शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी स्वास्थ्यकर्मीहरुले नै चन्दा उठाएर बचाए ४ वर्षीय बालक

सोमबार, २८ साउन २०७५, १५ : १०
सोमबार, २८ साउन २०७५

गुल्मी– साउन ८ गतेका दिन ४ वर्षीय छोरा घरको तलाबाट खसेर अगेनामा पकाई राखेको  दालमा डुबेर जले  । त्यतिवेला ईस्मा गाउँपालिका वडा नम्वर–३ ईस्मारजस्थल ठुलाचौरका भक्तबहादुर कुमाल र उनकी श्रीमती राधिकाको साथमा एकसुका पैसा थिएन । छिमेकीसँग हारगुहार गरेर बाटो खर्च लिई उनीहरु जिल्ला अस्पताल तम्घास आए र त्यहाँका  स्वास्थ्यकर्मीहरुको शरणमा परे । बालकको अवस्था गम्भीर थियो । त्यस अस्पतालमा आईसियु कक्ष नभएकोले आईसियुमा राख्नु पर्ने भएकोले पाल्पा रिफर गरियो ।

बालक छोरा उमेश जलेर अचेत बनेका थिए । श्रीमान श्रीमति दुवै अपाङ्ग रहेका उनीहरुले बालक छोरालाई अस्पताल त ल्याइपुर्याए तर बालकको पछाडीपट्टिको शरीर जलेर काम नलाग्ने जस्तै थियो । त्यसलगत्तै अस्पतालले राम्रो उपचार गर्न सुरु गर्यो । जिल्ला अस्पताल तम्घासका सुचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझीले भने– ‘उनीहरुको साथमा एक रुपैयाँ पनि  पैसा  रहेनछ । उहाँहरु पाल्पा जान नसक्ने भएपछि हामीले आईसियु कक्षको विकल्प यहि अस्पतालमा खोज्यौं ।’

उनले भने,‘बालकलाई आईसियु कक्षको सट्टा एउटा कोठामा राखेर ‘सेकेन्ड डिग्री वन’ मा २०  दिन सम्म राख्यौं ।  बालक बचाउन सकिन्छकि भनेर हाम्रो अस्पतालको पुरै टिम लाग्यो ।  धेरै जसो औषधी त अस्पतालमै निशुल्क थियो । केहि औषधी बाहिरबाट किन्नुपर्ने भएपछि डाक्टर सुवोध ज्ञवालीको नेतृत्वमा हामी सबै स्टाफहरुले दुई–दुई सयका दरले चन्दा उठाएर औषधी किनेर खुवाउँदै आएका छौं । हामीले विरामी एकजनालाई मात्र खाना खुवाउने गर्दथ्यौं ।’ तर पछि बाबुआमासँग पनि पैसा नभएपछि उनीहरुलाई पनि खान अस्पताललेनै खुवाएको उनले बताए । ‘अहिले बालक खतरा मुक्त भई सकेका  छन । अझै बिस पच्चीस दिन राख्नु पर्छ । हामी उनलाई थप चन्दा उठाएर भए पनि पूर्ण निको पारेर पठाउने छौं ।’

केहिदिन अघि पनि रेसुङ्गामा एक बेबरिसे बृद्ध लडेर हात भाँचेकी थिइन् । उनीसँग पनि  पैसा थिएन, डाक्टर रायमाझीले भने, ‘उनलाई पनि हामी स्टाफहरुले नै चन्दा उठाएर उपचार गरी पठाएका छौं ।’ अस्पतालले छोरा बचाई दिएपछि राधिकाले अस्पताल परिवार प्रति कृतज्ञता प्रकट गरिन् ।

श्रीमान कान सुन्दैनन् । वोली पनि राम्रो फुट्दैन । राधिकाले रुँदै भनिन्– ‘घरमा विहान खाए बेलुकी के खाउँ छ । छोरा आटीबाट खसेर तल पकाउँदै गरेको दालमा डुबेछ । हामी अलमलमा पर्यो, एकसुको पैसा साथमा थिएन । छिमेकमा हारगुहार गरेर तम्घास छोरा लिएर आएका हौं । हाम्रो उपाय थिएन । धन्न डाक्टर साबहरुले यसरी बचाई दिनुभएको छ ।’

बालक कष्टकर रुपमा उपचार गराई रहेका छन् । घाउ पोलेर बेलाबेलामा रोई रहन्छन् । उनीहरुको घाउमा मलमपट्टी गर्न हरबखत स्वास्थ्यकर्मीहरुको टोली जुटिरहेका छन् ।  त्यहाँका डाक्टरसहित स्वास्थ्यकर्मीहरुको टोलीलाई यस्तो कल्याणकारी र उदाहरणिय कार्य गरेकोप्रति  अस्पताल बाहिरका मानिसहरुले प्रशंसा गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप