शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख अन्तिम साता घलेगाउँ महोत्सव हुँदै

सोमबार, १० वैशाख २०७५, १४ : ५२
सोमबार, १० वैशाख २०७५

लमजुङ– दक्षिण एशियाकै नमूना गाउँको रुपमा चिनिएको घलेगाउँमा यही वैशाख अन्तिम साता १९औँ घलेगाउँ महोत्सव हुने भएको छ ।  घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिले यसअघि जस्तै वैशाख २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गरेको हो । सोमबार सदरमुकाम बेँसीशहरमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराइएको थियो । स्थानीय कला संस्कृति र गाउँको प्रचारप्रसार गरी पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले घलेगाउँलेले विगत १९ वर्षदेखि महोत्सव गर्दै आएको छ । 

विगतका महोत्सवले गाउँको प्रवद्र्धनमा सहयोग पुगेको भन्दै अबको महोत्सवले भने आर्थिक समृद्धिको सन्देश दिने आयोजकले जनाएको छ । घलेगाउँमा विकास भएको ग्रामीण पर्यटनबाट गाउँको आर्थिक समृद्धि भएको भन्दै यो सन्देश विश्वभर फैलाउन आवश्यक रहेको घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले बताए । 

“विगतका महोत्सवबाट गाउँको प्रचारप्रसार भयो, गाउँमा हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आए”, उनले भने, “विदेश गएकाहरुले भन्दा गाउँमा बसेकाले बढी कमाइ गर्छन्, महोत्सवले पर्यटन व्यवसायबाट समृद्धि सम्भव छ भन्ने सन्देश दिने छ ।” 

महोत्सवमा परम्परागत गुरुङ संस्कृति, गुरुङ सङ्ग्रहालय तथा चिया बगानको अवलोकन, गुरुङ खाना महोत्सव, दृष्यावलोकन, होमस्टे अध्ययन र ग्रामीण पर्यटनका बारेमा अन्तरक्रियालगायत कार्यक्रम तय गरिएको छ । प्राकृतिक छटाले भरिपूर्ण र संस्कृतिले धनी घलेगाउँमा वार्षिक २५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । 

वि.सं २०५६ मा घलेगाउँमा पहिलो पटक ग्रामीण पर्यटनको अवधारणा भित्रिएको हो । घलेगाउँबाटै सिकेर अहिले जिल्लाका अन्य गाउँ ग्रामीण पर्यटन व्यवसायतर्फ उन्मुख छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप