शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबारका टप १० समाचार, तपार्इंले छुटाउनुभयो कि ?

शुक्रबार, २९ भदौ २०७५, १९ : १७
शुक्रबार, २९ भदौ २०७५

काठमाडौं । आज शुक्रबार । रातोपाटीबाट दुई सयको हाराहारीमा समाचार प्रकाशित भए । 

गृहमन्त्रीको जवाफः समय तोक्न मिल्दैन, पूर्वराजदूत झा हत्या प्रकरण, नेकपामा सचिवालय सदस्य नै असन्तुष्ट !, मनोरम मानसरोवरमा भेटिइन् मनमोहिनी बाटुली
जस्ता समाचार चर्चामा रहे । 

रातोपाटी डटकममा प्रकाशित भएका समाचारहरु पाठकहरुले धेरै रुचाए । त्यसमध्ये मुख्य बनेका १० समाचार यहाँ प्रस्तुत गरिएको छ ।

रातोपाटीका पाठकहरुले पढ्न छुटाउनुभयो कि भनेर यहाँ समाचार राखिएको छ । तीमध्ये प्रमुख समाचारको लिंक यसरी प्रस्तुत गरिएको छ । 

पूर्वराजदूत झा हत्या प्रकरण : पाले र माली छुटे, अनुसन्धान गर्दा यातना !

काठमाडौँ । फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको हत्या भएको करिब एक महिना भैसकेको छ । भदौ ४ गते काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या गरिएका झाको हत्यारा अझै पत्ता लागेको छैन् ।

सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाल्दै सुरक्षा गार्डको काम गर्दै आएका सानुकान्छा तामाङ, मालिको काम गर्ने आइतसिंह तामाङ र जय बहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो । 

तर, अनुसन्धानको क्रममा तिनैजनाको संलग्नता पुष्टि हुन नसकेपछि उनीहरु छुटेका छन् । 

‘हामीले अनुसन्धानको लागि नियन्त्रणमा लिएका तिनैजना धरौटीमा रिहा भएका छन्,’ घट्नाको अनुसन्धान गरिरहेको अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले भने, ‘अनुसन्धानको क्रममा नियन्त्रणमा लिएकाहरुको त्यति संलग्नता देखिएन्, थप अनुसन्धान भइरहेको छ ।’ 

प्रश्न : निर्मला हत्याको दोषी पत्ता लगाउन कति वर्ष लाग्छ ? गृहमन्त्रीको जवाफ : समय तोक्न मिल्दैन

काठमाडौं– सरकारले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या लगायत मुलुकको शान्ति सुरक्षाका बारेमा संघीय संसदलाई जानकारी गराएको छ । सो क्रममा गृहमन्त्री रामबहादुर थापाले पछिल्लो ६ महिनामा मुलुकको शान्ति सुरक्षा सुध्रिएको जवाफ दिएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारका तर्फबाट जवाफ दिँदै गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धान, विभिन्न स्थानमा भएका अन्य हत्याका घटना, खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिनुपरेको कारण, रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्या तथा बाढीपहिरोका कारण मुलुकका विभिन्न स्थानमा पुगेको क्षति लगायत बारेमा संघीय संसदका दुवै सदनलाई जानकारी गराएका हुन् । 

‘सबै किसिमका अपराधमा संलग्नलाई कानुनको कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको छ । पन्तको घटनाबारे पनि सरकार गम्भीर रहेको छ । अनुसन्धान जारी छ । भविश्यमा पनि अपराधीहरुलाई कानुनको कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको कुरा गृहमन्त्रीको हैसियतले सदनलाई आश्वस्त तुल्याउन चाहान्छु’ गृहमन्त्रीले जावफ दिए । 

नेकपामा सचिवालय सदस्य नै असन्तुष्ट !

काठमाडौँ । पार्टीका महत्वपूर्ण र विवादित विषयमा निर्णय लिने अधिकार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीकृत गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि देखिएको छ । 

विहिवार बसेको नेकपाको सचिवालय बैठकले सांगठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो । 

पार्टीका प्रदेशदेखि जिल्लासम्म र जनवर्गीय संगठनको एकताका लागि गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न भन्दै बुधवार र विहिवार नेकपाको सचिवालय वैठक बसेको थियो । तर, विभिन्न कार्यदलले बुझाएका भद्रगोल प्रतिवेदन र विभिन्न कमिटीको नेतृत्वमा देखिएको आन्तरिक विवादपछि सचिवालय वैठकले सांगठनिक एकतामाथि ठोस निर्णय लिन सकेको थिएन ।

त्यसपछि सांगठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिइएको थियो । 

मनोरम मानसरोवरमा भेटिइन् मनमोहिनी बाटुली

बाटो शानदार थियो । आकाश उस्तै प्रिय । शब्द नबुझे पनि तिब्बतीयन गीतले मनको कुनाकुनासम्म कम्युनिकेट गरिरहेको थियो । धर्ती छोड्नै नपर्ने आकाशमार्गमा ड्राइभर गाडी गुडाइरहेको थियो । हामी सागाबाट मानसरोवर जाँदै थियौँ ।  

‘यस्तो रोड कहाँ थियो र ! पठारैपठार गाडीका डोब पछ्याएर सयौं किलोमिटर गुड्नुपथ्र्याे । नदीमा पुल थिएनन् । कतै खाद्यान्न बोक्ने ट्रक बिग्रे घन्टौं भोकभोकै बस्नुपथ्र्यो । अहिलेजस्ता होटेलहरू पनि कहाँ हुनु ! तिब्बत फेरिएको छ । सुविधा थपिएका छन् । ती दिन सम्झँदा अहिले त धेरै सजिलो’, विमलजीले भने ।

म विमलजीको ‘त्यो तिब्बत’को कुरा ‘यो तिब्बत’ यात्रामा सुन्दै थिएँ तर उत्साहपूर्वक प्रतिकृया दिइरहेको थिइनँ । सायद त्यसैले उनले मेरो स्वास्थ्य ठीक छैन कि भन्ने ठानेछन् ।

‘अशोकजी सबै ठीकठाक छ नि ?’, त्यति सोधेर उनले आफ्नो सकस सुनाए, ‘मलाई सागामा त्यति सञ्चो भएन । बिहानभर हाईले हान्यो । त्यसैले एक वाक दिएँ । अहिले ठीकै छ । तर, तपाईंले सागालाई मजाले पचाइदिनुभयो । त्यही भएर तपाईंलाई अब समस्या नहोला ।’

नाडा अटो शोमा सुजुकीका ५ मोडेलका कार, सबैभन्दा राम्रो माइलेज

काठमाडौँ । राजधानीमा जारी रहेको नाडा अटो शोमा यसबर्ष सिजी मोटोकर्पले ५ मोडेलका गाडिहरु राखेको छ । यो शोमा कम्पनीले सुजुकी कम्पनीको सबैभन्दा पछिल्लो संस्करण स्वीफ्टलाई बढी फोकस गरेको छ । गएको असार ३ गते नेपालमा पहिलो पटक लन्च भएको सुजुकी स्वीफ्टको तेश्रो संस्करणलाई उपभोक्ताले अत्यन्तै रुचाइहेका छन् । 

यो पाँच रंगमा उपलब्ध छ । यसको लुक्स स्र्पोर्टस कारको जस्तो छ । यसमा जेडएक्सआई र भीएक्सआई गरी २ प्रकार रहेका छन् । जेडएक्सआईको मूल्य ३२ लाख ४९ हजार छ भने भीएक्सआईको २९ लाख ४९ हजार रहेको छ । 

यी गाडिहरुमा सर्वोत्कृष्ट माइलेज सुविधा रहेको  छ । साथै स्पेयर पार्टस पनि सजिलै पाउन सकिन्छ । २ बर्षसम्म फ्रि सर्भिसिङको व्यवस्था रहेको छ । ८ सय देखि १ हजार किलोमिटरसम्म गुडेपछि पहिलो सर्भिसिङ र त्यसपछि उपभोक्ताको इच्छाअनुसार सर्भिसिङको व्यवस्था रहेको छ । 

साउदी अरब र रुसलाई उछिनेर अमेरिका बन्यो सबैभन्दा ठूलो पेट्रोल उत्पादक राष्ट्र

एपी– अनुमान गरिएभन्दा अघि अमेरिका विश्वको सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र बनेको छ । बुधबार युएस इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनले जारी गरेको प्रारम्भिक अनुमानमा जुन र अगस्ट महिनामा अमेरिकाले तेल उत्पादनमा पहिलो स्थानको रसियालाई उछिनेको देखिएको छ । 

यही वर्षको प्रारम्भमा अमेरिकाले साउदी अरबलाई उछिनेर दोस्रो सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र भएको थियो ।  यदि त्यो आँकलन सही निश्किएमा सन् १९७३ यता अमेरिका पहिलोपटक विश्वमा तेल उत्पादनमा शीर्ष राष्ट्र हुनेछन् । 

यसअघि इनर्जी इन्फरमेसन एड्मिनिस्ट्रेशन र इन्टरनेशनल इनर्जी एजेन्सीले अमेरिकाले सन् २०१९ भन्दा अघि साउदी अरब र रुसलाई तेल उत्पादनमा उछिन्न नसक्ने अनुमान गरेको थियो । 

फ्रयाक्चरिङ  पनि भनिने हाइड्रोलिक फ्रयाक्चरिङ प्रविधिको कारण अमेरिकाको तेल उत्पादन पछिल्ला वर्षहरुमा उलेख्य मात्रमा बृद्धि भएको छ । यस प्रविधिमा रसायन,बालुवा,पानी तथा उच्च दबाबको प्रयोग गेर अत्यन्त गहिरो स्थानमा रहेको चट्टानमा चिरा पारेर धेरै तेल र प्राकृतिक ग्यास उत्सर्जित गरिन्छ । 

सरकारलाई राजपाको प्रश्न : ‘सिके राउतको भन्दैमा मान्छे मार्न पाइन्छ ?’

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवबारे सरकारको जवाफ माग गरेको छ । सो पार्टीले घटनाबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्न पनि माग गरेको छ । 

संसदको शुक्रबारको बैठकमा राजपा सांसद लक्ष्मणलाल कर्णले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या भएको भन्दै ‘प्रहरी हिरासतमै मान्छे मर्छ भने कसले सुरक्षा गर्छ ?’ भनी प्रश्न गरे ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा यादव पक्राउ परेको र प्रहरीको यातनाका कारण मृत्यु भएको यादवले दाबी गरे ।

जवाफमा गृहमन्त्री रामबहादुर थापाले राममनोहर यादव सीके राउत समूहका कार्यकर्ता भएको भन्दै राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले उनलाई पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको बताए । 

बलात्कारीको ‘हतियार’ काट्न माग गर्दै विद्यार्थी सडकमा (फोटोफिचर)

काठमाडौं– काठमाडौको एक कलेजका विद्यार्थीहरुले शुक्रबार मुलुकका विभिन्न स्थानमा भइरहेका बलात्कारका घटनाविरुद्ध सडकमा प्रदर्शन गरेका छन् ।  काठमाडौको बबरमहलमा रहेको मेगा कलेजका विद्यार्थीहरुले सोही क्षेत्रमा प्रदर्शन गर्दै बलात्कारको विरोध र बलात्कारीको हतियार काट्न माग गरे । 

उनीहरुले प्रदर्शनका क्रममा बोकेका प्लेकार्डमा ‘चप देयर रेपिङ टुल’ लेखिएका थिए । त्यस्तै, विद्यार्थीहरुले बोकेको प्लेकार्डमा बलात्कारीलाई मृत्युदण्ड दिन पनि माग गरिएको थियो ।  यद्यपि, नेपालको संविधानअनुसार कुनै पनि कसुरदारलाई मृत्युदण्ड दिने व्यवस्था छैन । तस्विरः सुवास श्रेष्ठ/रातोपाटी

महिन्द्राले ल्यायो २८ लाखमै इलेक्ट्रिक कार

भृकुटीमण्डपमा जारी नाडा अटो सोमा विद्युतीय सवारीसाधनको चाख  खुबै बढेको छ । पछिल्लो समय  सरकारले पनि विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिँदै त्यस्ता कारलाई प्रोत्साहन दिन थालेपछि कार बजारमा पनि यस्ता कारको माग बढ्न थालेको छ ।

भनिन्छ, काठमाडौंमा हुने वायु प्रदूषणको ८५ प्रतिशत हिस्सा डिजेल, पेट्रोललगायतका इन्धनबाट आउने कार्बनले गराउने गरेको छ । त्यसैकारण पनि बस्तीक्षेत्र वा सहरीक्षेत्रमा विद्युतीय कारको माग बढ्न थालेको छ । 

सर्वसाधरण र सरकारको समेत प्राथमिकतामा परेपछि यतिबेला महिन्द्राले सस्तो मूल्यमै सुविधासम्पन्न इलेक्ट्रिक कार बजारमा ल्याएको छ । ई–भेरिटो (E-Verito) नाम दिइएको यो कार, स्टाइलिस मात्रै छैन, सुविधानसम्पन्न र साँच्चैको कार भन्न लायकसमेत छ । 

निर्मला पन्तको परिवारलाई गृहमन्त्रीको आश्वासनः हत्यारा नजिकै पुगेका छौ, छिट्टै सार्वजनिक गर्छौं

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गृहमन्त्री थापाले कञ्चनपुरका महिला अधिकारकर्मी र पीडित परिवारसँग शुक्रबार साँझ काठमाडौंमा भएको भेटमा हत्यारा नजिक पुगिएको उल्लेख गर्दै छिट्टै सार्वजनिक गर्ने आश्वासन दिएका हुन् । 

हत्यारालाई छिट्टै सार्वजनिक गरी पीडितलाई न्याय दिने आश्वासन गृहमन्त्री थापाले दिनुभएको कञ्चनपुुरकी अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन् । उनले गृहमन्त्री थापाले पीडितलाई न्याय दिने आश्वासन दिएपछि न्याय पाउने आशा पलाएको प्रतिक्रिया पनि दिइन् ।

हत्या गरिएकी निर्मलाका बुबा–आमा र स्थानीय अधिकारकर्मीहरुले गृहमन्त्री थापासँगको भेटमा सरकारले गठन गरेको उच्च स्तरीय छानवीन समितिमा स्थानीय नागरिकका तर्फबाट एक जना पनि प्रतिनिधित्व नगराएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए । नागरिक समाजलाई समेत समेटेर छानविन समिति गठन नगरिएको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको पनि अधिकारकर्मीले चन्दले बताइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप