ छुट्याएको छ । मानव–हात्ती द्वन्द्व न्यूनीकरण परियोजनाअन्तर्गत दक्षिण झापाको जलथलदेखि उत्तरी झापाको बाहुनडाँगीसम्म नै सोलार फेन्सिङ (सौर्य विद्युत बार) र करिडर निर्माण गर्नका लागि नेपाल सरकारले हालै सो बजेट विनियोजन गरेको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप