शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धरहरा बनाउन प्राधिकरणले सेनासँग माग्यो टुँडिखेलको एक छेउ

बुधबार, २४ असोज २०७५, १३ : ४५
बुधबार, २४ असोज २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा बनाउनका लागि नेपाली सेनाको सहयोग मागेको छ । निर्माण कम्पनी रमन जेभीसँग सम्झौता भएपछि निर्माण सामग्री राख्ने र कामदार बस्ने ठाउँका लागि प्राधिकरणले टुँडिखेलको दक्षिणपट्टीको भाग मागेको हो ।

दुई वर्षमा धरहरा निर्माण सकिने योजना अनुसार दुई वर्षका लागि टुँडिखेलको दक्षिणतर्फको एक छेउ मागिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले रातोपाटीलाई जानकारी दिए । सेनाले भने त्रिपुरेश्वरस्थित रङ्गशालातर्फको खाली ठाउँ दिन प्रस्ताव गरेको थियो । तर त्यहाँबाट सुन्धारासम्म निर्माण सामग्री ल्याउन अप्ठ्यारो पर्ने, आर्मी मुख्यालयमा मान्छेको ओहोर दोहोर हुन अवरोध हुने भएपछि टुँडिखेलको एक छेउ मागिएको उनले बताए । यसबारेमा सेनासँग पत्राचार भएको र प्रधान सेनापति पूर्णचन्द्र थापासँग टेलिफोन वार्ता भएको मानन्धरले बताए । 

निर्माण कम्पनीले अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको खुला ठाउँमा निर्माण सामग्री राख्न सुरु गरेको छ । 

टुडिखेलदेखि अहिलेको हुलाक कार्यालय अगाडि रहेको आकाशे पुलबाट निर्माण सामग्री लैजान सजिलो हुने, सडकमा सवारी साधान गुड्न पनि अवरोध नहुने भएकाले नेपाली सेनासँग सो आग्रह गरिएको उनले जानकारी दिए । यसबारेमा नेपाली सेना पनि सकारात्मक रहेको मानन्धरले बताए ।

उनले भने– ‘हामीले टँुडिखेलको दक्षिणी भाग हुने मागेका छौँ, त्यहाँको खेल प्रभावित नहुने निर्माण सामग्री, आवश्यक मेसिनरी औजार, मजदुर राख्नका लागि सेनालाई आग्रह गरेका हौँ, उहाँहरू यसबारेमा सकारात्मक हुनुहुन्छ ।’  

हाल रहेको गोश्वारा हुलाक कार्यालय भत्काउने चरणमा रहेको छ । टँुडिखेलको दक्षिणतर्फ सहिदगेट तर्फको भागमा निर्माण सामग्री राख्ने, निर्माण कम्पनीले मजदुर राख्न अस्थायी प्रिफ्याब भवन बनाउने योजना छ ।

शिलान्यासका लागि प्रधानमन्त्रीको समय पर्खंदै 
धरहरा कसले बनाउने, कसरी बनाउने भन्ने लामो विवादपछि हालै रमन कन्ट्रक्सन जेभीसँग निर्माण सम्झौता भएको छ । निर्माण कम्पनीले धरहरा निर्माण क्षेत्रमा अहिले पुनः सर्भे गरिरहेको छ । धरहराको शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको समय पर्खिएको प्राधिकरणको भनाइ छ । प्रधानमन्त्रीको समय मिलेपछि छिट्टै धरहराको शिलान्यास हुने सहसचिव मानन्धरले जानकारी दिए । उनले भने– ‘अहिले धरहरा शिलान्यासका लागि प्रधानमन्त्रीको समय माग्ने काम भइरहेको छ ।’

धराहरा निर्माणका लागि जीआईईटीसी–रमन जेभीले ३ अर्ब ४५ करोड रुपैयाँ लागतमा  धरहरा बनाउन प्राधिकरण र निर्माण कम्पनीबीच सम्झौता भइसकेको छ । 

स्थानीयको सरोकार– सुन्धारा जोगियोस्   
प्राधिकरणले धरहरा बनाउँदा स्थानीयसँगको निरन्तर छलफल र उनीहरूको पनि सहयोगबाट धरहरा बनाउने बताएको छ । यसका लागि काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष, स्थानीयबासी, काठमाडौं महानगरपालिकाका मेयरलगायतसँग छलफल भइरहेको सहसचिव मानन्धरले जानकारी दिए । 

