शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवास्थित नेपालको अन्तिम गाँउ,जहाँ जग्गाको भाउ काठमाडौंभन्दा चर्को ! (भिडियो)

शनिबार, २२ वैशाख २०७५, १२ : ५८
शनिबार, २२ वैशाख २०७५

काठमाडौं– नेपालको उत्तरतर्फ रसुवाको अन्तिम गाँउ घट्टेखोला । भोटेकोशी खोलाको किनारमा सडकको छेउमा रहेको सानो बजार । बजारमा झन्डै पन्ध्र–बीस घर जति छन् । अघिकांश घरपरिवारले होटल ब्यवसाय सञ्चालन गरेका छन् । यो बजारबाट रसुवागढी नाका झन्डै १ किलोमिटर पर छ । नेपालको अध्यागमन कार्यालय पनि यही बजारमा छ । 

२०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भयो । उक्त नाकाबाट हुने सम्पूर्ण ब्यापार पनि अहिले रसुवागढी नाकाबाट हुने गरेको छ । त्यसकारण पनि यतिबेला यो नाकामा चहलपहल बढिरहेको छ । मान्छेको आवतजावत बाक्लिएपछि यहाँका साना होटलहरुले स्वरोजगारी पाएका छन् । 

रसुवाको टिमुरे बजारभन्दा अलि माथि घट्टेखोला बजारमा छङ्गी डोल्माको पनि एउटा सानो होटल छ । उनको परिवार पनि सोही ब्यवसायबाट चलेको छ । भूकम्प गएको बेला माथिबाट पहिरो खसेर ज्यान जोगाउन मुस्किल भएको यो ठाँउ अहिले बिस्तारै तङ्ग्रिदै छ । बजारमा केही बनाउने क्रममै रहेका घर भूकम्पले क्षति पुर्याएपछि पूरा नबनाई त्यसै छोडिएको पनि छ ।

अर्को रोचक कुरा त यहाँ जग्गाको भाउ एकदमै महँगो छ । झन्डै काठमाडौैंको मूल्य हाराहारी । डोल्माले जग्गाको भाउ आनाको २५ लाख रुपैयाँसम्म पर्ने बताइन् । किनकि यहाँ घर बनाउनका लागि जग्गा नै छैन । जमिनको अधिकांश भाग ठूला चट्टानी पहराले ढाकेको छ । भूकम्पपछि रसुवागढी नाकाले बढी महत्व पाएपछि अहिले सीमा क्षेत्र नजिक भएका घरजग्गाको भाउ पनि आकासिएको हो । 

खेतीपातीका लागि उर्बर ठाँउ नभएका कारण यहाँका बासिन्दा अन्न तथा तरकारी किनेर खान बाध्य छन् । तातोपानी नाका बन्द भएपछि नेपाल चीन बीचको स्थलमार्गको एकमात्र नाकाको रुपमा रसुवागढी नाका प्रयोगमा छ । काठमाडौं केरुङ गर्ने सवारी साधान पासाङल्हामु राजमार्ग हुँदै जाने भएकाले आसपासका होटल ब्यवसाय पनि फस्टाएको छ । सो सँगै भएका जग्गाको भाउ पनि आकाशिएको हो ।

चीनसँग नेपाल तथा दक्षिण एसियाकै लाइफलाइनको रसुवागढी नाका रहेको छ । हालै नेपाली सेनाले रसुवाको मैलुङदेखि स्याफ्रुबेंसीसम्म २३ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ । यो सडक निर्माण भएसँगै काठमाडौंबाट रसुवागढी नाकाको दूरी छोटिएको छ ।

अब काठमाडौंबाट रसुवागढी नाका १ सय ३५ किलोमिटरको दूरीमा रहेको छ । यसअघि १ सय ४५ किलोमिटर रहेको थियो । नेपालका विभिन्न सरकारी प्रतिनिधिहरुसँगको भेटमा चिनियाँ पक्षले स्याफ्रुबेंसी रसुवागढी सडक बिस्तार गरिदिने बताउँदै आएको छ ।  
हेर्नुहोस भिडियो:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप