शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री मात्रिकाको आक्रोश :‘सबै बजार भाउ लेखा समितिले तोकोस्, चिनीको भाउ बढाउन १ अर्ब ६९ करोडको कसरी चलखेल ?’

शुक्रबार, १९ असोज २०७५, १७ : १३
शुक्रबार, १९ असोज २०७५

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले लेखा समितिले गरेको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । असोज १५ गते बसेको सांसदको सार्वजनिक लेखा समितिको बैठकले चिनीको मूल्य प्रतिकिलो ६२ रुपैयाँ तोक्न र बढिरहेको बजार भाउ नियन्त्रण गर्न मन्त्रालयलाई निर्देशन दिएपछि मन्त्री यादव आक्रोशित बनेका हुन् ।  

शुक्रबार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले लेखा समितिले भनेको मूल्यमा चिनी बेच्न नसकिने उल्लेख गरे । उनले नेपालमा चाहिने भन्दा बढी मात्रामा चिनी आएको आँकडा समेत प्रस्तुत गर्दै सरकारले चिनीको भाउ तोक्न नसक्ने बताए ।  

उनले नेपालमा २ लाख ३० हजार मेट्रिक टन चिनी आवश्यक पर्नेमा १ लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन भइरहेको र २ लाख ३५ हजार मेट्रिक टन चिनी आयात भइरहेको जानकारी समेत दिए । विदेशबाट चिनी आयात गर्दा नेपाली उद्योगी मर्कामा परेको भन्दै प्रधानमन्त्रीसँगको छलफलबाट नै त्यसलाई रोकिएको उनको दावी थियो । 

मन्त्री यादवले भने– ‘हामीले किसान मर्कामा परेको भन्दै प्रतिकिलो उखुको मूल्य ५ रुपैयाँ बढायौँ भने किसानको पैसा भूक्तानी नगरेका उद्योगलाई पनि पैसा दिन लगायौँ । अर्कोतिर विदेशबाट सस्तोमा चिनी नेपाल भित्रिँदा नेपाली उद्योगीलाई मार पर्यो । पाकिस्तानमा धेरै चिनी उत्पादन भएर नेपाल आइरहेको थियो । बाहिरको चिनी रोकेपछि कालोबजारी भएर किलोको ८५ रुपैयाँसम्म पनि पुग्यो ।’ उनले प्रतिकिलो चिनीको ७० रुपैयाँसम्म तिर्न र त्योभन्दा बढी नतिर्न आग्रह समेत गरे ।  

सभामुखलाई उजुरी : चिनीको भाउ बढाउन १ अर्ब ६९ करोड चलखेलको छानबिन होस्  

पत्रकार सम्मेलनमा मन्त्री यादवले लेखा समितिको निर्देशनको आलोचना गर्न पनि निकै समय खर्चिए । संसदीय समिति मात्र नभई मिडियाले पनि तथ्यगत ढंगले समाचार नलेखेको भन्दै आलोचना गरे ।

गत सोमबार बसेको लेखा समितिको बैठकमा सांसदहरुले चिनी आयात रोक्न र कालोबजारी गर्नका लागि १ अर्ब ६९ करोडको आर्थिक चलखेल भएको आरोप लगाएपछि मन्त्री यादवले त्यसको खण्डन गरेका छन् । साथै समितिले चिनीको मूल्य ६२ रुपैयाँ कायम गर्न दिएको निर्देशन पनि आफूले पालना गर्न नसक्ने बताएका छन् । यसबारेमा प्रधानमन्त्रीसँग छलफल गर्ने उनले बताएका छन् । 

मन्त्री यादवले ‘मन्त्रालयका दुबै सचिवहरु, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकलाई बोलाई छलफल गर्दा रु १ अर्ब ६९ करोडको चिनीको बजार भाउ बढाउन चलखेल भएको समेत हामीमाथि आरोप लगाइएको’ भन्दै सभामुख कृष्णबहादुर महरालाई पत्र लेखर दोषीमाथि कडा कारवाहीका लागि अनुरोध समेत गरेका छन् । 

पत्रकार सम्मेलनमा मन्त्री यादवले १ अर्ब ६९ करोड कसरी मेरो हातमा आयो ? चेकबाट आयो कि जुट बोरामा आयो भन्दै प्रश्न समेत गरे । उनले भने– ‘एउटा  जुट बोरामा १ करोड त अटाउँछ होला, १ अर्ब ल्याउनलाई त ट्रकमै ल्याउनुपर्छ होला । अनि त्यो एक ट्रक पैसा मेरो घरमा गएको पत्रकारले देख्यो होला । मन्त्रीले करोड अरब खाने, हामीले १ रुपैयाँ खान नपाउने भनेर लेख्यो होला ।’

उनले तराईका बन्द भएका चुरोट फ्याक्ट्री खोल्न खोज्दा मिडियाले विरोध गरेको भन्दै मन्त्री यादवले ज्ञानेन्द्रको सूर्य टोबाकोबाट पैसा खाएर समाचार लेखेको हैन ? भन्दै प्रश्न समेत गरे । उनले भने– ‘प्रमाण नखुलाई जे मन लाग्छ त्यही लेख्नेलाई कारबाही होस् ।’

उनले सरकारले चिनीको भाउ तोक्न नसक्ने बताउँदै सबै जिम्मा लेखा समितिले लिनुपर्ने भन्दै अक्रोश व्यक्त गरे । उनले भने– ‘सरकारले चिनीको भाउ ६३ रुपैयाँ तोकेको छैन, तोक्न पनि सक्दैन । बजारमा कुन–कुन सामानको भाउ कति हो सबै लेखा समितिले तोकोस् । कुन सामानको भाउ के छ भनेर मन्त्रालयका सचिवलाई बोलाएर सोध्ने हो ?’

बजार अनुगमन फितलो : चिनी किलोको सय रुपैयाँमा बेच्ने महिला धरधरी रोइन् 

पत्रकार सम्मेलनमा मन्त्री यादवले मन्त्रालयले गर्नुपर्ने बजार अनुगमनको काम फितलो भएको बताउँदै जनशक्ति कम रहेको उल्लेख गरे । उनले बजार अनुगमनका लागि प्रदेश र स्थानीय तहलाई पनि अधिकार दिएको भन्दै तल्ला निकायलाई पनि बजार अनुगमनका लागि निर्देशन दिने बताए । सिमित जनशक्तिले बजार अनुगमन गर्न कठिन रहेको भन्दै सरकारभन्दा व्यवसायी बलियो रहेको उनले बताए । कालिमाटीमा तरकारी व्यापारीले ४ घण्टासम्म आफ्ना कर्मचारीलाई थुनेको भन्दै अनुगमनको काम कठिन भएको बताए । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बजार अनुगमनका क्रममा भोगेका समस्या सुनाएका थिए । उनले भने–‘काठमाडौंमा बजारमा सय रुपैयाँमा किलो चिनी बेचिरहेकी महिला भेट्यौँ, उनलाई पक्राउ गर्न खोज्दा अबदेखि तेस्तो गर्दिन भनेर डाँको छोडेर रोइन, उनलाई पक्राउ गर्न सकिएन ।’


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप