शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वामगठबन्धनका अबका चुनौती : समृद्धि कसका लागि र कस्तो चरित्रको ?

सोमबार, ०३ पुस २०७४, १२ : २२
सोमबार, ०३ पुस २०७४

नेपालका वामपन्थी दलहरूले हालै भएको सङ्घीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेका छन् । योसँगै नेपाल र समग्र दक्षिण एसियामा पहिलो पटक सङ्घीय तह, अधिकांश प्रदेशहरू र स्थानीय तहमा समेत वामपन्थीहरूको सुविधाजनक बहुमत रहेको सरकार बन्ने स्थिति पैदा भएको छ । यो ऐतिहाासिक उपलब्धिमा हामी खुशी व्यक्त गर्दछौँ र गठवन्धनमा संलग्न घटक दलहरूलाई तथा यो सम्भव बनाउन मतदानमार्फत निर्णायक भूमिका खेल्ने नेपालका सम्पूर्ण जागरुक मतदाताहरूलाई बधाई दिनैपर्छ । 

चुनावमा वामगठवन्धन सँगसँगै चुनावपछि पार्टी एकताकोे घोषणाबाट आम मतदाता र कार्यकर्तामा ऊर्जा पैदा भएको छ । यसले उत्साह, राष्ट्रियताको सवालमा वामपन्थीहरूले लिएको ऐतिहासिक अडान, राजनीतिक अस्थिरताले ग्रस्त नेपालमा वामपन्थी गठवन्धनबाट पैदा हुनसक्ने देखिन्छ । राजनीतिक स्थायित्व, तथा छोटो समय मात्र भए पनि सरकारमा हुँदा पनि वामपन्थीहरूले जनमुखी–राष्ट्रहितमा कामहरू गरे । यही कारण नै नेपाली जनताले वामपन्थीहरूलाई यति धेरै मात्रामा मतदान गरेका हुन् भन्ने सबैलाई लागेको छ । परन्तु यो विजयबाट अहंकारग्रस्त नहुन्, बरू अझ विनम्रताका साथ प्रस्तुत हुन जरुरी छ । 

सङ्घदेखि स्थानीय तहसम्म आफ्नै अनुकूलको बहुमतको सरकार गठन हुनसक्ने यस्तो अवसर पटक पटक प्राप्त भइरहने कुरा होइन । आपसमा फेरि फुटेर यो अवसरलाई खेर फालियो भने त्योभन्दा अक्षम्य भूल अर्को हुने छैन । अब आफूले चुनावी घोषणापत्रमा कबुल गरेका कुराहरूलाई सुरूमै श्वेतपत्र जारी गर्दै समयबद्ध योजनामार्फत व्यवहारमा अनुवाद गरेर नेपाली समाजको प्रगतिशील आर्थि, कसामाजिक, सांस्कृतिक रूपान्तरण गरेर देखाउने चुनौती  वामपन्थी गठवन्धनसामु खडा भएको छ । अहिले खडा भएको चुनौतीलाई निश्चित समयसीमाभित्र ग्रामीण कृषि क्रान्ति, औद्योगिक क्रान्ति र समग्र देशको विद्युतीकरण र सडकीकरण सम्पन्न गरेर देशभित्रै हरेक वर्ष लाखौँ सङ्ख्यामा रोजगारी सिर्जना गर्ने र ब्यापारघाटा कम गराएर निर्यातसक्षम विकसित समाजवादउन्मुख देशका रूपमा नेपाललाई रूपान्तरित गर्ने अभूतपूर्व मौकाका रूपमा सक्नुपर्छ । 

यसका लागि आवश्यक साधनस्रोत जुटाउन अविलम्ब प्रगतिशील आयकर, प्रगतिशील सम्पत्ति कर प्रणाली तथा कडीकडाउ ढङ्गले राजस्व उठाउने प्रणाली लागू गर्नसक्नुपर्छ । नेपाली आफैसित  खर्बौंको परिमाणमा रहेको तर अनुत्पादक क्षेत्रमा ज्यादा लगानी भइरहेको वित्तीय पुँजी एकत्रित गर्न राष्ट्र बैङ्कको जमानीमा विकास बन्ड र जलविद्युत बन्ड जारी गर्नसक्नुपर्छ  । साथै, छनौटपूर्ण ढङ्गले राष्ट्रिय प्राथमिकताको क्षेत्रमा बाह्य पुँजी र प्रविधिसमेत परिचालन गर्ने दिशामा जानसक्नुपर्छ । अब वामगठबन्धनले अमूर्त ढङ्गले देशमा ‘समृद्धि’ ल्याउने भनेर मात्र पुग्दैन । समृद्धि कसका लागि र कस्तो चरित्रको ? यो प्रश्नमा स्पष्ट हुनुसक्नुपर्छ । अहिले सम्भ्रान्त र सम्पन्न वर्गका लागि सहर र सदरमुकाम केन्द्रित समृद्धि प्रशस्त मात्रामा आएकै छ । अबको समृद्धि मूलतः गरिखाने वर्ग, ग्रामीण क्षेत्र र गरिब तथा बेरोजगारतिर केन्द्रित हुनुपर्छ । 

हचुवापन तथा अति हतारोपनबाट मुक्त भएर आधारभूत सैद्धान्तिक, सांस्कृतिक, कार्यक्रमिक सवालमा एकरूपता र भावनात्मक एकता पैदा गर्दै सत्ता र सङ्गठनका पद बाँडफाँडमा फराकिलो छाती बनाएर पार्टी एकता प्रक्रियालाई अघि बढाउनु बुद्धिमत्तापूर्ण हुन्छ । गठबन्धनमा छुटेका साना वामपन्थी दलहरूलाई समेत अबको पार्टी एकता प्रक्रियामा समेट्न आवश्यक छ । 

उत्पीडित, उपेक्षित समुदायलाई हरेक तहको नीति निर्णय गर्ने र शासन गर्ने ठाउँमा पुर्याउनु, नयाँ संविधानमा रहेको शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, सामाजिक सुरक्षालगायत मजदुर, महिला, दलित, जनजाति, मधेसी तथा अल्पसङ्ख्यक समुदायको समतामूलक समावेशीतामुखी मौलिक हकलाई व्यवहारमा अनुवाद गरेर देखाउनु अब बन्ने वामपन्थी गठबन्धनको सरकारको प्राथमिक कार्य हुनुपर्छ भन्ने हामीलाई लागेको छ । आम नागरिकमा परिवर्तनको अनुभूति र यो देशमा समाजवादी लोकतन्त्रको जग यिनै कामहरूले निर्माण गर्नेछन् । चुनावअघि आन्दोलनमा रहेको मधेसी र जनजाति समुदाय तथा वामपन्थी, गैह्रवामपन्थी सशस्त्र विद्रोही समूहलाई अविलम्ब सघन संवाद गरेर उनीहरूका जायज माग सम्बोधन गर्नमा अब बन्ने सरकारको बेलैमा ध्यान जाओस् भन्ने कुरामा हामी सचेत बनाउन चाहन्छौँ । लामो समय बित्दा पनि भूकम्पपीडित र बाढी पीडितहरूमध्ये अधिकांश अहिले पनि छाप्रोमै छन् । उनीहरूलाई राज्यले दिने सहयोग युद्धस्तरमा दिइनुपर्छ ।

साथै, अब बन्ने कुनै तहको सरकारमा भ्रष्ट व्यक्तिलाई कदापि स्थान नदिन, भ्रष्टाचार र फजुल खर्चको मामिलामा  कडीकडाउन हुन, राजनीतिलाई पेसा होइन देश तथा जनताको सेवाको माध्यम बनाउन र अख्तियारमा सक्षम, स्वच्छ तथा पार्टीआदेशभन्दा बाहिरका मानिस नियुक्त गर्न पनि हामी वामपन्थी गठवन्धनलाई आग्रह गर्दछौँ । वामपन्थी गठबन्धन सत्तारूढ हुँदा माथिदेखि तलसम्म सुशासन र सदाचारको संस्कृतिलाई देशव्यापी अभियानका रूपमा चलाउन सकेमा र पारदर्शी प्रणालीमा देश चल्ने स्थिति बनाएमा मात्र भ्रष्टाचार न्यूनीकरण हुनसक्छ । 

हचुवापन तथा अति हतारोपनबाट मुक्त भएर आधारभूत सैद्धान्तिक, सांस्कृतिक, कार्यक्रमिक सवालमा एकरूपता र भावनात्मक एकता पैदा गर्दै सत्ता र सङ्गठनका पद बाँडफाँडमा फराकिलो छाती बनाएर पार्टी एकता प्रक्रियालाई अघि बढाउनु बुद्धिमत्तापूर्ण हुन्छ । गठबन्धनमा छुटेका साना वामपन्थी दलहरूलाई समेत अबको पार्टी एकता प्रक्रियामा समेट्न आवश्यक छ । 

                
                                       
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम श्रेष्ठ
श्याम श्रेष्ठ

लेखक श्रेष्ठ प्रगतिशील रूपान्तरण आन्दोलनका संयोजक हुन् ।    

लेखकबाट थप