छलफलका क्रममा स्थानीयबासीले परम्परादेखि सञ्चालनमा आइरहेको पर्व रीतिरिवाजमा खलल हुने अवस्था आउन दिन नहुनेमा जोड दिएका थिए । धरहरा छेउमा रहेको टक्सारभित्र मानन्धर समुदायको कुल देवता रहेको र त्यहाँ पूजा गर्न जाने परम्परागत बाटो खुला राख्न उनीहरूले आग्रह गरेका छन् ।

यस्तै, सो मन्दिरमा दुलही भित्र्याउने तथा धरहराको बाटो भएर नै शव लैजाने प्रचलनसमेत रहेको छ । त्यसलाई सम्बोधन गर्न स्थानीयले आग्रह गरेका छन् । पाँच छ टोलका स्थानीयले इन्द्रजात्राको बेलामा धरहराको बाटो भएर बत्ति बालेर हिँड्ने प्रचलन समेत रहेको छ । धराहरा निर्माणपछि पनि सो बाटोको व्यवस्था गर्न उनीहरूको आग्रह रहेको छ ।  

यस्तै धरहराको छेउमा रहेको ऐतिहासिक सुन्धारालाई नभत्काई पहिलेकै अवस्थामा राखेर नयाँ धरहरा बनाउन उनीहरूले माग गरेका छन् । काठमाडौं मल बनाएपछि सुन्धारामा पानी आउन छोडेको भन्दै स्थानीयले सुन्धारामा आउने पानीको बाटो खोज्न पनि माग राखेका छन् । 

प्राधिकरणका सहसचिव राजुमान मानन्धरले भने–‘सुन्धाराको संरक्षण गर्नुपर्यो, सञ्चयकोषको भवन काठमाडौं मल बनाउँदा सुन्धारा जोगाउन भनेको तर जोगाइएन । धरहरा बनाउँदा सुन्धारामा पानी ल्याउने व्यवस्था गर्नुपर्यो । पानी निकासको पनि व्यवस्था गर्नुपर्यो । धरहरा बन्ने समयमा परम्परा जोगाउने अस्थायी बाटोको व्यवस्था गर्नुपर्यो भनेर स्थानीयले माग गर्नुभएको छ । हामी यी कुराहरूका सकारात्मक छौँ, स्थानीयसँग मिलेर हामीले काम अघि बढाइरहेका छौँ ।’ 

यस्तै सुन्धारा क्षेत्रमा खानेपानी, टेलिफोन र विद्युत आपूर्ति व्यवस्थाका लागि पनि मेयर विद्या सुन्दर शाक्यसँग कुरा गरेको उनले बताए । 

२२ तलाको धरहरा 
अब बन्ने धरहरा २२ तालाको हुनेभए पनि पहिलो धरहरा भन्दा केही बढी उचाइको हुनेछ । धरहराको गजुर ६९ दशमलव २ मिटर अग्लो हुने सहसचिव मानन्धरले जानकारी दिए । 

पहिलको धराहराबाट १० मिटर पूर्वतर्फ पहिलेकै ढाँचामा नयाँ धरहरा बनाइनेछ । अब बन्ने धरहराको २४ रोपनी जमिनमा फैलिनेछ । धरहरा क्षेत्रभित्र भूकम्पले भत्काएको पहिलेको धरहरालाई सिसाको फ्रेमभित्र राखिनेछ भने मनोरम बगैँचा, अन्डरग्राउन्ड पार्किङ समेत निर्माण गरिनेछ ।

हाल कायम रहेको गोश्वारा हुलाक कार्यालय भएको स्थानमा ३ तले सवारी पार्किङ स्थल बनाउन लागिएको हो । यो पार्किङ स्थलका कारण सुन्धरा, न्युरोड, रत्नपार्क क्षेत्रमा भइरहेको पार्किङ समस्या समाधान हुनेछ । धरहराको क्षेत्र बढाउनका लागि गोश्वारा हुलाक कार्यालय, टक्सार भवन पनि भत्काइँदै छ । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा सार्नकमा लागि सरकारले १५ रोपनी जग्गा दिएको छ । 

धरहरामा लिफ्ट चढेर जाने व्यवस्था गरिने छ भने १०औँ तलामा धराहरा तथा इतिहासबारे प्रोजेक्टरबाट जानकारी दिने थिएटर हल रहने छ । यस्तै बगैंचामा ५० फिट अग्लो हुने पानीको फोहोरा राखिने योजनासमेत छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप