शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माझी वस्ती निर्माण ढिलाइ प्रकरणमा यस्तो आयो श्वेता खड्काको प्रतिक्रिया

बिहीबार, १३ पुस २०७४, १५ : ०४
बिहीबार, १३ पुस २०७४

काठमाडौं–अभिनेत्री श्वेता खड्काले साना तिना समस्याहरुमा अल्झिएर आफ्नो लक्ष्य प्राप्तिको मार्गबाट विमुख नहुने बताएकी छन् । 

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –१४ का ५६  माझी परिवारको घर बनाउने जिम्मेवारी लिएको श्वेता फाउण्डेसनले लिएको थियो । 
निर्धारित समयमा घर बनाउन नसकेको समाचार रातोपाटीमार्फत प्रकाशित भएपछि खड्काको यो प्रतिक्रिया आएको हो ।

 एनजिओहरुले ‘ठेकेदार’को रुपमा कामलाई हतारहतारमा सकाएर लिखित प्रतिवेदन बुझाउन आतुर हुने कार्यबाट संस्था मुक्त रहेको उनले जनाएकी छन् । 

साथै खड्काले जोश जागर र उत्साह लिएकी नेपाली चेलीलाई कुनै पनि नकारात्मक टिकाटिप्णीहरुले केही असर नगर्ने बताउदै  माझी बस्ती बनाएरै छोड्ने प्रतिवद्धता गरेकी छन् ।  
 

खड्काको प्रतिक्रिया उनकै शब्दमा । 

 मेरो सपना एकीकृत माझी बस्ती      

मैले घोषणा गरेको एकिकृत नमुना माझी बस्ती विकास परियोजनाको स्थलगत निर्माणकार्य करिव २ महिना रोक्किए पश्चात पुनः निर्माणको कार्यले तिब्रता लिदै गरेको अवस्था छ । बर्षातको मौसममा थालनी गरिएको परियोजनाले करिव ४ महिना (वर्षातभरी) निरन्तरता नपाउनु त्यो कुनै नौलो समस्या होइन । तर त्यसबिचमा हामीले साक्षातकार गर्नु परेको धेरै राजनीतिक, सामाजिक र सांगठनिक समस्याहरु धेरै थिए । काम थालियो, नयाँ नयाँ समस्याहरु आउँदै गरे, ति समस्याहरुलाई पार लगाउदै गइयो र अझै पनि केही समस्याहरु छन जस्लाई सल्टाउँदै अगाडि बढदै छौं । 
कामको अवधिमा समस्यामात्र आएका छैनन नयाँ नयाँ सोच र नयाँनयाँ कार्यक्रम पनि थपिंदै गएका छन । यो बस्तिलाई सिङ्गार्दै थप सुन्दर बस्तिको रुपमा विकास गर्दै लैजानको लागि योजना भन्दा बाहिरका केही नयाँ कार्यक्रमहरु पनि थपिने क्रममा छन्  । हिजो घर, बाटो , बायो ग्याँस र बाल बगैँचा सहितको खाका कोरिएको यो बस्तीमा आज होम स्टेको कुरा पनि जोडीएर आएको छ त्यस्तै ‘एकिकृत गोठ’ निर्माण गरी पशुपालनको नयाँ सोच थपिएको छ । महिलाहरुलाई साक्षर बनाउने कार्यक्रम थपिएको छ । अतः गर्दै जाँदा समस्याहरुको खात भेटिदै जान्छ र समाधानका नयाँ नयाँ कार्यक्रमहरु थपिंदै जान्छन । माझी बस्तिमा यस्तै भएको छ ।  
हामी  भन्छौ – एनजिओको अगुवाइमा होइन , जनताको अगुवाईमा विकास हुनुपर्छ जसले गर्दा सो बिकास दिगो हुन्छ र यसलाई  जनताकै अगुवाईमा बिकास प्रकृया भनिन्छ । जसलाई विश्वको धेरै देशहरुले दिगो बिकासको लागि स्विकार गरेको अवधारणा हो । जनताकै अगुवाईमा बिकासका गतिबिधी संचालन गरिँदा यसले केही समय लिन्छ । कारण –जनताकै समस्या, जनताद्वारानै समाधानका उपाय र जनताकै पहल, निर्णय र जनताद्वारा नै कार्यक्रमहरुको  कार्यान्वयन हुने  प्रकृया हो यो । यसमा एनजिओ हरुको भूमिका भनेको सहजिकरणको भूमिका मात्र रहन्छ । 
संघसंस्थाले ज्ञान, शिप र क्षमता अभिवृद्धि गरिदिने भूमिकामा रहन्छ । अतः यो प्रकृया ’सुस्त’ प्रकृया हो तर यसको परिणाम दिगो हुन्छ । जनताले सो बिकासमा आफ्नो अपनत्वको महसुस गर्छन् र सो को सम्वद्र्धन र संरक्षणका निमित्त पनि आँफै अग्रसर हुने गर्छन् । 
एकिकृत माझी बस्ती बिकास परियोजना पनि यसै प्रकृयामा आधारित बिकासको परियोजना हो । बस्ती बिकासको हरेक प्रकृयामा स्थानियवासिहरुकै प्रत्यक्ष सहभागीता र माझी बस्तिकै  सामुहिक निर्णयको अधिकारलाई हनन नगरि सहभागीतामुलक बिकास प्रकृया मार्फत अगाडि बढ्दै गरेको यो परियोजना अन्य परियोजना भन्दा फरक मर्म को छ । एनजिओ हरुले ’ठेकेदार’को रुपमा कामलाई हतारहतारमा सकाएर लिखित प्रतिवेदन बुझाउन आतुर हुने कृयाबाट मुक्त हुन चाहन्छौ हामी । हामी एनजिओको मनोमानी भन्दा पनि जनताको ’संम्लग्नता’लाई प्राथमिकता दिन चाहन्छौ । त्यसैले पनि यो परियोजनाले समय लिएको हो ।          

काम गर्दै जाने क्रममा कहिले काही सकारात्मक र नकारात्मक प्रतिकृयाहरु आइनै रहन्छन् । सकारात्मक प्रतिकृयाहरुले जोश जाँगर र हौसला प्रदान गर्छ भने नकारात्मक टिकाटिप्पणीहरुले सचेत हुने र आफुले गरेक गल्तिहरु सुधार गर्ने मौका प्रदान गर्छ । एकीकृत माझी बस्ती बिकासको क्रममा पनि यस्तै मिश्रित प्रतिक्रियाहरु आईरहेका छन । जसलाई म हृदयदेखिनै स्विकार गरिरहेको छु र मनन् समेत गरिरहेकी छु । 
म साना तिना समस्याहरुमा अल्झिएर आफ्नो लक्ष्यप्राप्तीको मार्गबाट विमुख हुने नारी हुँदै हैन । समस्याका पर्खालहरुलाई भत्काएर अगाडि बढ्ने जोश जाँगर र उत्साह लिएकी नेपाली चेलीलाई कुनै पनि नकारात्मक टिकाटिप्णीहरुले केही असर गर्दैन । माझी बस्ती बनाएरै छोड्ने मेरो बाचालाई म कुनै पनि हालतमा पुरा गरेरै छोड्छु । हो, काम गर्दै गर्दा कहिले काहीँ विबिध समस्या आईपर्छन जसले काममा केही ढिलाई हुन जान्छ र हिडाईको गती कहिले काही सुस्त भई दिन्छ । यसको मतलब ’हिंड्नै’ छोडिदिने भने पक्कै होइन । समस्याको आयतन र समस्याको केन्द्रबिन्दुको सुक्ष्म अध्ययन गर्ने र सो समस्या निवारणका लागि प्रयास गर्ने क्रमले माझी बस्ती निर्माणको कार्यमा ढिलाई हुन गएको मात्र हो । 
 माझी बस्ती बिकास परियोजना मेरो मनभित्रको भावनाले जन्माएको परियोजना हो । सरकारी बजेटको सदुपयोग गर्दै स्थानिय जनताहरुसंगको साझेदारीमा निर्माण हुन गईरहेको एकिकृत माझी बस्ती दिगो बिकासको एउटा मोडल परीयोजनाको रुपमा स्थापित हुनेमा कुनै शंका छैन । हामी यो परियोजनालाई हतारको काम लतार भनेझै छिटो सिध्याउनु भन्दा पनि ढिला होस् तर राम्रो र दिगो होस् भन्ने सोच अनुरुप अगाडि बढी रहेका छौ । हो , त्यहाँका बासिन्दाहरुले चिसो भुईमा दिन र रात कटाउनु परेको तितो सत्यता हाम्रो आँखा अगाडि छर्लङ्गै छ । तर उहाँहरुको यो समस्यालाई अझ लम्ब्याउने भन्दा पनि दिर्घकालिन रुपमै निमिट्यान्न पार्ने हाम्रो प्रयत्न र सोच हो । यो सोचमा कुनै लोभ,लालच, स्वार्थ, इश्र्या र आरिस नराखीकन सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग,समर्थन र सहकार्य गरिदिनुहुन म हार्दिक अनुरोध गर्दछु ।
अन्तमा एकिकृत बस्ती बिकास परियोजनाको कानुनी प्रावधान र झन्झटिलो  कागजी प्रकृयाका साथै सम्बन्धित निकायहरुको झन्झटिलो नितिगत प्रकृयाहरुले हाम्रो तिब्र गतीलाई ’सुस्तता’ प्रदान गरिरहेको कटु सत्यलाई दर्शाउनै पर्छ । अत सम्बन्धित सरकारी निकायहरुको ध्यान जान जरुरी छ ।
जुन दिन यो बस्तीको निर्माण कार्य सम्पन्न हुन्छ, त्यस दिन मेरा आदरणिय पति श्रीकृष्ण श्रेष्ठज्यू प्रतीको मेरो साँचो सामाजिक श्रद्धाञ्जली अर्पण भएको महसुस गर्नेछु र यसको लागि म पनि आतुर छु । 
  
उही तपाईंकी छोरी र चेली 
श्वेता खड्का ‘कान्छी’

    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप