शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप प्रिभ्यु : पोर्चुगलले रोक्ला स्पेनको अपराजित यात्रा ?

शुक्रबार, ०१ असार २०७५, ०९ : ०१
शुक्रबार, ०१ असार २०७५

काठमाडौँ । युरोपका दुई छिमेकी प्रतिद्वन्द्वी पोर्चुगल र स्पेनले आज सोची शहरमा अर्काविरुद्ध भिड्दै  विश्वकप यात्रा थाल्नेछन् । ओलम्पियस्की स्टेडियम स्फिट्मा हुने यस खेललाई समूह चरणकै सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिएको छ । 

यी दुई देशबीच सन् २०१२ को युरोकपपछि ठूला प्रतियोगितामा हुन लागेको यो नै पहिलो भेट हो । त्यतिबेला गोलरहित बराबरीमा सकिएको खेल स्पेनले टाइब्रेकरमा जितेको थियो । स्मरण रहोस्, स्पेन सन् २०१० को विश्वकप तथा सन् २००८ र सन् २०१२ को युरोकप विजेता हो । पोर्चुगल अहिलेको युरोपेली विजेता हो । त्यसैले पनि क्रिष्ट्रियानो रोनाल्डो र रिकार्डो क्वारिज्माजस्ता अनुभवी तथा बर्नार्डो सिल्भा, आन्द्रे सिल्भाजस्ता युवा खेलाडीहरुको साथ पाएको पोर्चुगल निकै उत्साहित छ ।

तर, इतिहास हेर्ने हो भने दुई टोलीबीच भएका ३५ खेलमा पोर्चुगलले मात्र ६ खेल जीतेको छ भने स्पेनले १६ मा जीत हासिल गरेको छ । यसमध्ये १३ खेल बराबरीमा सकिएको छ ।

यसक्रममा स्पेनले ७२ तथा पोर्चुगलले ४१ गोल गरेको छ ।

प्लेयर टु वाच 

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल

निर्विवाद रुपमा क्रिष्ट्रियानो रोनाल्डो हेर्नलायक खेलाडी हुन् । ३३ वर्ष रोनाल्डो अझै फर्ममा छन् । तर, ४ वर्षपछि के हुन्छ त्यो कसलाई थाहा ? त्यसैले धेरैले रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुने अड्कल काटेका छन् । यद्यपि रोनाल्डो अर्को विश्वकप पनि खेल्ने बताउँछन् । 

रियल म्याड्रिडका यी स्टार क्लबका लागि जति उत्कृष्ट खेल्छन् । आफ्नो देशका लागि पनि उनले उत्तिकै योगदान गरेका छन् । तर, दुग्भार्य देशबाट खेल्दा ठूला अवसरमा चुक्ने गरेको आरोप उनीमाथि लाग्छ । यस्तोमा आफुमाथि लागेका आरोप चिर्नुपर्ने चुनौती रोनाल्डोमाथि छ । प्रशिक्षक फर्नान्डो सन्तोषको टोलीका बर्नार्डो सिल्भा, आन्दे्र सिल्भा, गिल्सन मार्टिन्सलगायतका खेलाडीको खेल पनि विशेष हुनेछ । 

आन्द्रेस इनियेस्टा, स्पेन

स्पेनका आन्द्रेस इनिस्टाका लागि पनि यो अन्तिम विश्वकप हो । विश्व फुटबलमा सम्भव सबै उपाधि इनिस्टाले जितिसकेका छन् । र पनि यी सिर्जनात्मक मिडफिल्डर आफ्नो यात्रालाई अघि बढाउन चाहन्छन् । सन् २०१० मा स्पेनलाई विश्वकप जिताउने क्रममा उनले फाइनलमा निर्णायक गोल गरेका थिए । सन् २००८ र ०१२ को युरोकपमा पनि उनको प्रदर्शन महत्वपूर्ण थियो । तर, स्पेनिस टोली गत संस्करणको विश्वकपमा समुह चरणबाटै बाहिरियो । उक्त हारलाई बिर्साउन पनि यसपटक इनिस्टाको प्रेरणादायी खेलको खाँचो छ । 

टोलीमा डेनी कार्भाजालको सट्टा अल्भारो अड्रियोजोलाले सुरुवाती एघारमा स्थान बनाउने संभावता धेरै छ । डियगो कोस्टा अग्रपंक्ति तथा इस्को र डेभिड सिल्भा मिडफिल्डमा हुनेछन् । 
यता, पोर्चुगलको अग्रपंक्तीमा गुडिस र रोनाल्डो हुनेछन् । मध्यपंक्तिमा पेपे र फोन्टेले खेल्नेछन् । मिडफिल्डमा बर्नार्डो सिल्भाको भूमिका महत्वपूर्ण हुनेछ । 

खतरनाक स्पेन 

पोर्चुगलको प्रदर्शन पछिल्लो समय अस्थिर छ । यता, स्पेन खतरनाक देखिएको छ । आफ्ना पछिल्ला ६ खेलध्ये पोर्चुगलले तीन खेल जितेको छ । स्विचरल्यान्ड, इजिप्ट र अल्जेरियामाथि जित निकालेको यो टोली विश्वकपमै छनोट हुन नसकेको नेदरल्यान्डसँग ३–० ले पराजित भएको थियो । त्यस्तै ट्युनिसिया र बेल्जियमसँग पोर्चुगलले बराबरी खेल्यो । 

स्पेन पछिल्ला २० खेलदेखि अपराजित छ । पछिल्ला १२ खेलमध्ये उसले १० खेल जितेको छ र २ खेल बराबरी खेलेको छ । तर पनि, स्पेनका आफ्नै समस्या छन् । प्रमुृख प्रशिक्षक जुलेन लोपेटेगुई, जसले स्पेनलाई अहिलेको अवस्थासम्म ल्याए । उनी बर्खास्तीमा परेका छन् । देशको फुटबल संघलाई नै नसोधी रियल म्याड्रिडसँग सम्झौता गरेको भन्दै उनलाई बर्खास्ती गरिएको हो । स्पोर्टिङ डाइरेक्टर तथा पूर्व खेलाडी फर्नान्डो हियर्रोले प्रशिक्षण सम्हालेका छन् । ‘हामी यहाँ विश्वकपका लागि लड्न आएका हौं । टोली उत्साहित छ र हामीसँग ठूलो अवसर छ । त्यसैले हाम्रो ध्यान यसैमा केन्द्रीत छ,’ हियर्रोले भनेका छन् । 
विश्वकपमा अहिलेसम्म यी दुई देशबीच एकपटक मात्रै भएको छ । सन् २०१० को विश्वकपमा पोर्चुगललाई अन्तिम १६ मा हराउँदै स्पेनले क्वाटरफाइनल यात्रा गरेको थियो । डेभिड भिल्लाले त्यतिबेला निर्णायक गोल गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप