केन्द्रीय संस्करण

संघर्षशील सुशीला

person access_timeपुस ११, २०७४ chat_bubble_outline0

दुवै हात नभएकी अमेरिकी पाइटल जेसिका कक्सले एक नेपाली टेलिभिजनको अन्तर्वार्तामा भनेकी थिइन्, ‘म त केही होइन रहेछु । सुशीला ढकालजस्ती प्रतिभाशाली दिदीसँग भेटेपछि त्यस्तो अनुभूति भयो । सरकारी जागिरे उहाँले समाजशास्त्रमा स्नातकोत्तरसमेत गर्नुभएको रहेछ ।’ 

अमेरिकी पाइलट कक्सले दुवै हात नभएकी सुशीला ढकालको गर्वसाथ प्रशंसा गरेकी थिइन् । कक्स र ढकाल दुवैको दुवै हात छैन । दुवैको उमेरसमूह उस्तै । दुवै महिला । कक्स पाइलट हुन् भने ढकाल सरकारी जागिरे । 

हात र खुट्टा फरक–फरक प्रकृतिका अंग हुन् । कक्सले खुट्टाले विमान उडाउँछिन् भने ढकाल कार्यालयीयलगायत सबै काम खुट्टैले गर्छिन् । हातले गर्न सक्ने काम खुट्टाले गर्न असम्भव छैन भनेर साहित्यकार झमक घिमिरेले समेत प्रमाणित गरिसकेकी छन् । तर, साहित्यकार घिमिरे र नायव सुब्बा ढकालबीच कार्यप्रकृति फरक छ । घिमिरेले घरमै बसेर साहित्य लेख्दा हुन्छ भने ढकाल कार्यालय पुगेर सेवाग्राहीको सेवामा जुट्नुपर्छ ।

ढकालले संवत् २०६६ वैशाख ९ मा नासुको नियुक्ति लिएकी हुन् । उनको पहिलो पोस्टिङ आन्तरिक राजस्व कार्यालय हेटौंडा, मकवानपुरमा भएको थियो । नियुक्ति लिए पनि त्यहाँ गएर काम गर्न असम्भव भएकाले आन्तरिक राजस्व विभागमा अनुरोध गरेपछि आठ महिना ललितपुर काम गरिन् । त्यसपछि काजमा आन्तरिक राजस्व कार्यालय लाजिम्पाट सरुवा भइन् । अहिले पनि त्यहीं कार्यरत छिन् । 

‘कार्यालयीय काम गर्न कत्ति पनि गाह्रो छैन,’ उनले सुनाइन्, ‘म बस्ने कुर्सीबराबरको टेबल भए पुग्छ ।’ सेवाग्राहीले उनलाई पहिलोपटक देख्दा अरू कोही हुनुहुन्न भनेर सोध्छन् । कामको प्रकृति भनेपछि उनले मैले नै गर्ने हो भन्दा सुरुसुरुमा देख्ने सेवाग्राही तीनछक पर्छन् । सेवाग्राही दोहोरिइरहने भएपछि स्वाभाविक लिन्छन् ।

 
सम्बन्धित व्यक्तिले सोचे र भनेजस्तो जीवन सम्भव छैन । नासु ढकालले निजामती कर्मचारी हौंला भनेर कहिल्यै सोचेकी थिइनन् । ‘स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा दिएर बसेकी थिएँ । जागिर थिएन,’ उनले अतीत सम्झिन्, ‘फुर्सदको समय सदुपयोग गरौं न त भन्दै लोकसेवा तयारी गरें । नभन्दै पास गरिहालें ।’ 

सपना ठूलै देख्नु भनिन्छ । उनले देखेको सपना सानो होइन । निजामती सेवाअन्तर्गत सबैभन्दा माथिल्लो पद भनेको सचिव हो । आफूलाई त्यो भूमिकामा पुर्याउने सपना सपनामै सीमित नराख्ने उनको अठोट छ । भनिन्, ‘पाठ्यक्रम परिवर्तन भइरहने भएकाले अथक मिहिनेत गर्दै छु ।’ 

रजस्थल उच्च माध्यमिक विद्यालय स्याङ्जामा पढ्दा उनले इन्द्रेणी सपना देखेकी थिइनन् । ‘अभिभावकले पढ्नुपर्छ भन्थे,’ उनले विगत सुनाइन्, ‘पढेर ठूलो मानिस बन्नुपर्छ भन्थे । मैले पनि जानीनजानी त्यही भनाइ आत्मसात् गरें ।’ ०५५ मा एसएलसी पूरा गरी उच्चशिक्षा अध्ययनका लागि जिल्लाकै त्रिभुवन आदर्श क्याम्पस भर्ना भएपछि ‘मिडिया’ ले ‘वाच’ गर्न थाले । काठमाडौंको एक दैनिक पत्रिकामा सुशीला ढकालको संघर्षशील कथा प्रकाशित भयो । सूर्योदय गल्र्स होस्टेल मैतीदेवी काठमाडौंकी तात्कालिक वार्डेन विष्णु थापा ढकालको कथा पढिन् । वार्डेन थापाले होस्टल राखेर पढाउने भनेपछि उनी काठमाडौं पसिन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पस आईए दोस्रो वर्षमा भर्ना भएकी उनले त्यहींबाट स्नातकसम्मको अध्ययन पूरा गरिन् । 

स्याङ्जाभन्दा काठमाडौंमा अवसर बढी पाइने नै भयो । तर पनि उनले अध्ययनलाई मात्रै निरन्तरता दिइन् । त्रि–चन्द्र क्याम्पस घन्टाघरबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पार लगाइन् । एलएलबी तेस्रो वर्षमा अध्ययनरत उनले लोकसेवा तयारी गरिरहेकी सहोदर बहिनीलाई ‘गाइड’ गर्न अल्छी गर्दिनन् । उनले खुट्टाको सहाराले कम्प्युटर चलाउँछिन् । लेख्छिन् । खाना खाने, दाँत ब्रस गर्ने, मुख धुने, कपाल कोर्ने, आइरन र मेकअपसमेत खुट्टाले नै गर्छिन् । 

‘नुहाउन अलि समस्या हुन्छ,’ उनले थपिन्, ‘कपडा चेन्ज गर्नसमेत अप्ठ्यारो हुन्छ । कसैको सहाराविना बाथरुम बस्न गाह्रो छ । अमेरिकी पाइलट जेसिका कक्सले कपडा चेन्ज गर्न सजिलो होस् भनेर हुक पठाइदिएकी छन् । फेमेलियर भएकी छैन । अभ्यास गर्दै छु ।’ उनले अहिलेसम्म खाना बनाउन परेको छैन । पकाउनैपरे सकिन्छ भन्ने उनको हिम्मत छ । 

कम्तीमा दैनिक दुईपटक सार्वजनिक यातायातमा यात्रा गर्न बाध्य उनलाई चढ्न र ओर्लन गाह्रो हुँदैन । तर, भीडभाडमा उभिएर यात्रा गर्न सकस हुन्छ । ‘एउटा माइक्रोबस चढें,’ उनले त्यतिबेलाको दुर्घटना सम्झिन्, ‘चढेकोमात्रै थिएँ । बस्न पाएकै थिइनँ । माइक्रोबस गुडिहाल्यो । लाजिम्पाटको ग्याङजोङ होटलअगाडि माइक्रोबसबाट खसें । संयोगले मसलमा मात्रै चोट लाग्यो ।’

उभिएर यात्रा गर्न सांगलाई त गाह्रो हुन्छ भने शारीरिक रूपमा अशक्तलाई कति गाह्रो होला शब्दमा व्यक्त गर्न सकिँदैन । तर, उनी सधैं सकारात्मक सोच्छिन् । ‘हामीलाई सहानुभूति होइन, समान व्यवहार र अवसर दिए पुग्छ,’ उनको तर्क छ, ‘मिहिनेत, अभ्यास र आत्मविश्वासले मानिसलाई सफल बनाउँछ ।’

सहरमा अपवादबाहेक अपांगता भएकालाई घरबाहिर निकालिँदैन । ‘त्यसो गर्न हुँदैन,’ उनले सुझाइन्, ‘अपांगता भएकाको सम्बन्धित परिवारले घरभित्र लुकाउन भएन । अवसर दिनुपर्छ ।’ त्यतिमात्रै होइन, अपांगता एकैकिसिमका हुँदैनन् । खुट्टा र हातले लेख्ने अशक्त एउटै होइनन् । लोकसेवा आयोगलाई संकेत गर्दै उनले दुःखेसो पोखिन्, ‘शारीरिक रूपमा अशक्तलाई आयोगले छुट्टै समय व्यवस्था गरेको छैन । बस्ने ठाउँ पनि हुँदैन । भन्दा ठाउँचाहिँ मिलाइदिन सक्छन् । तर, दसमध्ये एउटा औंला नभएका, बाङ्गिएका वा एउटा आँखा नदेख्ने र दुवै हात नभएका अशक्तलाई एउटै श्रेणीमा राख्न हुँदैन कि ?’

पहिले घरपरिवार, इष्टमित्र, शुभचिन्तक र अहिले श्रीमान् दल थापाको सहयोगमा उनको जीवन अर्थपूर्ण बन्दै गएको छ । ठूलो होइन, असल मानिस बन्ने ढकालको अभीष्ट छ । उनको संघर्षशील कथा सुनेर, पढेर आत्महत्या गर्न धेरैपटक प्रयास गरेकाले नयाँ जीवन पाएका छन् । व्यवसायमा लगानी डुबेपछि आत्महत्याप्रयास गरेका एक व्यवसायीले काठमाडौंको सहिदगेटमा भेटेरै सुशीला ढकाललाई आफ्नो जीवन बचाइदिएको धन्यवाद दिएका थिए । अप्रत्यक्ष रुपमै भए पनि प्रेरणास्रोत बन्न पाउँदा ढकाल कम्ती खुसी छैनन् । 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